कुराकानी

ओलीले व्यक्तिगत प्रतिशोधका कारण मलाई बाइपास गरे : डा. भीम रावल

रमेश भारती १८ मंसिर २०८० १२:५८
552
SHARES
ओलीले व्यक्तिगत प्रतिशोधका कारण मलाई बाइपास गरे : डा. भीम रावल

नेकपा एमालेले बिहीबारदेखि मध्यपहाडी लोकमार्ग (झुलाघाट-चिवाभन्ज्याङ) यात्रा थालेको छ। उक्त कार्यक्रममा एमालेका सबै शीर्ष नेता सहभागी छन्। एमालेको ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ जति चर्चा छ, त्यत्ति नै बहस पूर्वउपाध्यक्ष डा.भीम रावल सहभागी नभएको विषयमा भइरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताले रावलकै गृहजिल्ला अछाम पुगेर तीनतीन ठाउँमा कार्यक्रम आयोजना गरे। तर रावल डाकिएनन्। एमालेमा पाँच दशकदेखि सक्रिय रावललाई अध्यक्ष ओलीको आलोचक भएकै कारण पार्टी गतिविधिबाट किनारा लगाउन खोजिएको बुझाइ धेरैको छ। आफ्नो कामविशेषले धनगढीबाट अछाम जाँदै गरेका डा.रावलसँग यिनै विषयमा रमेश भारतीले गरेको संक्षिप्त कुराकानी :

अचेल केमा व्यस्त हुनुहुन्छ?

अहिले म राजनीतिक कार्यक्रमभन्दा आफ्नो व्यक्तिगत काममा व्यस्त छु। नेकपा एमालेले भूमिका नदिएका कारण म पार्टी गतिविधिमा सामले हुन पाएको छैन। एक वर्षयता अध्ययन, सञ्चारमाध्यम र साथीभाइसँग भेटघाटसँगै छलफलमा जुटेको छु।

पार्टीको पूर्वउपाध्यक्ष हुँदा पनि मलाई केही जिम्मेवारी दिइएको छैन। जसका कारण म पार्टीको सार्वजनिक कार्यक्रममा देखिन पाइनँ। एमालेका अध्यक्ष ओलीले नै मलाई पार्टीको कार्यक्रममा नबोलाउन सम्बन्धित निकायलाई निर्देशन दिने गरेको सूचना पाएको छु। म पनि निहुरिएर जाने कुरा भएन।

आफ्नै जिल्लामा भएको राष्ट्रिय स्तरको कार्यक्रममा किन डाकिएन तपाईँलाई?

अध्यक्ष ओलीले मलाई राजनीतिक रूपमा शत्रु मानेका छन्। त्यही भएर उनले पार्टीको भूमिका र कार्यक्रममा बालोउन नचाहेका हुन्। ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएको कार्यक्रममा मलाई पार्टीले निमन्त्रणा गरेन। म त पार्टीको आधिकारिक व्यक्ति हुँ। पूर्वउपाअध्यक्षका नाताले पनि कार्यक्रममा बोलाउनुपर्ने हो। तर ओलीले व्यक्तिगत प्रतिशोध साँधेका कारण संकल्प यात्रामा मलाई विभेद गरे।

मलाई मेरो गृहजिल्ला अछाममा पार्टीको कार्यक्रम हुँदैछ भनेर कुनै जानकारी आएन। मैले पनि गृहजिल्लाका कार्यकर्ताको मुखबाट सुनेको हुँ त्यहाँ पार्टी अध्यक्ष ओली पुगेको भनेर। सामाजिक सञ्जालमा विरोध भएपछि एमालेका केही नेतालाई लाज भएछ। उनीहरूले मलाई सम्पर्क गर्न खोजेका छन्। तर म अहिल्यै यस विषयमा प्रतिक्रिया दिने पक्षमा छैन। पार्टीमा दु:ख गरेको र मैरै कारण एमालेको अध्यक्षजस्तो पक्षमा पुगेका व्यक्तिले यस्तो प्रतिशोध साँधेपछि पार्टीभित्र के भइरहेको होला? मलाई योभन्दा धेरै थाहा छैन।

तपाईँले केही महिनाअघि अध्यक्ष ओलीसँग भेटर्वार्ता गरेपछि पनि सम्बन्ध सुधार नहुनुको कारण के होला?

पार्टी गतिविधिविरुद्ध लागेको भन्दै पार्टीभित्र रहने वा नरहने भनेर स्पष्ट पार्न एमालेले गत चैतमा उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा लेखराज भट्ट र कर्ण थापासहितको समिति बनायो। समितिको आग्रहपछि ओलीसँग गत साउन ३० गते पार्टी मुख्यालय च्यासलमै भेट भएको थियो। हामीबीच करिब २५ मिनेट जति कुरा चल्यो। उनले यस्तो-उस्तो केही सोधेनन्। भेटमा ‘फेरि भेट्ने’ बाहेक अर्को समझदारी भएन। त्यसपछि उनीसँग मेरो कुराकानी बन्द भएको छ। त्यसपछि ओलीको दूत बनेर पार्टी केही नेताले भेट्न खोजे पनि मैले चासो दिएको छैन।

म १० औँ महाधिवेशनमा ओलीसँग अध्यक्षमा भिडेँ। उनी निर्विरोध निवार्चित हुन खोजेका रहेछन्। त्यसपछि म ओलीको कोपभाजनमा पर्न थालेको सबैलाई थाहै छ। गत मंसिरको सासंदीय निर्वाचनमा जिल्ला कमिटीले मेरो नाम सिफारिस गरेर पठाए पनि ओलीसँग सम्बन्ध चिसिएकै कारण म उम्मेदवार बन्न वञ्चित भएँ। अध्यक्ष ओलीले नै मेरो नाम काटिदिए।

म अध्यक्ष ओलीको चर्को आलोचक हुँ। एमालेभित्र ओलीलाई टक्कर दिने मै मात्र थिएँ। त्यही भएर ओलीले मलाई प्रतिस्पर्धी ठाने। उनी र मबीच योभन्दा अरू केही द्वन्द्व छैन।

तपाईँ एमालेभित्र कहिलेसम्म यसरी रहिरनुहुन्छ वा नेतृत्वको  विभेद सहिरहनुहुन्छ?

एमालेलाई ओलीले आफ्नो कम्पनी र पेवाजस्तै बनाएका छन्। त्यही भएर उनले आफ्ना विरोधीलाई ‘बाइपास’ गरिरहेका हुन्। म आज अछाम जाँदैछु। अहिलेसम्म यसै गर्छु भनेर निर्णय गर्ने अवस्था पनि छैन। अहिलेसम्मका घटनाक्रमले जे संकेत गरेको छ, यो मेरा लागि पाठ हो। एमाले बनाउन पार्टी अध्यक्ष ओलीले भन्दा मैले धेरै दु:ख गरेको छु। यसको पनि विश्लेषण गर्दैछु। मैले उको व्यवहार जस्तो हुन्छ, त्यसरी नै पाइला अगाडि बढाउने हो।

तपाईँ नहुँदा ओलीलाई हाइसन्चो भएजस्तो लाग्दैन?

पार्टीका नेताकार्यकर्ताले एमालेभित्र भीम रावल आवश्यक रहेको महसुस गरिरहेका छन्। केही शीर्ष नेताले भने म एमालेमा नहुँदा पार्टी गतिविधिको विरोधमा बोल्ने मान्छे र अध्यक्षलाई प्रश्न गर्ने व्यक्ति नभएको बताइहरेका छन्। पार्टीमा मात्र होइन, सासंदमा पनि भीम रावलको आवश्यक भएको एमालेका धेरै नेताहरूले भनिरहेका छन्। यस विषयमा एमाले अध्यक्ष ओली पनि जानकार छन्। तर उनले बुझेर पनि बुझपचाइरहेका छन्।

सरकारको गतिविधिलाई कसरी मूल्यांकन गर्नुभएको छ?

गठबन्धन सरकारले देश र जनताका लागि भन्दा पनि आफ्नो पार्टी र सरकारमा सहभागी भएका मन्त्रीले दुनो सोझ्याउने काम मात्र गरेको देखिन्छ। यो आर्थिक मन्दीमा सरकारको कमजोर भूमिका प्रस्ट भइसक्यो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार टिकाउन सबैलाई खुसी बनाउने काम व्यस्त भएका छन्। उनलाई देश र जनताको चिन्ता देखिँदैन। सरकारका मन्त्री पनि पैसा कमाउँदै देखावटी काम गर्न व्यस्त छन्। यसमा मैलेभन्दा तपाईँहरूले मूल्याकंन गर्नुभएको होला। अहिले यसैका कारण जनतामा राजनीतिक पार्टीप्रति वितृष्णा भइरहेको हो। सरकारले जनताका समस्या सम्बोधन गर्न सकेको छैन। देश युवाविहीन हुँदैछ। यस विषयमा सरकार मौन देखिनु विडम्बना हो।

एमालेले  निर्वाह गरिरहेको प्रतिपक्षी भूमिकाबाट सन्तुष्ट हुनुहुन्छ त?

त्यो त प्रस्ट छ। यसमा मैले बोल्नुपर्ने के बाँकी छ र? एकतिर सरकारको विरोध गर्ने अर्कोतिर रातारात प्रधानमन्त्रीलाई भेटेर मोलमोलाई गर्ने काम पार्टी अध्यक्ष ओली नै गरिरहेका छन्। यस विषयमा जनता र पार्टीकै धेरै नेता जानकार भए पनि उनीविरुद्ध बोल्न आँट गर्दैनन्। एमालेभित्रको मुख्य समस्या हो यो। जसका कारण यो पार्टी अहिले व्यक्तिको जस्तो भइरहेको छ।

केही दल मिसन ८४ भनेर हिँडिरहेका छन्? उनीहरूको यस्तो मिसनलाई कसरी नियालिरहनुभएको छ?

मिसन ८४ जनता झुक्याउने नारा मात्र हो। लोकतन्त्रमा संसद्को आयु पाँच वर्षको हुन्छ। अहिले काम गर्न नसक्ने अनि मिसन ८४ भन्दै गाउँ,जिल्ला र नगरसभा गर्ने? यी सबै एमालेलगायत अन्य पार्टीको भ्रम फैलाउने वाइयात हल्ला मात्र हुन्। एक जना मेडिकल व्यवसायी दुर्गा प्रसाईले सरकार र प्रतिपक्ष हल्लाइरहेका छन्। एमालेले लाज पचाएर प्रसाईसँग भिड्न युवा संघ र अनेरास्ववियुलाई उचाल्यो। सरकार पनि उनैका पछि सुरक्षा शक्ति घुमाइरहेको छ। अब मिसन८४ नभनेर के गरून् त ?

कतिपय नेताहरू रास्वपालगायतका केही दल लोकप्रियतावाद (पपुलिजम) का कारण मात्रै अगाडि आएका हुन् भन्छन् नि? यसलाई कसरी बुझ्ने?

जनताबाट चुनिएर आएको दललाई अहिले नै लोकप्रियतावादी भन्न मिल्दैन। जे भए पनि निर्वाचन प्रणालीमा सहभागी भएर आएको पार्टी हो रास्वपा पनि। नेपालका मै हुँ भन्ने राजनीतिक दलका कारण रास्वपा जस्ता पार्टीलाई जनताले रुचाए। यो त रवि लामिछाने चितवनबाट निर्वाचित भएपछि प्रस्ट भयो। अब जनता बुझ्ने भएका छन्। त्यही भएर राजनीतिक दल, नेता र उनीहरूले गर्ने कामको मूल्यांकन  हुन्छ।

न चेत्छन् ओली, न टेर्छन् रावल

प्रकाशित: १८ मंसिर २०८० १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =