सम्बन्धका दुई किनारा

न चेत्छन् ओली, न टेर्छन् रावल

किरण पौडेल १६ मंसिर २०८० १२:४९
822
SHARES
न चेत्छन् ओली, न टेर्छन् रावल एमाले अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावल। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले बिहीबारदेखि मध्यपहाडी लोकमार्ग (झुलाघाट-चिवाभन्ज्याङ) यात्रा थालेको छ। ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएको यो अभियानको पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा आरम्भ गरेका गरेका हुन्।

यात्रामा एमालेका अध्यक्ष ओलीसहित दोस्रो र तेस्रो वरीयताका नेताको बाक्लो सहभागिता छ। ओलीले डडेलधुरा पुगेर शुक्रबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत सम्झन भ्याए।

ओलीले देउवालाई एकाबिहानै फोन गरेका थिए। खुसी व्यक्त गर्दै ओलीले नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि देउवासँग सम्पर्क भएको खुल्यो। ओलीले प्रतिस्पर्धी दलका नेतालाई फोन गर्दा आफ्नै सहयात्री डा. भीम रावललाई भने बिर्सिएका छन्।

रावल ओलीसँगै चार दशक राजनीति गरेका नेता हुन्। विगतबाटै रावल सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्छन्। रावललाई कुनै बेला एमाले सुदूरपश्चिम क्षेत्रको ‘मियो’का रूपमा चिनिथ्यो। अहिले तिनै रावललाई एमालेले बिर्सिएको छ।

‘रावल कमरेडलाई बोलाइएको छैन,’ रावल निकट एकीन्द्र कुँवरले हिमाल प्रेससँग भने, ‘प्रदेश कमिटीबाट फोन आएको रहेछ। उहाँ (रावल) ले कार्यक्रम प्रदेश कि केन्द्रको सोध्नुभएछ। अनि संवाद भएन।’ कुँवरका अनुसार रावललाई एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्णप्रसाद जैशीले सम्पर्क गरेका थिए।

‘अभियान प्रदेशको भए आउँथे। केन्द्रको परेछ। के गरौँ,’ रावलको भनाइ उधृत गर्दै कुँवरले भने, ‘त्यसपछि प्रदेश अध्यक्षज्यूले महासचिव (शंकर पोखरेल) सँग कुरा गर्न भन्नुभएछ।’ रावलले महासचिव पोखरेललाई समेत सम्पर्क गरेका थिए। ‘मैले म आऊँ भनेर प्रश्न गर्दा महासचिवज्यूले विवेकशील मान्छेले बुझ्ने कुरा हो भन्नुभयो’, रावलले भने।

कुँवरका अनुसार रावल एमालेको कुनै पनि कार्यक्रममा सहभागी हुने छैनन्। रावललाई एमालेले औपचारिक पत्र नपठाएकोमा दुःख लागेको छ। उनले आफूलाई अवमूल्यन गरेको गुनासो गरेका छन्।

पार्टी अध्यक्ष ओलीले भने हालसम्म रावललाई सम्झिएका छैनन्। रावल कार्यक्रममा नबोलाइएपछि समर्थकले विरोधका कार्यक्रम गर्नेसम्मको तयारी गरेको उनी निकट नेताहरूले बताएका छन्।

‘यो त हद भयो, आफ्नै प्रदेशको कार्यक्रममा पनि भीम रावलले सहभागी हुन नपाउने अवस्था बारम्बार दोहोरिन थाल्यो,’ रावल निकट एमाले अछामका एक नेताले भने, ‘अब के गर्ने भन्ने आन्तरिक छलफल गरिरहेका छौँ। सबै कार्यकर्ता आक्रोशित छन्। विरोधका क्रियाकलाप पनि हुन सक्छन्।’

थप बिग्रेको हो सम्बन्ध?

ओली-रावलको सम्बन्ध त्यस्तो बिग्रेको पनि होइन। दसौँ अधिवेशनबाट बिग्रिएपछि पछिल्ला दिनमा सम्बन्ध सुधार छ। तर ओली रावलका पछिल्ला अभिव्यक्तिले झस्किएको एमाले निकट नेताहरू सुनाउँछन्।

ओलीले केही दिनअघि हरिनारायण रौनियारलाई एमालेमा भित्र्याएका थिए। पप्पु कन्स्ट्रक्सनका पूर्वसञ्चालक रौनियार विवादित छवि भएका नेता हुन्। उनी पप्पुको सञ्चालक हुँदा अर्बौँका ठेक्का अलपत्र पारेका थिए। रावलले पप्पुको विरोध गरेका थिए।

‘उनी विवादित छविका व्यक्ति हुन्। उनी किन एमालेका लागि आवश्यक परे। मलाई थाहा छैन,’ रावलले भनेका थिए। यसपछि थप सम्बन्ध बिग्रेको उनी निकट एक नेता बताउँछन्।

यसअघि प्रदेश अधिवेशनमा भने ओली-रावलको सम्बन्ध सुधार भएको थियो। एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनमा ओली-रावलबीच एक भएर पदाधिकारी चयन भएको थियो।

ओली-रावल सम्बन्ध एमालेको दसौँ महाधिवेशनबाट बिग्रिएको हो। अधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न चाहन्थे। तर रावलले अध्यक्षमै उम्मेदवारी दिए। त्यसपछि ओली-रावल सम्बन्ध चिसिएको थियो। सम्बन्ध बिग्रँदै जाँदा रावलले संसद् प्रवेशको मौका पाएनन्।

गत प्रतिनिधिसभा निर्वाचनमा रावल अछाम १ बाट उम्मेदवार बन्न चाहेका थिए। उनी वडादेखि पालिकासम्म सर्वसम्मत उम्मेदवार सिफारिस भए। ओलीले रावललाई रोक र उनको ठाउँमा माओवादीबाट एमाले भित्रिएका झपट बोहोरालाई टिकट दिए।

ओली-रावलबीच नोकझोक चल्यो। रावलले पत्रकार सम्मेलन नै गरेर ओलीको आलोचना गरे। ओलीले पनि बदला स्वरूप सुदूरपश्चिम प्रदेश पुगेर रावलविरुद्ध अभिव्यक्ति दिए।

धनगढीमा चुनावीसभा सम्बोधन गर्दै ओलीले ‘भीम रावल चाहिए अछाम जानुहोस्’ भनेका थिए। त्यसबेला ओलीले सम्बोधन गर्दा कार्यकर्ताबाट रावलको माग आएको थियो। यसपछि ओलीले सुदूरपश्चिममा ‘भीम रावल मात्र नभई अरू रावल पनि रहेको’ बताएका थिए। प्रदेशको मुख्यमन्त्रीमा समेत ओलीले राजेन्द्रसिंह रावललाई अघि बढाए।

एमाले नेताहरूले भने राजेन्द्रसिंहलाई ओलीले अघि बढाउनुको अर्थ भीम रावललाई ‘काउन्टर’ दिन लागेको भन्ने बुझेका थिए। एमाले-माओवादी गठबन्धनबाट राजेन्द्र मुख्यमन्त्री त बने। तर विश्वासको मत पाउन नसक्दा पद गुमाउन पुगे।

रावलको गृह जिल्लामा ओलीका तीन कार्यक्रम

रावलको गृहजिल्ला अछाममा ओलीका तीन कार्यक्रम तय भएका छन्। भ्रमणको तेस्रो दिन शनिबार चौखुट्टे, साँफेबगर र बयलपाटामा ओलीको कार्यक्रमको भेटघाट तय भएको एमालेले जनाएको छ।

ओलीको तेस्रो दिनको सभा अछामको सदरमुकाम मंगलसेनमा हुँदैछ। सोही कार्यक्रममा पनि रावल उपस्थित हुने छैनन्। ‘अछामकै कार्यक्रममा पनि उहाँ (रावल) उपस्थित हुनु हुने छैन’, कुँवरले भने।

ओली-रावलबीच सम्बन्ध बिग्रिने र नजिकिने परम्परा जस्तै बनेको छ। एमालेका नेताहरू एकअर्काबीच ‘जबजरस्तीपन’ले सम्बन्ध बिग्रिएको बताउने गरेका छन्। ‘एमालेमा ओली आफू मात्र नेता ठान्छन्। उनी अन्यलाई गन्दैनन्,’ एमालेका एक नेता भन्छन्, ‘रावल पनि अडानबाट टसको मस हुँदैनन्।’

ओलीले कुनै बेला रावलको राजनीति सक्ने योजनामा लागेका थिए। रावलको राजनीति सक्नकै लागि ओलीले निर्वाचनमा टिकट दिएनन्। यता रावल पनि आफू ओली जत्तिकै एमालेमा योगदान रहेको बताउने गर्छन्। ‘यसअघि पनि रावल-ओलीबीच संवाद भएकै हो। तर दुवैले दुवैका कुरा सुन्न चाहेनन्’। एमालेका ती नेता भन्छन्।

साउन ३० गते एमाले मुख्यालय च्यासलमा ओली-रावलबीच संवाद भएको थियो। दुवै नेता हाँसी-खुसी संवादस्थलबाट बाहिरिएका थिए। एमालेका एक नेताका अनुसार रावलले एमालेमा आफू सक्रिय हुन महत्त्वपूर्ण जिम्मेवारी दिनुपर्ने बताएका थिए। ‘रावलले महत्त्वपूर्ण जिम्मेवारी दिनु भन्नुभएछ। त्यो भनेको अध्यक्षपछिको दोस्रो वरीयता हो भन्ने अध्यक्षलाई परेको छ’, ओली निकट ती नेताले भने।

एमालेमा अध्यक्षमा प्रतिस्पर्धा गरेका नेतालाई दोस्रो वरीयता र ‘वरिष्ठ नेता’ दिने ‘नजिर’ थियो। यसअघि ८ औँ र ९ औँ महाधिवेशनमा पराजित नेताले पनि सोही वरीयता पाएका थिए। यसपटक भने रावललाई दिइएको छैन। रावल पक्षीय नेता भने ओलीसँगको भेटवार्ताको पद नमागेको सुनाउँछन्।

ठक्करपछि पनि नचेतका ओली

माधव नेपाल एमालेमा रहँदा रावल उनी निकट थिए। नेपालले एमाले छाड्दा पनि रावल एमालेमै रहे। त्यसपछि एमालेमा ओली र रावलबीच प्रतिस्पर्धाजस्तै बन्यो। फलस्वरूप १० औँ महाधिवेशनमा उनीहरूबीच प्रतिस्पर्धा भयो।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा सुदूरपश्चिममा एमालेका २४ सांसद थिए। यसपटक १० सांसद छन्। संसद् घट्नुको कारण रावल-ओली सम्बन्ध हो। यसरी सुदूरपश्चिमा शक्ति घट्दै जाँदा पनि ओलीले चेतेका छैनन्।

प्रकाशित: १६ मंसिर २०८० १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =