नारायणी नदीमा तटबन्ध बनेपछि बाढीको जोखिम कम

हिमाल प्रेस १७ असार २०८० १२:४७
6
SHARES
नारायणी नदीमा तटबन्ध बनेपछि बाढीको जोखिम कम फाइल तस्बिर।

चितवन– घरनजिकै बगिरहेको नारायणी नदीमा वर्षातमा भेल आएसँगै स्थानीय घर छाडेर विद्यालय वा सार्वजनिक भवन खोज्दै हिँड्नुपथ्र्याे। वर्षात्का धेरै रात स्थानीयवासीले यसरी नै बिताएका छन्।

यस वर्ष नारायणी नदीमा तटबन्धको काम थालिएपछि विगतका वर्षजस्तो समस्या नआउनेमा उनीहरू आशावादी छन्।

निर्माण सम्पन्न भइनसकेकाले जोखिम नै छैन भन्नेमा ढुक्क नभए पनि विगतको जस्तो जोखिम नहुनेमा उनीहरू विश्वस्त छन्। भरतपुर महानगरपालिका-१६ र १७ को सिमानास्थित गणेश मन्दिरका विजय परियार यस वर्ष गएका वर्षहरूजस्तो बाढीको असर नहुनेमा ढुक्क छन्।

‘धेरै जोखिम भएका ठाउँमा तटबन्ध बनेको छ, नारायणी नदी यस वर्ष बस्ती पस्छ जस्तो लाग्दैन,’ उनले भने।

भरतपुर -१८ भुवनबस्तीका हरिकृष्ण सापकोटा घरनजिकैको नारायणी नदीले किनार काट्दै गर्दा वर्षातमा त्रास हुने गरेको गुनासो गर्छन्। ‘यस वर्ष हाम्रोमा बाढी आउँदैन,’ उनले भने।

नारायणी नदी किनारका बासिन्दालाई भेट्दै गर्दा उनीहरू सबैको पीडा वर्षातको समय हुने गर्दछ। विगतमा पाएका दुःख अब नदोहोरिएला भन्नेमा उनीहरू आशावादी छन्।

नारायणी नदी व्यवस्थापन आयोजनामार्फत नदी किनारलाई तटबन्धका काम तीव्र गतिमा अघि बढाइएको छ। १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै-थोरै काम हुँदै आएकामा रकमको निकासासँगै यस वर्षबाट नदी किनारका भरतपुर महानगरतर्फका अधिकांश भू-भागमा काम भइरहेको छ।

५ खण्ड बनाएर काम गरिएको छ। तीमध्ये नारायणी नदी बिचमोडलको काम सम्पन्न भइसकेको छ।

नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शंकर बुढाथोकीका अनुसार नारायणी नदीको महानगरतर्फ सिसइबाट भगडीसम्मको तटबन्धका लागि ३८ करोडमा ठेक्का सम्झौता भई काम भइरहेको छ। सो खण्डमा १५ प्रतिशत काम सम्पन्न भएको छ।

५ दशमलव सात किलोमिटर उक्त खण्डको सिसइ र भगडी क्षेत्र उच्च जोखिममा छ। बुढाथोकीका अनुसार सिसइको लगभग काम सम्पन्न भएको छ भने भगडीको अतिजोखिम ठाउँको काम भएको छ।

गाँजीपुरबाट हीरापुरसम्मको ४८ करोडमा ठेक्का सम्झौता भई काम भइरहेको छ। सो खण्डको १५ प्रतिशत काम सम्पन्न भएको छ। ५ किलोमिटर लामो उक्त खण्डको गाँजीपुर र हिरापुरको बढी जोखिमपूर्ण ठाउँमा काम भएको हो। रामघाटबाट काभ्रेघाटसम्मको १ अर्ब १५ करोडमा ठेक्का सम्झौता भइ काम भइरहेको छ।

सो खण्डमा २० प्रतिशत काम सम्पन्न भएको छ। ५ किलोमिटर लामो यस खण्डको जोखिमपूर्ण मानिएको भगेरीथान र बाह्रघरेमा काम गरिसकिएको छ।

बालुवाबाट गोलाघाटसम्मको सात किलोमिटरमध्ये दुई दशमलव ५ किलोमिटर नयाँ तटबन्ध र अन्य मर्मतसम्भारको काम भइरहेको छ। यसका लागि २३ करोडमा ठेक्का सम्झौता भएको हो। जसको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ।

बालुवा क्षेत्रको काम सम्पन्न भएको छ भने गोलाघाट क्षेत्र बाँकी छ। बुढाथोकीले बढी जोखिमपूर्ण ठाउँमा काम सम्पन्न भइसकेको बताए।

नारायणी नदी नारायणगढस्थित पुलबाट पूर्वतर्फको सिबिचको काम सम्पन्न भइसकेको छ। तटबन्ध बहुवर्षीय आयोजनाका रूपमा काम अघि बढाइएको हो।

१० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धमा एकैपटक ५ अर्बको काम अघि बढाइएको हो। यसमध्ये भरतपुर र नवलपरासी दुवैतर्फ यस बजेटबाट काम हुँदैछ।

आर्थिक वर्ष ०६६/६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म १ अर्ब ८३ करोडमात्र विनियोजन हुँदा काम प्रभावकारी हुन नसकेको आयोजनाका प्रमुख गणेश मरासिनीले बताए।

उनका अनुसार चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने छ। तटबन्धको काम गराउँदै गर्दा जोखिमपूर्ण ठाउँलाई पहिलो प्राथमिकता राखिएकाले विगतको जस्तो जोखिम यस वर्ष नहुनेमा मरासिनी विश्वस्त छन्।

‘धेरैजसो जोखिम ठाउँमा तटबन्ध निर्माण सम्पन्न भइसकेका छन्,’ उनले भने।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तर लागिपरेकै कारण काम भएको बताए । यस वर्ष बाढी पूरै छेक्न नसकिए पनि आगामी वर्षबाट पश्चिम चितवनवासी नारायणी नदीको बाढीबाट सुरक्षित हुने उनको भनाइ छ।

उपमेयर चित्रसन अधिकारीले तटबन्ध गर्दैगर्दा स्थानीय सुरक्षित हुने र धेरै भू-भाग उपयोग गर्न मिल्ने गरी जमिन उपलब्ध हुने बताए।

‘गत वर्षको जस्तो बाढीको समस्या यो वर्ष नआउँला,’ उनले भने हरेक वर्षातको समयमा स्थानीयवासीले घर छाडेर हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्न महानगर लागिपरेको उनको भनाइ छ।

प्रकाशित: १७ असार २०८० १२:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =