चौतर्फी आक्रमण भए पनि एमाले राष्ट्रिय राजनीतिको मियो : केपी ओली [पूर्णपाठ]

हिमाल प्रेस ८ वैशाख २०८१ १९:१३
12
SHARES
चौतर्फी आक्रमण भए पनि एमाले राष्ट्रिय राजनीतिको मियो : केपी ओली [पूर्णपाठ]

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न नेताकार्यकर्तालाई आग्रह गरेका छन्।

ललितपुरकाे गाेदावरीमा आजदेखि सुरु भएको एमालेको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समाजवाद निर्माणको लक्ष्य पूरा गर्न एमाले बलियो शक्ति हुनु आवश्यक रहेको बताए।

अध्यक्ष ओलीले भने,‘गत महाधिवेशनयताका २९ महिनामा पार्टीले उत्पन्न जटिल अवस्थाको कुशलतापूर्वक सामना गरी हालको सहज परिस्थितिमा रहेको हो।’

त्यसैगरी उनले चौतर्फी आक्रमण भए पनि पार्टी अहिले राष्ट्रिय राजनीतिको मियो रूपमा अक्षुण्ण रहेको दाबी गरे। उनले भने,‘विभाजन, घेराबन्दी र चौतर्फी आक्रमणका बाबजुद एमाले राष्ट्रिय राजनीतिको मियोको रूपमा अक्षुण्ण रहिरहेको तथ्यले जनविरोधी तथा अन्य शक्तिलाई पिरोलिरहेको छ। यतिबेला उनीहरू एमाले पार्टीविरुद्ध दुईवटा अस्त्र चलाइरहेका छन्। मिथ्या र भ्रामक सूचनाको आक्रमण र पार्टी एकतामा भाँजो हाल्न सकिन्छ कि भनेर।’

प्रतिपक्षमा रहँदा पार्टीविरुद्ध ६ दलको घेराबन्दी रहेकाे बताउँदै उनले प्रतिपक्षका विरुद्ध सत्तापक्षको त्यस्तो गठबन्धन अलोकतान्त्रिक मात्रै थिएन अराजनीतिक पनि रहेकाे बताए। उनले भने,‘हाम्रा विरुद्ध सत्ता पक्षले साधन र स्रोतको दुरुपयोग गर्‍यो। निर्वाचन आयोगलाई पनि प्रभावित पार्‍यो। निर्वाचन होइन पार्टीले एक किसिमले युद्ध नै लड्नुपरेको थियो।’

उनले घेराबन्दीका बाबजुद पनि समानुपातिकतर्फ सर्वाधिक मत ल्याएर जनताको रोजाइको पहिलो पार्टी बनेको बताए। स्रोत र साधनको चरम दुरुपयोग गर्दा पनि ६ दलको गठबन्धनले सामान्य बहुमत समेत ल्याउन नसकेको स्मरण गरे।

नेपाली कांग्रेससँगको मतान्तर दोब्बरभन्दा बढी बढेको बताउँदै ओलीले भने,‘कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्ने, वामपन्थी सरकार ढाल्ने र पुँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद निकै कमजोर भयो र जनमतबाट अस्वीकृत भयो। हाम्रो पार्टीविरुद्ध प्रयोग गर्न खोजिएको कथित प्रतिगमनको भाष्य झूटो थियो खण्डित भयो।’

 

प्रकाशित: ८ वैशाख २०८१ १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =