ओलीको विश्लेषण : चुनावमा दक्षिणपन्थी शक्ति कमजोर बने, सत्तारुढ दलले बल प्रयोग गरे

हिमाल प्रेस ८ वैशाख २०८१ १३:५६
ओलीको विश्लेषण : चुनावमा दक्षिणपन्थी शक्ति कमजोर बने, सत्तारुढ दलले बल प्रयोग गरे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौतर्फी आक्रमण भए पनि पार्टी अहिले राष्ट्रिय राजनीतिको मियो रूपमा अक्षुण्ण रहेको दाबी गरेका छन्।

ललितपुरको गोदावरीमा शनिबारदेखि सुरु भएको राष्ट्रिय प्रतिनिधि परिषद्को पहिलो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यस्तो दाबी गरेका हुन्।

‘विभाजन, घेराबन्दी र चौतर्फी आक्रमणका बाबजुद एमाले राष्ट्रिय राजनीतिको मियोको रूपमा अक्षुण्ण रहिरहेको तथ्यले जनविरोधी तथा अन्य शक्तिलाई पिरोलिरहेको छ। यति वेला उनीहरू एमाले पार्टीविरुद्ध दुईवटा अस्त्र चलाइरहेका छन्’, ओलीले प्रतिवेदन पेश गर्दै भने, ‘मिथ्या र भ्रामक सूचनाको आक्रमण र पार्टी एकतामा भाँजो हाल्न सकिन्छ कि भनेर चर खोज्ने प्रयास।’

अध्यक्ष ओलीले यतिबेला पार्टीमा नीति र नेतृत्वको विषयमा कुनै विवाद नरहेको दाबी गर्दै अनुचित महत्त्वाकांक्षा बढ्दै गएर त्यसले गुटबन्दीको रूप लिन नपाओस् भन्नेतर्फ सचेत हुन आग्रह गरेका छन्।

‘यति वेला पार्टीमा नीति र नेतृत्वको विषयमा कुनै विवाद छैन। तैपनि अनुचित महत्त्वाकांक्षा बढ्दै गएर तीनले गुटबन्दीको रूप लिन नपाऊन् र लोकतन्त्रिक अभ्यास गर्दा त्यसले अराजतकताको रूप लिन नपाओस् भन्नेतर्फ सजग हुनुपर्छ’, उनले भनेका छन्, ‘वैचारिक, संगठनात्मक र भावनात्मकता आजको पार्टी अवाश्यकता हो।’

उनले भने, ‘प्रतिपक्षमा रहेका हाम्रा दलविरुद्ध सत्तामा रहेका ६ दलको घेराबन्दी थियो। प्रतिपक्षका विरुद्ध सत्तापक्षको त्यस्तो गठबन्धन अलोकतान्त्रिक मात्रै थिएन। अराजनीतिक पनि थियो। हाम्रा विरुद्ध सत्ता पक्षले साधन र स्रोतको दुरुपयोग गर्‍यो। निर्वाचन आयोगलाई पनि प्रभावित पार्‍यो। निर्वाचन होइन पार्टीले एक किसिमले युद्ध नै लड्नुपरेको थियो।’

घेराबन्दीका बाबजुद पनि समानुपातिकतर्फ सर्वाधिक मत ल्याएर जनताको रोजाइको पहिलो पार्टी बनेको बताए। स्रोत र साधनको चरम दुरुपयोग गर्दा पनि ६ दलको गठबन्धनले सामान्य बहुमत समेत ल्याउन नसकेको स्मरण गरे।

नेकपा एसलाई लक्षित गर्दै भने, ‘गठबन्धनको बलमा पहिलो पार्टी बने पनि कांग्रेसको जनाधार विगतमा भन्दा खस्किएको छ।

कांग्रेससँगको मतान्तर दोब्बरभन्दा बढी बढेको छ। कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने, वामपन्थी सरकार ढाल्ने र पुँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद निकै कमजोर भयो र जनमतबाट अस्वीकृत भयो। हाम्रो पार्टीविरुद्ध प्रयोग गर्न खोजिएको कथित प्रतिगमनको भाष्य झूटो थियो खण्डित भयो।’

प्रकाशित: ८ वैशाख २०८१ १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 1 =