अपर त्रिशूली–३ का कर्मचारीको उद्धारका सेनाको हेलिकप्टर अवतरण

हिमाल प्रेस ११ भदौ २०८३ १०:२० | Thursday, August 27, 2026
अपर त्रिशूली–३ का कर्मचारीको उद्धारका सेनाको हेलिकप्टर अवतरण

काठमाडौँ- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आज अवतरण गरेको छ। प्रतिकूल मौसमका कारण हिजो दुई पटक अवतरणको प्रयास असफल भए पनि आज हेलिकप्टर आयोजनास्थलमा अवतरण गरेसँगै त्यहाँको वास्तविक अवस्था र बाढीबाट भएको क्षतिको स्थलगत मूल्याङ्कन सुरु भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रभावित क्षेत्रमा रोकिएका कर्मचारीको उद्धार तथा विद्युत् सेवा यथाशीघ्र पुनर्स्थापना गर्न आवश्यक सबै उपाय अवलम्बन गर्दै काम तीव्र बनाउन निर्देशन दिएका छन्। मन्त्रीको निर्देशनअनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय टोली फिल्डमा खटिएको छ। टोलीमा उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं प्रवक्ता राजन ढकाल तथा एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तन विक्रम राणासहितका अधिकारी सहभागी छन्।

टोलीले आयोजनास्थलको वस्तुस्थिति निरीक्षण, उद्धार समन्वय तथा विद्युत् संरचनाको पुनर्स्थापनाका लागि आवश्यक प्राविधिक मूल्याङ्कन गरिरहेको प्राधिकरणले जनाएको छ। बाढीका कारण विद्युत् संरचनामा क्षति पुगेका नुवाकोटका प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति पुनर्स्थापना गर्ने काम भइरहेको छ। प्राधिकरणले सिन्धुपाल्चोकतर्फबाट जोडिएको वैकल्पिक लाइनमार्फत खरानीटार, समुद्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा सुचारु गरिसकेको छ।

नुवाकोटका अन्य प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनर्स्थापनाका क्रममा ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गरी सेवा सञ्चालन गर्न सकिने सम्भावना पहिचान भएको छ। त्यसअनुसार चपली–देवीघाट ६६ केभी र बालाजु–त्रिशूली ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गर्ने तयारी अघि बढाइएको छ। प्राधिकरणका प्राविधिक टोलीले आवश्यक प्राविधिक तयारी र स्थलगत कामलाई तीव्रता दिएको जनाएको छ। उपलब्ध सबै वैकल्पिक प्राविधिक उपाय प्रयोग गरी बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र पुनर्स्थापना गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित: ११ भदौ २०८३ १०:२० | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast