ओली लचक बन्नुको भित्री कुरा

किरण पौडेल १० चैत २०८० १९:०७
88
SHARES
ओली लचक बन्नुको भित्री कुरा

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अडान लिने नेताका रूपमा गनिन्छन्। उनीसँग लामो समय संगत गरेका नेताहरू भन्छन्– ओली घमण्डी स्वभावका छन्, हार्लान् तर लचक हुँदैनन्। उनीहरूको बुझाइ छ,ओली सत्यसँग नडग्ने र शक्तिसँग नझुक्ने नेता हुन्।

ओलीको स्वभावकै कारण उनले नेतृत्व गरेको नेकपा एमालेसँग हत्तपत्त कुनै अन्य दलले गठबन्धन गरिहाल्दैनन्। ओलीका आलोचक भने उनी सिद्धान्तभन्दा पनि इगोको राजनीति गर्छन्।

एक महिनाअघिसम्म ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई इतिहासकै असफल प्रधानमन्त्रीको संज्ञा दिएका थिए। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई तुच्छ शब्द प्रयोग गरेर प्रस्तुत हुन्थे। विगतमा प्रचण्डलाई चर्को गाली गर्ने ओली अहिले बचाउमा छन्। यता नेपालको घरसम्मै पुगेर छलफल गरिसकेका छन्।

पछिल्लो समय ओलीमा फरकपन देखिँदै आएको छ। बोली मात्र होइन कार्यशैली पनि फेरिएको छ। उनी विपक्षीको कित्ताबाट सत्ता गठबन्धनमा पुगेका छन्। उनी प्रचण्ड नेतृत्वको सरकारले देशलाई समृद्धि ल्याउने सार्वजनिक अभिव्यक्ति दिन थालेका छन्।

ओलीले गाली गर्ने पात्र अहिले फेरिएका छन्। ओलीको निसानामा अहिले मोहनविक्रम सिंह र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पर्न थोलेका छन्। एमाले नेताहरू ओलीको बोली फेरिनुलाई स्वाभाविक ठान्छन्। ‘अहिले कम्युनिस्ट गठबन्धन निर्माण गरेका छौँ। अब देश सकारात्मक परिवर्तनतर्फ जाँदैछ,’ एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ भन्छन्, ‘हामी जुन ठाउँमा आउनुपथ्र्यो आएका छौँ। यसलाई आश्चर्य मान्नु आवश्यक छैन।’

एकीकृत समाजवादीलाई त ओलीले पार्टी मान्दैन थिए। अहिले ओली नेपालका धेरै कुरा सुन्न तयार छन्। ओलीमा एकाएक परिवर्तन आएकाले वाम शक्तिहरू एक हुने सम्भावना बढेको समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा बताउँछन्।

ओली–प्रचण्ड एक वर्षअगाडि गठबन्धन टुट्नुको प्रमुख कारण थियो–इगो। ओलीले प्रचण्डलाई संकुचित गरेर सत्ता चलाउन खोजेको आरोप माओवादी नेताहरू लगाउँथे। प्रचण्ड आफैँले भनेका थिए, ‘ओलीजीले आफ्नै आफ्नै अडान लाद्न खोज्नुभयो। यही कारण कांग्रेससँग फर्किएँ।’

त्यसबेला मुख्य विवाद राष्ट्रपतिमा भयो। एमालेले आफ्नै पार्टीबाट राष्ट्रपति बनाउन खोज्दैथियो भने माओवादी ‘सर्वसम्मत’को नाउँमा कांग्रेसलाई दिन खोज्थ्यो। एमालेले राष्ट्रपति गुमायो।

पछिल्लो ओलीको शैलीले अन्य कुरा पनि गुमाइरहेको छ। माओवादीसँग एमाले गठबन्धन ब्युँताउँदा राष्ट्रियसभा अध्यक्ष माओवादीले र उपाध्यक्ष एमालेले लिने सहमति थियो। पछिल्लो एकीकृत समाजवादीसहित पाँच दलको गठबन्धनको सहमतिपत्रमा भने उपाध्यक्षबारे खुलाइएको छैन।

एकीकृत समाजवादीका नेताहरू भने उपाध्यक्ष आफ्नै पार्टीले लिने सहमति भएको दाबी गर्छन्। फागुनमा बनेको एमाले–माओवादी गठबन्धनमा आधा–आधा कार्यकाल प्रचण्ड र ओली प्रधानमन्त्री बन्ने सहमति भएको बताइएको थियो। लिखित सहमति थिएन। ओलीले शुक्रबार सामाजिक सञ्जालमा टिप्पणी लेख्दै ओलीले सहमति नभएको बताएका छन्।

उनले भनेका छन्, ‘नेतृत्वमा आलोपालो गरेर पद प्राप्त गर्ने कुरालाई पनि संस्कारका रुपमा लिन थालिएको छ। तर राजनीति अहिले तपाईंको पालो त्यसपछि मेरो पालो, मेरोपछि उसको पालो भनेर धारामा पानी थाप्न लाइन बसेजस्तो होइन।’

केही प्रदेशमा कांग्रेसकै सरकार छ। ओलीले ढाल्न र नयाँ सरकार बचाउन पनि खास चासो देखाएका छैनन्। कतिपय प्रदेशमा एकीकृत समाजवादीलाई नेतृत्व दिन पनि ओली तयार देखिन थालेका छन्।

धेरै थोक गुमाएर पनि ओली नयाँ गठबन्धन बनाउन तयार रहनुलाई कुरी बुझ्ने? विश्लेषक डम्बर खतिवडा भन्छन्, ‘ओली सत्तामा जान चाहन्थे। त्यो पूरा भयो। गठबन्धन फेरियो। कांग्रेस प्रतिपक्षमा पुग्यो। ओलीले यही कुरालाई महान् मानेका छन्।’

एमाले नेताहरू भने कम्युनिस्ट शक्ति एक भएकामा अन्यथा मान्न आवश्यक नरहेको बताउँछन्। ‘हामी जे चाहन्थ्यौँ, त्यही भइरहेको छ’, एमाले सचिव योगेश भट्टराई भन्छन्।

ओली सबै दल एक बनाएर नेकपा ब्युँताउन लागेको पनि विश्लेषण गरिन्छ। एमाले नेताहरू भने मान्न तयार छैनन्। ‘तत्काल माओवादी र एकीकृत समाजवादीसँग एकता तत्काल सम्भव छैन। यो यो पार्टी एकता होइन सहकार्य मात्र होइन’, एमाले उपमहासचिव गुरुङ भन्छन्।

प्रकाशित: १० चैत २०८० १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 9 =