सिँचाइका लागि हिउँदमा पनि छाडियो नारायणी लिफ्टबाट पानी

हिमाल प्रेस २० पुष २०८० ११:०२
10
SHARES
सिँचाइका लागि हिउँदमा पनि छाडियो नारायणी लिफ्टबाट पानी

चितवन- चितवनको नारायणी लिफ्टबाट हिउँदमा पनि पानी छाडिएको छ। एक दशकपछि सो लिफ्टको ‘बी’ क्यानलबाट लङ्कु, कैलाशनगर र मंगलपुर क्षेत्रमा सिँचाइ गर्ने गरी पानी छाडिएको हो।

लिफ्टका चारबाट पम्प फेरेपछि हिउँदमा पनि पानी छाडिएको नारायणी लिफ्ट सिँचाइ प्रणालीका इन्जिनियर कुलप्रसाद चालिसेले जानकारी दिए। उनले दुई हजार लिटर प्रतिसेकेन्ड पानी तान्ने सानो पम्प सञ्चालन गरिएको जानकारी दिए।

नयाँ पम्प फेरेपछि हिउँदमा पनि पानी पठाउन सकिन्छ भनेर परीक्षणका रुपमा पानी नहरमा पानी पठाउन थालिएको उनले बताए। नारायणी लिफ्ट सिँचाइमा चार नयाँ मेसिन छन्। चार घनमिटरका दुई र दुई घनमिटरका दुई छन्।

पम्पबाट प्रतिसेकेन्ड दुई हजार लिटर र अर्कोबाट प्रतिसेकेन्ड चार हजार लिटर पानी तान्ने उनको भनाइ छ। भरतपुर–१ स्थित नारायणी नदी नजिकै रहेको नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्प हाउसमा रहेका ४० वर्ष पुराना चार पम्प यस वर्ष फेरिएको हो।

पुराना र जीर्ण अवस्थाका पम्पले पानी तान्न समस्या भएपछि यसलाई आधुनिकीकरण गर्न २६ करोड ३२ लाख ४३ हजार एक सय ५१ खर्च गरिएको छ। किसानको मागअनुसार, गहुँ बालीलाई लक्षित गर्दै नारायणी लिफ्टको ‘बी’ क्यानलबाट पानी छाडिएको उनले बताए।

‘बी’ क्यानलको पानी क्षेत्रपुरबाट, यज्ञपुरी, कल्याणपुर, श्रीपुर, कैलाशनगर, तोरीखेत, पारसनगर, केशरबाग, देवनगरसम्म पुग्छ।

यसले करिब दुई हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने इन्जिनियर चालिसेको भनाइ छ। बर्खामा साउन २ गतेदेखि चार महिना सिचाइँका लागि नारायणी लिफ्टबाट पानी छाडिएको थियो।

प्रकाशित: २० पुष २०८० ११:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − three =