सुर्खेत- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशले पहिलो पदक जितेको छ। आइतबार सम्पन्न महिला बास्केटबलको थ्री-अन-थ्री (३×३) विधामा रजत पदक जितेसँगै कर्णालीले प्रतियोगितामा पदकको खाता खोलेको हो।
आइतबार भएको फाइनल खेलमा नेपाल आर्मीले १३ अंक प्राप्त गर्दै स्वर्ण पदक जित्दा कर्णाली प्रदेशले ९ अंकसहित रजत पदक हात पारेको छ। यस विधामा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले कास्य पदक जितेको छ।
शनिबारसम्म कुनै पनि पदक जित्न नसकेको कर्णालीले आइतबार महिला बास्केटबलमा रजत पदक जित्दै प्रतियोगितामा आफ्नो उपस्थिति बलियो बनाएको हो।
महिला बास्केटबलको फुल-कोर्ट (५×५) विधातर्फको फाइनल खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) ले स्वर्ण पदक जितेको छ।
एपीएफले ५७ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गर्दा त्रिभुवन आर्मी क्लब २९ अंकसहित दोस्रो भएको छ।
आर्मीले रजत पदक जित्दा नेपाल प्रहरीले कास्य पदकमा चित्त बुझाएको बास्केटबलका वरिष्ठ रेफ्री राजेश महर्जनले जानकारी दिए।



