नारायणीमा भेटियो दुर्लभ बैकाल गैरी चरा

हिमाल प्रेस ३ माघ २०८० ९:२२
92
SHARES
नारायणीमा भेटियो दुर्लभ बैकाल गैरी चरा

मध्यविन्दु (नवलपरासी)– नारायणी नदीमा विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा फेला परेको छ। यस वर्षको चरा गणनाका क्रममा उक्त चरा भेटिएको चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डीबी चौधरीले बताए।
चौधरीका अनुसार प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आईयूसीएन) ले समेत खतरामा परेका प्रजातिको रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी चरा पक्षी गणनाका क्रममा नदी क्षेत्रमा भेटिएको हो। ‘नेपालमा बैकल गैरी चरा ठूला नदी र तालमा रेकर्ड गरिएको भए पनि नारायणी नदी क्षेत्रमा भने पहिलोपटक देखिएको हो’, चौधरीले भने, ‘उत्तरबाट दक्षिणतर्फ जाने क्रममा आहारा र विश्रामका लागि नारायणी नदीमा आएका हुन्।’

यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन्। पक्षी गणना संयोजक चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिए। ‘गत वर्षको पक्षी गणनामा ४३ प्रजातिका चरा भेटिएका थिए, यसपालिको गणनामा नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिए’, उनले भने, ‘गत वर्षभन्दा दुई प्रजाति कम भेटिएका छन्।’

पक्षी गणनाका क्रममा गत वर्ष देखिएका आठ प्रजातिका चरा यस वर्ष नदेखिएको र गत वर्ष नदेखिएको छ प्रजातिको चरा यस वर्ष देखिएको संयोजक चौधरीले जानकारी दिए। ‘गत वर्ष देखिएको सिउरे डुबुल्की चरा, कलहाँस, ध्वाँसे सिङ कुखुरो, सिङ कुखुरो, हलीमुखे, जुरे हुटिट्याउँ, काली जुरेहाँस, श्वेत माछा यस वर्ष भेटिएनन्’, उनले भने, ‘गत वर्ष फेला नपरेका सिन्दुरे हाँस, कैलो टाउके हाँस, अलक चन्द्रराज पुत्रिका, वन सुड सुडिया, ठूलो जलरंग र नारायणी नदीमा नै पहिलोपटक बैकाल गैरी यस वर्ष भेटिएको छ।’
नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातिका चरा पाइने गरेका छन्। तीमध्ये नारायणी नदी क्षेत्रमा यस वर्ष ४१ प्रजाति फेला परेको जनाइएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)तर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो। सिघ्रौली गोलाघाट हुँदै अमलटारी, सिघ्रौलीबाट पिठौली, पिठौलीबाट अमलटारी र अमलटारीबाट त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिएको हो। मंगोलिया, बर्मा, साइबेरिया, चीन, रुस, थाइल्यान्ड, कोरियालगायतका देशबाट आगन्तुक चरा यो समयमा नारायणी नदी र आसपास क्षेत्रमा आउने हुँदा प्रत्येक वर्ष नारायणी नदीमा चरा गणना गर्ने गरिएको छ।

गत वर्षको तुलनामा यस वर्ष चराको समग्र संख्या घटेको प्रारम्भिक तथ्यांक आएको संयोजक चौधरीले बताए। ‘यस वर्ष पनि समग्रमा चराको संख्या घटेको पायौँ’, उनले भने, ‘प्रत्येक वर्ष नेपालमा क्रमिक रूपमा चराको संख्या घटिरहेको छ।’

साइबेरियालगायत उत्तरी गोलार्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये सबैभन्दा धेरै संख्यामा खोया हाँस देखिने गरेकामा यस वर्ष त्यसमा उल्लेख्य कमी आएको चौधरीले जानकारी दिए। ‘यस वर्ष खोया हाँसको संख्या विगतको भन्दा ५० प्रतिशतले कमी आएको पाएका छौँ’, उनले भने, ‘नवलपरासी (बर्दघाट सुस्तापूर्व) तर्फको नारायणी नदीको च्यानलमा पानी सुक्नाले खोया हाँसको संख्या कमी आएको हो, यस क्षेत्र खोया हाँसको प्रमुख बासस्थान थियो।’

नारायणी नदीमा बढ्दो प्रदूषणले यहाँ आश्रित चराको संख्या घट्दै गइरहेको बताइएको छ। नदीमा पाइने आहारा घटेकाले यहाँ आउने चरा कम आउन थालेको र बासस्थान परिवर्तन गर्न थालेको चौधरीले बताए। ‘कुनै प्रजातिका चरा गत वर्षभन्दा बढी र कुनै प्रजातिका चरा गत वर्षको तुलनामा न्यून देखिएका छन्’, चौधरीले भने, ‘यस क्षेत्रमा चखेवा, जलेवा र पानी गौँथली चरा धेरै पाइने गरेका छन्।’ निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको संख्यामा पनि यस वर्ष कमी देखिएकाले पक्षी संरक्षणका क्षेत्रमा चुनौती बढ्दै गएको चौधरीले बताए। रासस

प्रकाशित: ३ माघ २०८० ९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =