आश लाग्दो देखिएन लगानी सम्मेलन, प्रतिबद्धतामै सीमित

रमेश भारती १७ वैशाख २०८१ ११:३७
44
SHARES
आश लाग्दो देखिएन लगानी सम्मेलन, प्रतिबद्धतामै सीमित

काठमाडौँ- लगानी सम्मेलनबाट सरकारले आश गरेजति लगानी नभित्रिने देखिएको छ। आइतबारदेखि काठमाडौँमा सुरु भएको लगानी सम्मेलनमा ५५ देशका ५ सय ४६ वटा विदेशी लगानीकर्ता सहभागी छन्।

उनीबाट सरकारले ७ देखि नौ खर्ब रुपैयाँ बराबारको लगानी भित्रिने आश गरेको थियो। तर लगानी सम्मेलनबाट करिब तीन देखि चार खर्ब रुपैयाँ जति मात्र लगानी भित्रिने अनुमान अर्थ मन्त्रालयको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलन उद्घाटन गर्दै लगानीका निम्ति नौ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरेका छन्। तर हाल लगानी सम्मेलनमा सहभागी लगानीकर्ता सबै लगानी गर्ने इच्छुक नदेखिएको अर्थ मन्त्रालयकै कर्मचारी बताउँछन्।

लगानी सम्मेलनबाट आश लाग्दो लगानी नभित्रिने लगानी बोर्ड नेपालका एक उच्च अधिकारीले जानकारी दिए।

उनका अनुसार लगानी सम्मेलनमा नेपालले प्रष्ट खाकासहितको परियोजना बनाउन सकेन। अर्कोतिर लगानी सम्मेलनमा सहभागी लगानीकर्ताका हकमा ऐन संशोधन गरेपनि त्यसको प्रभाव नदेखिएको उनले बताए।

‘लगानी सम्मेलनमा सहभागी लागनीकर्ताहरू लगानी गर्न त्यति इच्छुक देखिएका छैन। यसमा आयोजक नेपालकै कमजोरी छ। लगानी सम्मेलनमा प्रस्तुत गरिएका परियोजनामै लगानीकर्ता अलमलिएका छन्।’

उनले भने, ‘लगानी सम्मेलनमा सहभागी भएका लगानीकर्ता कम्पनीहरू पहिलो र दोस्रो सम्मेलनमा सहभागी भएका धेरै छन्। उनीहरूलाई अहिले पनि नेपालमा लगानी गर्न कानुनी समस्या छ भन्ने परिरहेको छ।’

लगानी सम्मेलनपछि आन्तरिक आर्थिक मन्दीको समस्या टार्ने सरकारी लक्ष्य थियो। तर तत्काल त्यो सम्भव नभएको उनको भनाइ छ।

यस्तै, लगानी सम्मेलनले नेपालमा लगानीको वातावरणको सन्देश र लगानीकर्तालाई लगानीका उत्सुक बनाएको अर्थमन्त्रालयका प्रवक्ता उत्तम कुमार खत्रीले जानकारी दिए।

लगानी सम्मेलनमा नेपालले प्रस्तुत गरेका एक सय ५१ परियोजनाको लगानीकर्ताले अध्ययन र छलफलमा जुटेका छन्। अहिले नै लगानी नभित्रिने भनेर विलेशण गर्नु नहुने उनले बताए।

सन् २०१९ मा भएको लगानी सम्मेलनबाट ३८ अर्ब रुपैयाँ बराबारको लगानी भित्रिने आस सरकार थियो। त्यति बेला साढे तीन अर्ब रुपैयाँ बराबारको लगानी मात्र भित्रिएको अर्थ मन्त्रालयले जनाएको छ।

दोस्रो लगानी सम्मेलनमा २० अर्ब रुपैयाँ बराबारको लगानी गर्ने प्रतिबद्धता भएपनि उक्त रकम अहिलेसम्म नभित्रिएको अर्थमन्त्रालयले जनाएको छ।

यस्तै, सन् २०१७ मा भएको लगानी सम्मेलनमा सरकारले १४ खर्ब रुपैयाँ बराबारको लगानी भित्र्याउने आश गरेपनि ३ अर्ब मात्र लगानी भित्र्याएको थियो। पहिलो पटक भएको लगानी सम्मेलनमा ९ अर्ब रुपैयाँ बराबारको लगानी भित्र्यिाउने प्रतिबद्धता भएपनि अहिलेसम्म उक्त रकम नभित्रिएको अर्थ मन्त्रालयका कर्मचारीहरु बताउँछन्।

लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताहरू सहभाी छन्। लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन् भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिएको बोर्डले जनाएको छ।

परियोजनाप्रति चासो नै देखाएनन्

लगानी सम्मेलनमा विभिन्न क्षेत्रका एक सय ५१ वटा परियोजना प्रस्तुत भएका थिए। प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेका ती परियोजनामा लगानीकर्ताले चासो नदेखाएको सम्मेलनमा सहभागी अर्थ मन्त्रालयकै कर्मचारीहरू बताउँछन्।

लगानी सम्मेलनमा सबैभन्दा धेरै ऊर्जा ३१ वटा आयोजना प्रस्तुत गरिएको थियो।

त्यसपछि यातायात क्षेत्रका १९, खानी तथा खनिजजन्य क्षेत्रका १३, पर्यटन क्षेत्रका १३, कृषि क्षेत्रका १४, उत्पादन क्षेत्रका पाँच, औद्योगिक पूर्वाधार तथा व्यापार ‘लजिस्टिक’ क्षेत्रका सात, स्वास्थ्य तथा शिक्षा क्षेत्रका तीन, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका दुई, पानी आपूर्तिका चार र सहरी विकाससम्बन्धी छवटा परियोजना सम्मेलनमा प्रस्तुत गरिएको थियो।

अहिलेसम्म उर्जा, यातायात, कृषि र सञ्चार तथा सूचना प्रविधिका केही योजनामा विदेशी लगानीकर्ताले लगानी गर्न चासो देखाएको बोर्डले जनाएको छ।

तीभन्दा बाहिरका क्षेत्रमा लगानीकर्ताले अहिले सम्म चासो नदेखाएको बोर्डकै कर्मचारीहरू बताउँछन्। यस्तै, लगानी सम्मेनमा निजी क्षेत्रबाट प्रस्तावित ३१ परियोजना पनि समावेश गरिएको थियो।

त्यसमा आधाभन्दा बढी परियोजनामा सम्मेलनमा सहभागि लगानीकर्ताले चासो देखाएको बोर्डले जनाएको छ।

प्रकाशित: १७ वैशाख २०८१ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =