एमाले छाड्ने संकेत गर्दै भीम रावलले भने : राजनीतिको नयाँ घुम्तीमा आइपुगेको छु

हिमाल प्रेस १३ वैशाख २०८१ १८:०८
78
SHARES
एमाले छाड्ने संकेत गर्दै भीम रावलले भने : राजनीतिको नयाँ घुम्तीमा आइपुगेको छु भीम रावल

काठमाडौँ- नेकपा एमालेका नेता डा.भीम रावलले पार्टी परित्याग गर्ने संकेत गरेका छन्। आज बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै रावलले आफू राजनीतिको एउटा घुम्तीमा आइपुगेको बताएका हुन्।

उनले पार्टीभित्रको निषेधित राजनीतिको कारण आफू नयाँ घुम्तीमा पुगेको बताए। ‘गोदावरीको अधिवेशनमा मलाई उहाँहरूले जुन प्रकारले व्यवहार गर्नुभएको छ, यसपछि मैले के सोचेको छु भने अब मलाई राजनीतिको जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ,’ उनले भने, ‘एउटा घुम्तीमा पुगेजस्तो मैले महसुस गरेको छु। हामी सबैलाई थाहा छ, हाम्रो सामान्य जीवनमा पनि हिँड्दै जाँदा घुम्तीमा पुग्यौँ भने त्यो अर्को मोडमा मान्छे लाग्छ। कतै उहाँहरूले मलाई त्यो घुम्तीमा धकेलेर अर्को मोडमा जाओस् भनेर यो काम त गरिरहेको हो कि भन्ने मैले महसुस गरेको छु।’

उनले आफूले लिने आगामी मोडबारे छिटै निर्णय सार्वजनिक गर्ने पनि जानकारी गराए। आफूलाई एमाले अछाम जिल्ला अधिवेशन हुँदै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा समेत निषेध गरिएको उनको गुनासो छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको १०औँ महाधिवेशनमा प्रतिस्पर्धा गरेकै कारण आफूलाई निषेध गरिएको उनको निष्कर्ष छ।

एमालेमा सबैभन्दा लामो समयसम्म आफूले विदेश विभागमा काम गरेको स्मरण गराउँदै उनले देश र देशको सार्वभौमसत्ताका विषय उठाएकै कारण पार्टीमा निषेध गरिएको आरोप लगाए। उनले आफूले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति पढेर पार्टीलाई योगदान दिएको बेला एमालेमा उक्त विषय पढेको मान्छे नै नभएको समेत दाबी गरे।

टीका लगाएर पद दिने, आदेशबाट नेतृत्वमा पठाउने र निषेधको राजनीति गर्ने हो भने एमालेले मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’लाई छाड्नुपर्ने उनको माग छ। उनले जबजको १४ वटा विशेषतामध्ये महत्त्वपूर्ण विशेषता पार्टी चलाउने नेता कार्यकर्ताबाट अनुमोदित हुने र प्रत्येक कमिटीका अधिवेशन र महाधिवेशनहरूमा निश्पक्ष ढंगले प्रतिस्पर्धा गर्न पाउने रहेको उनको भनाइ छ।

‘फलानो उठ, फलानो उठ्न पाउँदैनौँ। फलानोलाई हराऊ, फलानोलाई जिताऊ। नेकपा (एमाले) ले यदि त्यस्तो गर्ने हो भने, महाधिवेशनलाई लफडा ठान्ने हो भने, त्यहा चुन्ने र चुनिन पाउने अधिकारलाई निरर्थक ठान्ने हो भने जनताको बहुदलीय जनवादको घोषणालाई सबैभन्दा पहिले खारेज गर्नुपर्छ। त्यसलाई हटाउनुपर्छ,’ उनले भने।

एमालेले अधिवेशन र सम्मेलनमा आफूलाई मन परेका मान्छेलाई विपक्षी दलका भए पनि ल्याएर मञ्चमा राख्ने र आफ्नो पार्टीमा देशका लागि आवाज उठाउँदा, विधिको पक्षमा आवाज उठाउँदा तैँले अमुक देशको विरोध गरिस् भनेर भाग लिन पाइँदैन भन्ने गरेको उनको आरोप छ। साथै, उनले पार्टीको पछाडि लेखिएको माक्र्सवाद, लेलिनवाद पनि हटाउन एमाले नेतृत्वलाई सुझाव दिए। पाटीे मार्क्सवाद, लेलिनवादको सिद्धान्तविपरीत चलेको उनको बुझाइ छ।

गोदावरीमा सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुन आफू इच्छुक रहेको भए पनि एमालेले आफ्नो परिचयपत्र नै नबनाइदिएको उनको गुनासो छ। उनले पार्टी अध्यक्ष ओलीनिकट केही मान्छेले भीम रावल को हो भन्ने प्रश्नसमेत गरेको भन्दै आपत्ति जनाए।

देशमा लोकतन्त्र, गणतन्त्र र संघीयता ल्याए पनि नेतृत्वका कारण त्यसको औचित्यता पुष्टि हुनै नसकेको उनको भनाइ छ।

प्रकाशित: १३ वैशाख २०८१ १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 9 =