भारत रंग महोत्सवमा ‘क्लेशाः’ छनोट, नेपालमा विशेष मञ्चन हुँदै

हिमाल प्रेस १४ माघ २०८० १३:४५
110
SHARES
भारत रंग महोत्सवमा ‘क्लेशाः’ छनोट, नेपालमा विशेष मञ्चन हुँदै

काठमाडौँ– भारतमा हुने भारत रंग महोत्सवकाे २३ औं संस्करणमा नाटक ‘क्लेशाः’ को छनाेट भएको छ। फेब्रुअरी १ देखि २६ सम्म हुने महोत्सवमा ‘क्लेशाः’ छनोट भएको निर्माण टिमले जनाएको छ।

टिमका अनुसार यो नाटक उक्त महोत्सवमा सन् २०२२ को लागि छानिएको थियो। कोभिडका कारण २०२२ सालमा महोत्सव नभएपछि यसपटक भारत रंग महोत्सवले पुनः आमन्त्रण गरेको हो।

करमन कलाको प्रस्तुति रहेको नाटक ‘क्लेशाः’ प्रतीक्षा कट्टेलकाे लेखन  छ। नाटकको परिकल्पना तथा निर्देशन विजया कार्कीले गरेकी छन्। यो विजयाको डेब्यु निर्देशन हो।

नाटक महोत्समा फ्रेब्रुअरी १७ र १९ तारिखमा मञ्चन हुँदैछ। नाटक नयाँ दिल्ली र रामनगरमा गरी दुई स्थानमा मञ्चन हुने जनाइएको छ। नाटकको महोत्सव टिममा निर्देशक कार्कीसँगै विभिन्न प्राविधिक भूमिकासहित रिजन परियार, उमेश तामाङ, अनुप न्यौपाने, रुपक खरेल र केदार श्रेष्ठ छन्।

भारतको नाट्य प्रज्ञा प्रतिष्ठानको मातहत रहेको राष्ट्रिय नाट्य विद्यालय (एनएसडी)ले वार्षिक रुपमा उक्त ‍‍महोत्सवको आयोजना गर्दछ।

भारतअघि नेपालमा विशेष मञ्चन

भारतमा मञ्चन गर्नुअघि निर्माण टिमले नेपालमा नाटकको विशेष मञ्चन गर्ने भएको छ। नाटकको पोस्टर सार्वजनिक गर्दै थापागाउँस्थित मण्डला थिएटरमा माघ २९ र फागुन १ मा तीन सो मञ्चन गर्न लागेको हो।

माघको २९ साँझ ५ बजे मञ्चन हुनेछ भने फागुन १ गते दिउँसो १२ र साँझ ५ बजे दुई सो हुनेछ। जसको लागि नाटकप्रेमीहरुले मण्डला थिएटरको वेवसाइटमा टिकट बुकिङ गर्न सक्नेछन्।

निर्माण टिम यतिबेला नाटकको नियमित अभ्यासमा गरिरहेका छन्। यसअघि २०७६ सालमा २४ सो मञ्चन गरिएको थियो।

नाटक ‘क्लेशाः’ को मुख्य स्रोत रामायण हो। क्लेशाःका पाँच तत्वहरु अज्ञानता, अहंकार, मोह, विच्छेद र डरको दार्शनिक पृष्ठभूमिसहित नाटकमा नेपालको एक दुर्गम गाउँमा पञ्चायती व्यवस्थाको सामाजिक र सांस्कृतिक परिवेश देखाउने प्रयास गरिएको छ।

क्लेशाः ले ऋषि वाल्मिकीको कहानीलाई विशुद्ध र कुनै धार्मिक धागोले नबेरिकन, एउटा पुनः परिभाषित, पुनःरचित साहित्य र समसामयिक रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको निर्देशक कार्कीले बताइन्।

नाटकमा सरिता गिरी, सुरक्षा पन्त, कुशल पाण्डे, सुदीप खतिवडा, विजय बराल, विकास जोशी, रोशनी कार्की, स्वप्निल घिमिरे, सन्दिप श्रेष्ठ, संयोग गुरागाईं, मिलन कार्की, सुजन खतिवडा, सविना थापा र रुजा राउतको अभिनय रहेको छ। कलाकार सुरक्षा पन्तले नाटक ‘क्लेशाः’ बाट थिएटर डेब्यु गरेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =