पाल्पा जिप दुर्घटना : मृतक ६ जनाकै पहिचान खुल्यो

विजय नेपाल ५ कार्तिक २०८० २०:४७
98
SHARES
पाल्पा जिप दुर्घटना : मृतक ६ जनाकै पहिचान खुल्यो दुर्घटनाग्रस्त जिप।

पोखरा- पाल्पामा आइतबार अपराह्न भएको जिप दुर्घटनामा मृत्यु भएका ६ जनाकै पहिचान खुलेको छ। मृत्यु हुनेमा तीन महिला, एक पुरुष र दुई बालक छन्।

दुर्घटनामा नवलपुरको देवचुली नगरपालिका वडा १६ का अन्दाजी ५५ वर्षीया पार्वती लोहनी, ६५ वर्षीय कृष्णबहादुर लोहनी, ११ वर्षीय सविस लोहनी, साढे २ वर्षीय इशव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङको बेसीसहर नगरपालिका वडा २, भकुण्डेकी ५५ वर्षीया चुना धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जनाएका छन्।

उनका अनुसार दुर्घटनामा चालक नवलपुरको देवचुली १६ रजहरका ३६ वर्षीय ईश्वर लोहनी घाइते भएका छन्। उनको अवस्था गम्भीर छ।

पर्यटकीय क्षेत्र रानीमहल घुमेर भैरहवातर्फ  गुडेको बागमती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको स्कारपियो जिप आइतबार अपराह्न करिब ५ बजे रानीमहल नजिकै दुर्घटना भएको हो।

जिप तानसेन नगरपालिका वडा १३ अन्तर्गत बैकुण्ठेभिरबाट करिब सय मिटर तल बराङदी खोलामा खसेको थियो। दुर्घटनास्थल खोंच र अप्ठेरो भएकोले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालयबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माको कमान्डमा १९ जना, नेपाली सेना, सशस्त्र प्रहरी बल समेतको संयुक्त टोली खटिएको थियो। दुर्घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ कार्तिक २०८० २०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =