मुलुक र जनताको हितमा जिम्मेवारी निर्वाह गर्न कमाण्डरहरूलाई प्रधानसेनापति शर्माकाे निर्देशन

हिमाल प्रेस १८ फागुन २०८० ११:०८
18
SHARES
मुलुक र जनताको हितमा जिम्मेवारी निर्वाह गर्न कमाण्डरहरूलाई प्रधानसेनापति शर्माकाे निर्देशन

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले मुलुक र जनताको हितमा जिम्मेवारी निर्वाह गर्न सेनाका सबै तहका कमाण्डरहरूलाई निर्देशन दिएका छन्। जंगीअड्डामा बुधबार र बिहीबार दुईसम्म सञ्चालन भएको पृतनापति समन्वयात्मक बैठकको बिहीबार समापन गर्दै प्रधानसेनापति शर्माले उक्त निर्देशन दिएका हुन्।

बैठकमा नेपाली सेनाको अपरेशनल गतिविधिसम्बन्धी जानकारी पेस गरिएकाे थियाे। साथै पेसागत कामकारबाहीमा सहजता, बन्दोबस्ती गतिविधिमा सरलता,कार्यसम्पादनका सिलसिलामा कमिकमजोरी भए पहिचान गरी सुधारका उपायहरू अवलम्बन गर्न सहज होस् भनि पृतनापति समन्वयात्मक बैठकको आयोजना गरिएको हो।

बैठकमा प्रधानसेनापति शर्माले कामको सिलसिलामा हुने कमिकमजोरी सुधार गर्न सकिने तर गलत मनशायले गरिने कामको जवाफदेहिता सम्बन्धित व्यक्तिमै रहने र आवश्यकता अनुसार परिस्थितिको सामना गर्न तयार रहनुपर्ने बताए।

राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउने लक्ष्यका साथ समग्र सेनाको व्यवसायिकता अभिवृद्धि गर्दै देश र जनताको सेनाप्रतिको अपेक्षा पूरा गर्न सकलदर्जाले जिम्मेवार भई काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै शर्माले राज्यबाट प्राप्त सबै खाले जिम्मेवारी निर्वाहका क्रममा आधुनिक सैन्य प्रविधिको पहिचान एवं सदुपयोग गर्न सक्नुपर्ने बताए।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सेनाले प्राप्त गरेको सफलता एवं हासिल गरेको ख्याती सकलदर्जाको सामूहिक प्रयत्नबाट सम्भव भएको स्मरण गर्दै प्रधानसेनापतिले पृतनास्तरमा हालसम्म भएका प्रभावकारी कार्यको लागि पृतनापतिहरूलाई धन्यवाद दिए।

बैठकमा वर्तमान सुरक्षा परिस्थिीत्को विश्लेषण, अपरेशनल अवस्था लगायत पृतनापतिहरूले प्रधानसेनापतिसमक्ष गरेका कमाण्ड प्रतिबद्धताको प्रगति प्रतिवेदन, नेपाली सेनाको भिजन २०३० कार्यान्वयनको अवस्था, सञ्चालित तालिमहरूको प्रभावकारिता तथा गत भदौ महिनामा सम्पन्न पृतनापति समन्वयात्मक बैठकको निर्णय भएका विषयहरूमा छलफल भएको थियो।

बैठकको समापनमा बलाधिकृत रथी अशोकराज सिग्देल पनि उपस्थित थिए। सो अवसरमा नेपाली सेनाका विभागीय प्रमुखहरू, पि.एस.ओज् तथा पृतनापतिहरू, निर्देशक एवं वाहिनीपतिहरूलगायत अधिकृतहरूको उपस्थिति थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =