कुनै पनि दुष्प्रयासले नेपाली सेना कमजोर हुँदैन : प्रधानसेनापति

हिमाल प्रेस १९ मंसिर २०८० २१:४३
68
SHARES
कुनै पनि दुष्प्रयासले नेपाली सेना कमजोर हुँदैन : प्रधानसेनापति

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले कुनै पनि दुष्प्रयासले नेपाली सेना कमजोर नहुने बताएका छन्। गण तथा गुल्महरूको कमाण्ड गरिरहेका एवं निकट भविष्यमा कमाण्डमा नियुक्त हुन लागेका अधिकृतहरूका लागि सञ्चालित ‘कमाण्डिङ अफिसर ओरिएन्टेसन’ कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले सेनालाई कमजोर बनाउने दुस्प्रयास सफल नहुने बताएका हुन्।

‘असंख्य सिपाहीहरूको रगत पसिनाको जगमा उभिएको नेपाली सेनालाई संस्थाभित्र वा बाहिर रहेर कमजोर बनाउने एवं आफ्नो निहित स्वार्थसिद्ध गर्ने दुराशयले प्रेरित भई त्यस किसिमको कार्य गर्नेहरूको दुष्प्रयासले नेपाली सेना कमजोर हुने छैन,’ उनले भने। उनले संस्थागत हित नै आफ्नो स्वार्थ भएको र विधि, पद्धति एवं प्रक्रियाविपरीत कसैसँग कुनै सम्झौता नगर्ने बताए।

प्रधानसेनापति शर्माले पछिल्लो समय विभिन्न सञ्चारमाध्यमहरूको दुरुपयोग गर्दै नेपाली सेनाका कामकारबाहीहरू, यसको नियमित सञ्चालन प्रक्रिया लगायतका विषयमा अनर्गल प्रचारबाजी भइरहेको विषयमा सकलदर्जालाई सचेत रहन निर्देशित पनि गरे।

उनले आफ्नो र प्रधानमन्त्रीको बीचमा गोप्य सम्झौता भएको, विशेष परिस्थितिमा भर्ना भै विशेष ढंगले पदोन्नति भएको र निर्धारित योग्यता नपुगेको व्यक्तिलाई प्रधानसेनापति बनाउन भूमिका तयार गरेको, कुनै राजनीतिक दल विशेषलाई खुसी पार्ने गरी काम गरिदिएबापत राजदूतको नियुक्तिमा जान लागेको जस्ता व्यक्तिगत तथा संस्थागत प्रतिष्ठामा दाग लगाउने कुचेष्टाले भरिएका दुस्प्रचार पूर्णतः गलत भएको बताए।

‘रिक्त रथी दर्जामा पदोन्नति प्रक्रिया सुरु भएसँगै सम्भावित उम्मेदवारहरूको उमेर, शैक्षिक योग्यता आदिलाई विषयबस्तु बनाई अतिरञ्जित तबरले प्रचारबाजी भएको छ,’ उनले भने, ‘शैक्षिक प्रमाणपत्र, नागरिकता जस्ता कागजातहरू आवश्यकताअनुसार सम्बद्ध निकायहरूबाट यकीन गरेर मात्र जंंगी अड्डाले कारबाही अघि बढाउने गरेको छ।’ उनले व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्तिलाई अन्त गर्न प्रतिबद्ध रहेको समेत बताए।

प्रकाशित: १९ मंसिर २०८० २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =