पोखरामा प्रधानमन्त्री बालेन बसेको ठाउँ
पोखरा- प्रधानमन्त्री वालेन्द्र शाह हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण गरी आइतबार पोखरा फर्किएका छन्। उनी पोखरा–१४, मझेरीपाटनस्थित मझेरी मन्जिल रिसोर्टमा बसेका छन्।
यो रिसोर्ट आफ्नै क्याबिनेटका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल (गनेस) को हो। प्रधानमन्त्री हुनुअघि पोखरा आउँदा पनि उनी यहीँ बस्ने गर्थे। प्रधानमन्त्रीको भ्रमणमा पर्यटन मन्त्री गनेस पनि सहभागी छन्।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले प्रधानमन्त्री पोखरा आएर बसेको र भोलि (सोमबार) काठमाडौँ फर्किनेसम्मको जानकारी पाएको बताए।
उनले भने, ‘उहाँ (प्रधानमन्त्री) को नितान्त व्यक्तिगत र पारिवारिक भ्रमण भएकाले हामीलाई केही खबर गरिएको छैन।’
प्रधानमन्त्री शाह आफ्नो परिवार र सचिवालयको टिमसहित शुक्रबार कास्कीको माछापुच्छ«े गाउँपालिकाको अस्तामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बसेका थिए। शनिबार बिहान स्थलमार्ग हुँदै मुस्ताङ गएका उनले मुक्तिनाथको दर्शन गरेका छन्।
मुस्ताङ भ्रमणका क्रममा प्रधानमन्त्री शाह घरपझोङ गाउँपालिका–३, जोमसोम बजारस्थित मुस्ताङी तथा थकाली मौलिक संस्कृति झल्किने परम्परागत वास्तुकलामा निर्मित होटल ओम्स होममा बसेका थिए। पाँच दशकअघिदेखि विष्णु राज र लालकुमारी हिराचनले उक्त होटल सञ्चालन गर्दैआएका छन्।
यसैबीच, प्रधानमन्त्रीको भिडियो खिचेको भन्दै उनको सुरक्षामा खटिएको नेपाली सेनाले डिलिज गरिदिएको छ।
आइतबार दिउँसो पोखराको मझेरीपाटनस्थित रिसोर्ट प्रवेश गर्नेक्रममा पोखराका पत्रकार सुरेश सुनारले प्रधानमन्त्री र उनको छोरी रहेको भिडियो कैद गरेका थिए। तर, नेपाली सेनाले भिडियो डिलिट गर्न लगाएको सुनारले बताए।
प्रधानमन्त्री शाह दिउँसो करिब साढे ३ बजे रिसोर्ट छिरेका थिए। सुरुमा रिसोर्टको गेट अगाडिबाट भिडियो खिच्न लागेकामा नदिएपछि पारिपट्टी पुगेर खिच्दासमेत सेनाले ‘निजी भ्रमण’ भन्दै भिडियो हटाउन लगाएकोमा आफूले सहर्ष स्वीकार गरी डिलिट गरेको सुनारले जानकारी दिए।
उनले भने, ‘प्रधानमन्त्री शाहलाई नजिक देखेपछि केही दूरीबाट उहाँको भिडियो खिचेको हुँ। भिडियो खिचिसकेपछि एक जना सुरक्षाकर्मी गाडी लिएर आउनुभयो र क्यामरा उता नफर्काउन आग्रह गर्नुभयो। त्यसपछि उहाँले यो उहाँको पारिवारिक तथा नितान्त व्यक्तिगत भ्रमण भएकाले भिडियो सार्वजनिक नगरिदिन अनुरोध गर्नुभयो। मैले पनि उहाँको अनुरोधलाई सम्मान गर्दै भिडियो डिलिट गरिदिएँ।’
यस घटनामा भने आफूमाथि कुनै दुव्र्यवहार वा अप्रिय व्यवहार भने नभएको उनले बताए।


