सुम्निमा र पारुहाङको प्रेमकथा ‘बाखाम्मा : मुन्दुममा मान्छे’

सुस्मिता बजगाईं २५ वैशाख २०८१ १०:२२
384
SHARES
सुम्निमा र पारुहाङको प्रेमकथा ‘बाखाम्मा : मुन्दुममा मान्छे’

काठमाडौँ- भोजपुरको साल्पा र सिलिचुङको डाँडा कैद गरिएको रंगमञ्चको माथिल्लो स्टेप, देब्रेतिर भीरमा फुलिरहेको भैरुङपाती, सुनापातीको रुख। तल जंगल, उही धार्मिक स्थल पुग्ने भीरपाखा।

दृश्य हो थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘बाखाम्मा : मुन्दुममा मान्छे’ को।  किरात राई जातिको मुन्दुमी पात्र हुन् ‘बाखाम्मा’। मुन्दुमका अनुसार निराकार सृष्टिकर्ता रुमुहाङ (पारुहाङ) ले खरानी र माटो शीतमा मुछेर बनाएको आकृतिलाई बाखाम्मा मानिएको छ।

राजन मुकारुङको लेखन र किरण चाम्लिङ राईको निर्देशनमा बनेको नाटक वैशाख १४ देखि मञ्चन भइरहेको छ। सुम्निमा र पारुहाङको प्रेमकथालाई दृश्यमा कैद गरिएको नाटक किरात राई समुदायको सभ्यता, संस्कृति र इतिहाससँग सम्बन्धित छ।

गाउँका केही मानिस सांस्कृतिक नृत्यसहित साल्पा-सिलिचुङ यात्रा निस्केपछि नाटक सुरु हुन्छ। यात्रामा एक प्रेमिल जोडी छन् सिखुम (अनिल सुब्बा) र साया (एलिसा राई)। बाटोमा दाइ बिरामी भएपछि भैरुङपाती, सुनापाती टिप्न यी दुईजना यात्राको हुलबाट अलगिन्छन्।

जोखिमका साथ सिखुमले फूल टिपेर ल्याउँछ। त्यहीँबाट उनीहरू भागीविवाह गर्छन्। भागेर विवाहको रीत पुर्याउन सायाको माइतीघर पुगेको लमीले सुम्निमा-पारुहाङको प्रेमकथा अर्थात् मुन्दुमी कथा सुनाउँछन्। उनीहरूको प्रेम, बिछोड र पुनः मिलनको कथाबाट नाटकका पात्रमार्फत इतिहासतर्फ पुर्‍याइन्छ।

किरात मान्यताअनुसार साल्पा र सिलिचुङ सुम्निमा-पारुहाङले मायाप्रेम गरेको पवित्र ठाउँ हो। साल्पा-सिलिचुङ क्षेत्रमा सृष्टिमा पहिलो मानिस बनेको कुरा मुन्दुमको कथाबाट नाटकमा सुम्निमा पारुहाङको प्रेमकथा देखाइन्छ। उनीहरूकै प्रेमबाट मानव-सृष्टि सुरु भएको कुरा जिकिर गरिन्छ। सिखुम र सायाको प्रेमविवाहलाई सामाजिक-सांस्कृतिक रूपमा वैधता दिएपछि नाटकको सुखद अन्त्य हुन्छ।

सुम्निमा र पारुहाङको प्रेमकथालाई बिम्ब बनाइएको नाटकका प्रमुख पात्र सिखुम र सायाको विवाहले किरात समुदायको वैवाहिक संस्कृतिलाई झल्काएको छ।

किरातीहरूको साल्पा-सिलिचुङ र सिलुछो अत्यन्तै महत्त्वपूर्ण पवित्र मुन्दुमी स्थल तथा किरात धार्मिक तथा सांस्कृतिक स्थल हो। किरातीहरूले साल्पालाई नागदेवता बस्ने थलो र सिलिचुङलाई मानव सृष्टिसँग जोडिएको ठाउँका रूपमा विश्वास गर्दै आएका छन्।

इतिहास भल्काउन संघर्षरत पात्र

नाटकमा दुई मुख्य पात्र छन्। सिखुम (अनिल सुब्बा) र साया (एलिसा राई)। उनीहरू नै नाटकको कथामा सुम्निमा र पारुहाङ बनेका छन्। सुम्निमा र पारुहाङको सफल प्रेमकथा थाहा पाएपछि उनीहरूको प्रेमविवाहले सामाजिक-सांस्कृतिक रूपमा वैधता पाएको छ। यसरी नाटकमा परम्पराअनुसारको संस्कारलाई प्राथमिकता दिनुपर्ने बताउन खोजिएको छ।

सिखुम र साया सुम्निमा-पारुहाङ, सारुम्मा-सावाहाङको भेषमा देखिएका छन्। नाटकमा थुप्रै सहायक पात्रको अभिनय छ। प्रेमकथामा आउने मानवेतर पात्र लामपुच्छ्रे चरा, माकुरा, कौवा, भमरा आदि मानवेतर पात्र पनि छन्। ती पात्रको अभिनयले दर्शक हँसाउँछ। खित्काले थिएटर गुञ्जयमान बनाउँछ। निर्देशक राईले विषयवस्तुअनुसार पात्रहहरूको वेषभूषामा पनि मिहेनत गरेका छन्।

ऐतिहासिक कथामा आधारित नाटकको शृंखला क्रमबद्ध छ। एक घण्टा ४५ मिनेटको नाटकको मध्यतिर सावाहाङले उपहार दिएको (बाँसको काइँयो) नदीमा खसेपछि दर्शकको मनमा द्वन्द्व उत्पन्न गराउन सफल छ। संस्कृतिमा आधारित नाटकमा किराती भाषा, शैली र लवजको प्रचुर प्रयोग गरिएको छ।

नाटकको सुरुवातमा भैरुङपाती, सुनापाती टिप्न दुई प्रेमीहरू जानु र उनीहरू भागी विवाह गर्नु समय सान्दर्भिक लाग्छ। जब उनीहरूको विवाहलाई मान्यता दिन ऐतिहासिक परम्परालाई नाटकमा देखाइन्छ तब सुम्निमा र पारुहाङको प्रेमकथालाई इतिहासबाट वर्तमानसम्म रोचक ढाँचामा लम्ब्याइएको छ।

तत्कालीन समयमा समुद्रबाट उत्पत्ति भएका पारुहाङको सचित्र वर्णनका लागि सेतो पर्दालाई बिम्ब बनाइएको छ। पृथ्वीबाट उत्पत्ति भएकी मानव रूपलाई दर्शाउन नाटकको बीचभागलाई कलात्मक बिम्बका रूपमा प्रयोग गरिएको छ।

यसरी ‘बाखाम्मा : मुन्दुममा मान्छे’ नाटक किरात राईहरूको एकता, साझा आस्थाका प्रतीकका रहेका सुम्निमा-पारुहाङको प्रेमकथामार्फत समाजको सौन्दर्य चेतनालाई प्रस्तुत गर्न सफल छ। मान्छेको सृष्टिलाई नवपुस्तामाझ देखाउने प्रयास प्रशंसनीय छ।

किरात राई समुदायले विवाहकर्म गर्दा चलिरहेको रैथाने संस्कृति, अनुभव, ज्ञान अथवा सांस्कृतिक सौन्दर्यलाई मौलिक दृष्टिबाट देखाउनु नाटकको अर्को विशेषता हो। नेपाली समाजमा लामो सभ्यता बाँचिआएको किराती समुदायको आत्मविश्वास र जीवनदर्शन भन्नु नाटकको उद्देश्य देखिन्छ। जसलाई अनुराग थापा, एलिन राई र संजिव राईको संगीतको सांस्कृतिक धुनले थप मौलिकता झल्काएकाे छ।

नाटकले चर्चित धार्मिक स्थल साल्पा-सिलिचुङको प्रचारप्रसार गरेको छ। जातीय जराको खोजी गर्नुअघि सांस्कृतिक पहिचान र मौलिकतालाई प्राथमिकता दिनुपर्ने सन्देश नाटकमा पाइन्छ।

केन्द्र मोसन पिक्चर्सको प्रस्तुति रहेको नाटकमा एलिसा राई, अनिल सुब्बा, वेदना राई, विष्णु मोक्तान, मानहाङ लावती, प्रतिना राई, शायोक मुकारुङ, पुनम लक्ष्मी मगर, ज्वाला राई, रमिला मोक्तान, याङ्साङ मुकारुङ, रमिता राई, सचिन रत्न, साङ्मी सुनुवार, प्रशंसा गुरुङ, सिसम बान्तावा, शुभम चाम्लिङ, रविन दोङ, रोशन लोहोरुङ राई, सबनम राई, सुजना राई, प्रशान्त वाइबा र मानबहादुर राईको अभिनय छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + three =