उपरथी पाण्डेको उमेर विवादमा छानबिन सुरु

हिमाल प्रेस २३ कार्तिक २०८० २२:१७
70
SHARES
उपरथी पाण्डेको उमेर विवादमा छानबिन सुरु नेपाली सेनाको उपरथीमा बढुवा भएपछि २०७५ फागुन १ गते ताराध्वज पाण्डेलाई दर्ज्यानी चिह्न लगाइदिँदै तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापा। फाइल फोटो जंगीअड्डा

काठमाडौँ- नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको उमेर विवादमा छानबिन सुरु भएको छ। पाण्डेको उमेर विवादमा छानबिन गर्न रथी सीताराम खड्काको नेतृत्वमा गठित समितिले छानबिन थालेको जंगीअड्डाले बिहीबार जनाएको छ। समितिले पहिलो दिन पाण्डेको नागरिकता विवरण मगाएकाे छ।

पाण्डे रथीका लागि बढुवा सिफारिसमा पर्ने पक्कापक्कीजस्तै भएपछि उनको शैक्षिक प्रमाणपत्रमा उमेर सच्याएको विषयमा जंगीअड्डा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदीय समितिमा उजुरी परेको थियो। प्रधानसेनापति प्रभुराम शर्मा छानबिन नगरी सिफारिस गर्ने पक्षमा थिए। तर केरमेट ढड्डासहितको विवरण बाहिरिएको र विभिन्न निकायबाट छानबिनका लागि दबाब परेपछि शर्मा  पछि हटेका हुन्।

शर्माले पाण्डेको उमेर नसच्याई रथीमा सिफारिस गर्ने तयारीमा संगठनभित्रबाट पनि साथ पाएका थिएनन्। प्रधानसेनापति शर्मा त्रिवि परीक्षा नियन्त्रण कार्यालयको पत्रका आधारमा पाण्डेलाई बढुवा सिफारिस गर्ने पक्षमा थिए। रक्षा मन्त्रालयको समेत  जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानसेनापति शर्मासँग पाण्डेको प्रमाणपत्रबारे छानबिन गर्ने विषयमा चासो देखाएका थिए।

रक्षामन्त्रीसँग पनि प्रधानसेनापति शर्माले छानबिन गर्न आवश्यक नरहेको बताउँदै आएका थिए। शैक्षिक प्रमाणपत्रमा उमेर सच्याएका व्यक्ति मुलुकको भावी प्रधानसेनापतिको रोलक्रममा पार्न लागेको भन्दै नेपाली सेनाभित्र पनि प्रधानसेनापति शर्माको आलोचना हुन थालेको थियो। यस्तै पाण्डेले शैक्षिक प्रमाणपत्रमा उमेर सच्याएको विषय विवरणसहित सञ्चारमाध्यममा आएको छ।

अख्तियारले नेपाली सेनाका उपरथी पाण्डेको उमेर विवादमा छानबिन गर्न आवश्यक देखिएको भन्दै रक्षा मन्त्रालयमा तीन दिनअघि पत्र पठाएको थियो। त्यसपछि रक्षा मन्त्रालयले जंगीअड्डालाई छानबिन गर्न निर्देशन दिएको हो। छानबिन नगरी सिफारिस गर्ने निर्णयमा रथी सीताराम खड्काले पनि हस्ताक्षर नहुने अडान राखेपछि प्रधानसेनापति शर्मा थप दबाबमा परेको जंगीअड्डा स्रोतले जनाएको छ।

पाण्डेलाई रथीमा बढुवा गर्न लागेको विषयमा सर्वत्र चासो उत्पन्न हुन थालेपछि उपप्रधानमन्त्री खड्काले रक्षासचिव किरणराज शर्मासँग छलफल गरेका थिए। सचिव शर्माले प्रधानसेनापति शर्मालाई छानबिन गरेर मात्रै अघि बढ्न अनुरोध गरेका थिए।

अख्तियारले पनि पत्रपत्रिकामा आएका समाचार र प्राप्त विवरण हेर्दा पाण्डेको उमेर विवाद छानबिन गर्न योग्य देखिएको भन्दै पत्राचार गरेको थियो।

पाण्डेको नागरिकतामा सुरुमा जन्ममिति २०२१ माघ १२ उल्लेख छ। लामो समयपछि त्यसलाई केरेर २०२३ मंसिर २३  बनाइएको छ। उपरथीको अवकाश उमेर हद ५७ वर्ष छ। त्यस आधारमा पाण्डेले एक वर्ष ९ महिनाअघि नै अवकाश पाउनुपर्ने थियो।

२०२१ माघ १२ गते  जन्ममिति कायम हुँदा पाण्डेले २०४३ सालमा अधिकृत क्याडेटमा भर्ना हुन पाउने अवस्था थिएन। किनभने प्रवीणता प्रमाणपत्र उत्तीर्ण गरेकाको हकमा सेनामा अधिकृतमा भर्ना हुन १८ देखि २१ वर्षको समयसीमा छ। जंगीअड्डाका एक उच्च अधिकारीले भने, ‘अझै पनि पाण्डेले ढिपी गरेमा छानबिन अघि बढ्नेछ। अन्यथा उनले राजीनामा दिएर आफूलाई सुरक्षित गर्दा राम्रो हुनेछ।’

पाण्डेलाई रथी बढुवामा सिफारिस गर्न जंगीअड्डाले २९ असोजमा सूचना जारी गरेको थियो। जंगीअड्डामा परेको उजुरीलाई प्रधानसेनापति शर्माले हल्का रूपमा लिएको ती अधिकारी बताउँछन्। उनी भन्छन्, ‘यस सम्बन्धमा जंगीअड्डाको कार्य पारदर्शी देखिएन।’

प्रधानसेनापति शर्मा १६ कात्तिकमा चीन भ्रमणबाट फर्किएलगत्तै उपरथी पाण्डेलाई रथी बढुवामा सिफारिस गर्न पत्र पठाउने तयारीमा थिए। रक्षा मन्त्रालयले छानबिनविना आएको सिफारिस फर्काउने संकेत दिएपछि जंगीअड्डा तत्काल सिफारिस पठाउन हच्किएको हो।

पाण्डेको उमेर विवाद पूर्णचन्द्र थापा प्रधानसेनापति हुँदा पनि बाहिर आएको थियो। उमेरका विषयमा कैफियतबारे जानकार हुँदाहुँदै थापाले छाडेका थिए। पाण्डेसँग नाता पर्ने भएकाले थापाले उनलाई उन्मुक्ति दिएको त्यतिबेलै जंगीअड्डामा चर्चाको विषय थियो।

तनहुँको चुँदीस्थित चन्द्रवती माध्यमिक विद्यालयबाट २०३८ सालमा एसएलसी दिँदा पाण्डेको जन्ममिति २०२१ माघ १२  थियो। उनले चार वर्षपछि २५ चैत २०४२ मा  जन्ममिति घटाएको परीक्षा नियन्त्रण कार्यालयको विवरणमा उल्लेख छ। जन्ममितिमा कैफियत भए प्रवेशिका परीक्षा दिएको ६ महिनाभित्र सच्याइसक्नुपर्ने  प्रावधान थियो। सरकारले हालै मात्र सच्याउने अवधि पाँच वर्ष बनाएको छ। सच्याउँदा पनि जुन जेठो त्यही पारित हुने प्रावधान छ। 

त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रेसन कार्डमा उपरथी पाण्डेको जन्ममिति २०२१ माघ १२ उल्लेख छ। भक्तपुरस्थित सुपिङ बहुमुखी क्याम्पस प्रवीणता तहको सेसन २०३९/०४१ को दर्ता किताबमा पाण्डेको जन्ममिति २०२१  माघ १२  नै छ । त्यसबेला उनको ठेगाना काठमाडौँ-४ महाराजगन्ज लेखिएको छ।

पाण्डेले २६ वैशाख २०४३ मा ‘चारित्रिक प्रमाणपत्रमा ठेगाना फरक पर्न गएको’ भन्दै नागरिकताअनुसार स्थायी ठेगाना सच्याइदिन भन्दै निवेदन दिएको देखिन्छ। त्यसबेला ‘चारित्रिक प्रमाणपत्रका साथै अफिसको रेकर्ड नागरिकताको प्रमाणपत्रअनुसार मिलाइदिने’ भन्दै तोक आदेश भएको देखिन्छ।

पाण्डेले त्यतिबेलै नागरिकता किर्ते गरेर जागिर खाएको हुनसक्ने भन्दै चासो बढेको छ। छानबिन गर्न भन्दै प्रधानसेनापतिको कार्यालय, संसद्को राज्य व्यवस्था तथा सुशासन समिति, रक्षा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत उजुरी परेकाले पाण्डेलाई रथी बन्न सहज छैन। नेपाली सेनामा नागरिकता सच्याएर जागिर खाने घटना नयाँ होइन। विगतमा पनि घटना हुँदै आएका छन्।

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारी उपरथीसम्म आउँदा पाण्डेको जन्ममितिको विषयमा पटकपटक निर्क्यौल भइसकेको हुने हुनाले यसपटक छानिवन गर्न नखोजिएको बताउँछन्। उनले भने, ‘पटकपटक निरुपण भएर यहाँसम्म आएको बुझाइ प्रधानसेनापतिको हो।’

यस्तै विवादमा मुछिएपछि नेपाल प्रहरीमा महानिरीक्षक बन्ने प्रतिस्पर्धामा रहेका अशोक सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट १० फागुन २०७९ मा राजीनामा दिएका थिए। उनी पनि प्रहरी प्रमुखको दौडमा थिए।

किर्ते गर्नेलाई सेनापति होइन, जेल पठाऊ

उपरथी पाण्डेको उमेर विवाद : छानबिन नै नगरी बढुवा सिफारिस गर्दै सेनापति शर्मा

दुई वर्षअघि नै अवकाश हुनुपर्ने व्यक्तिलाई सेनापति बनाउन ‘रक्षामन्त्रीको चरम दबाब’

प्रकाशित: २३ कार्तिक २०८० २२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =