दुई वर्षअघि नै अवकाश हुनुपर्ने व्यक्तिलाई सेनापति बनाउन ‘रक्षामन्त्रीको चरम दबाब’

सेनाको नेतृत्व कमजोर, विवादित व्यक्तिलाई बढुवा सिफारिस, पाण्डेमाथि परेको उजुरी लुकाउने राजनीतिक प्रयास

हिमाल प्रेस ४ कार्तिक २०८० २३:१३
336
SHARES
दुई वर्षअघि नै अवकाश हुनुपर्ने व्यक्तिलाई सेनापति बनाउन ‘रक्षामन्त्रीको चरम दबाब’

काठमाडौँ –  नेपाली सेनाबाट दुई वर्षअघि नै अवकाश हुनुपर्ने व्यक्तिलाई प्रधानसेनापति बनाउने चलखेल तीव्र बनेको छ। उपरथि ताराध्वज पाण्डे २०७८ को मंसिरमै अवकाश पाउनुपर्ने सैन्य उच्च अधिकृत हुन्। उनीमाथि उमेर सच्चाएर नेपाली सेनाको प्रशासनलाई ‘पंगु’ बनाएको आरोप छ। पाण्डेले पछिल्लो समय सेनाको नेतृत्व आफैँले लिन सक्ने गरी राजनीतिक प्रभाव बढाएको चर्चा जंगीअड्डाका सैन्य अधिकारीहरूबीच हुने गरेको छ। त्यसमा रक्षामन्त्रीको समेत जिम्मेवारी लिइरहेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको साथ रहेको उनीहरू बताउँछन्।

जानकारहरूका अनुसार यसपटक प्रधानसेनापति प्रभुराम शर्मा राजनीतिक नेतृत्वसँग बढी नरम हुँदा विवादित व्यक्ति सेनापति बन्ने बाटो खुल्न लागेको छ। यसअघि सेनामा राजनीतिक प्रभाव पर्ने गरेको थिएन। उसो त पूर्णबहादुर खड्कामाथि विगतमा गृहमन्त्री हुँदा बढुवा र सरुवामा चलखेल गरेको आरोप लाग्ने गरेको थियो। अहिले उनै खड्का रक्षामन्त्री छन्। कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरिरहेका खड्कामाथि पार्टी सभापति  शेरबहादुर देउवाको नाम बिकाउँदै सेनालाई आफू अनुकूलको बनाइरहेको सैन्य अधिकारीहरूको गुनासो छ।

विवादमा परेका र किर्ते गरेर उमेर सच्याई उपरथिसम्म भएका पाण्डेलाई प्रधानसेनापति बनाउन खड्काले निकै जोडबल गरेको सैन्य अधिकारीहरू बताउँछन्। पाण्डे विभिन्न विवादमा मुछिएकाले कोर्टमार्सल हुनुपर्ने भनेर सेनाभित्रै आवाज उठ्दै आएको छ। तर उनी एकाएक बढुवा सूचीमा परेपछि प्रधानसेनापति शर्मालाई हेर्ने नजर नै फरक हुन  थालेको एक सैन्य अधिकारीले बताए।

सेनापति शर्मा केही व्यक्तिको प्रभाव र रक्षामन्त्रीको दबाबमा परेको भन्दै सैन्य मुख्यालयमा शर्माको आलोचना सुरु भएको छ। यसरी आलोचना हुन थालेपछि शर्माले आफूलाई कमजोर महसुस गर्न थालेकाे ती सैन्य अधिकारीले जानकारी दिए। ती अधिकारीले भने, ‘शर्मालाई काँध थापेर बस्नेहरू पनि आगामी एक वर्ष उनलाई बेवास्ता गर्ने शैलीमा पुगेपछि आफैँ चिन्तित छन्।’ भाबी प्रधानसेनापति बन्ने विषय वर्तमान प्रधानसेनापतिभित्रको निर्णयमा भर पर्ने भनेर चुपचाप बसेकाहरू अहिले शर्मासँग आक्रोशित बनेको ती अधिकारी बताउँछन्।

सैनिक मुख्यालयले उपरथि पाण्डेलाई रथी पदमा बढुवाका लागि प्रक्रिया अघि बढाएको छ। सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख रहेका पाण्डेलाई बढुवामा सिफारिस गर्न सूचना निकालिएको छ। मन्त्रिपरिषद्ले निर्णय गरेमा पाण्डे प्रधानसेनापतिको रोलक्रममा रहनेछन्। तर उनको बढुवा सिफारिस भएमा केही उच्च सैनिक अधिकारीहरू सर्वोच्च अदालत जाने तयारीमा छन्।

शर्मा आफू बिरामी हुँदा पाण्डेलगायतको  समूहले ‘यस्तो व्यक्तिले नेपाली सेनाको नेतृत्व लिन सक्दैन’ भन्दै अर्कै व्यक्तिलाई अघि सार्ने रणनीतिमा लागेको स्वयं शर्माले निकटस्थहरूसँग बताउँदै आएका छन्। अहिले सोही समूहका व्यक्तिलाई शर्माले अघि बढाएपछि उनी आलोचित बनेका हुन्। बढुवा सिफारिसका लागि हतारमा सूचना निकालेकाे भन्दै अधिकांश उच्च अधिकृतहरू शर्मासँग रुष्ट बनेको ती अधिकारीले जानकारी दिए।

ती सैन्य अधिकारी भन्छन्, ‘सेनापतिको नेतृत्वमा जाने व्यक्तिको चारित्रिक व्यवहार सूक्ष्म ढंगले हेर्न आवश्यक थियो। कूटनीतिक आचरण पनि हेर्नुपर्दथ्यो। तर केही पनि हेरिएन। दबाबमा परेपछि पन्छाउन नसकेर प्रधानसेनापति शर्माले विवादित व्यक्ति बढुवामा सिफारिस हुने गरी सूचना निकालिदिए। यो सूचना खराब व्यक्तिलाई नेतृत्वमा ल्याउनका लागि आएको  हो।’

सैनिक अधिकारीहरूका अनुसार पाण्डेमाथि कारबाही हुनुपर्छ भनेर बारम्बार आवाज उठे पनि उनी राजनीतिक पहुँचका आधारमा जोगिँदै आएका थिए। अहिले पनि उनले उपप्रधान तथा रक्षामन्त्री खड्कालाई खुसी पारेर र प्रधानसेनापति शर्मालाई पारिवारिक नातासम्बन्धबाट दबाबमा ल्याएर बढुवा गर्न खोजिएको सैन्य अधिकारीहरूको भनाइ छ। अर्का एक सैन्य अधिकारीले भने, ‘पाण्डेको नागरिकता दुई प्रकारको रहेकाले उनी दुई वर्षअघि नै सेवाबाट बिदा हुने व्यक्ति हुन्।’

सैनिक ऐनबमोजिम बढुवा सिफारिसका लागि सातदिने सूचना आवश्यक पर्छ। पाण्डेको बढुवा रोकी सैनिक ऐन तथा मुलुकी अपराध संहिताबमोजिम किर्तेमा कारबाही गर्न मागसहित जंगीअड्डामा उजुरी परेको छ। यस्तै  प्रधानसेनापतिको कार्यालय, बढुवा समिति, रक्षा र संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ। पाण्डेको नाम मन्त्रिपरिषदमा पुग्नुअगावै उजुरी परेको हो। उजुरीमा पाण्डेमाथि मुलुकी अपराध संहिता र सैनिक ऐन २०६३ बमोजिम किर्तेमा कारबाही गर्न माग गरिएको छ।

उमेर विवाद बाहिर नआउँदै उनले शक्तिकेन्द्रमार्फत आफ्नो बढुवाको निर्णय गराउन राजनीतिक नेतृत्वलाई दबाब बढाएका थिए। उनको उमेर किर्तेसम्बन्धी विवादबारे उपप्रधानमन्त्री तथा रक्षामन्त्री जानकार रहँदारहँदै सेनापतिलाई दबाब दिएको सैन्य स्रोतले बताएको छ। यसमा आर्थिक चलखेलको संलग्नता रहेको आशंकामा सेनाले अध्ययन थालेको छ।

उनले नागरिकता सच्याएको विषय बढुवा समितिमा परेपछि प्रधानसेनापति शर्मासमेत आश्चर्यमा परेको ती अधिकारीले बताए। असोज ३० गते सरोजप्रताप राणाको अवकाशपछि रिक्त हुन लागेको रथी पद केही समय खाली राखेर बढुवा प्रक्रिया अघि बढाउने तयारी थियो। तर माओवादी लडाकुबाट समायाेजन भई बढुवा हुँदै आएका यमबहादुर अधिकारीलाई सेनापति बनाउन लागेको हल्ला गराएर रक्षामन्त्री खड्काले सेनाप्रमुखमाथि दबाब दिई पाण्डे बढुवामा पर्ने गरी सिफारिस प्रक्रिया अघि बढाएको सैन्य अधिकारीहरूको बुझाइ छ।

ती सैन्य अधिकारीले भने, ‘बढुवा सिफारिसको सूचना राणा सेवा निवृत्त भएपछि निकाल्नुपर्ने थियो। सात दिन ढिला गरेको भए पाण्डे आफैँ पनि घर जाने थिए। तर पाण्डे अब स्वाभाविक रूपमा घर जान पाउने अवस्था छैन। उनी कारबाहीसहित उनी घर जानेछन्।’  यसअघि प्रधानसेनापति पूर्णचन्द्र थापाले लामो समय सूचना ननिकाल्दा दुवै जिम्मेवारी शर्माले सम्हाल्दै आएका थिए।

माओवादी उच्च स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सेनाभित्र यस्तो दबाब दिन नहुने र निर्णयका लागि प्रधानसेनापतिलाई छाडिदिनुपर्ने पक्षमा थिए। तर रक्षामन्त्री खड्काले आफ्नो भागमा परेको मन्त्रालयको अधिकार रहेको भन्दै जंगीअड्डालाई दबाब दिएका थिए। पाण्डेमाथि आफू रक्षामन्त्रीको नाता पर्ने भन्दै सैन्य अधिकारीलाई धम्क्याउने र त्रासमा राख्ने  गरेको आरोप छ।

यस्तो विषयमा विवाद हुँदा नेपाली सेनाले रक्षामन्त्रीलाई दोषी ठहर गर्ने गर्दछ। सेनाले कहिलेकाहीँ रक्षामन्त्रीलाई बाइपास गरेर राष्ट्रपति र प्रधानमन्त्रीको कुरा सुन्दै आएको उदाहरण पनि छ। यस विषयमा रक्षामन्त्रीले पनि ख्याल नगरेको अधिकारीहरू बताउँछन्। रक्षामन्त्रीको सबै कमजोरी सेनाको इन्टेलिजेन्टसँग हुन्छ। त्यो बाहिर आएमा रक्षामन्त्रीको राजनीतिक करिअर सकिन सक्छ भन्दै एक सैन्य अधिकारीले भने, ‘रक्षामन्त्री आफूलाई निकै स्मार्ट ठान्नुहुन्छ। सेना त्योभन्दा माथिल्लो निकाय हो भन्ने बुझ्नु हुन्न। हामीले व्यक्तिलाई होइन पदलाई सम्मान गर्ने हो।’

पाण्डेको नागरिकता विवाद के हो?

उपरथि पाण्डेको एसएलसी बोर्डदेखिकै प्रमाणपत्र, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्ममिति फरक रहेको भन्दै उजुरी परेको छ।  पाण्डेले २०४३ सालमा क्याडेट हुने समयमै दुई वर्ष उमेर घटाएर नागरिकता बनाएको यति बेला खुलेको हो। उनका अरू सरकारी कागजातमा अर्कै जन्ममिति छ। दुई प्रकारको जन्ममिति हुँदा जुनबाट छिटो बिदा हुने हो त्यो मान्य हुने चलन लोकसेवाको छ। कानुनले पनि त्यही विषयलाई पुष्टि गरिदिएको छ।

पाण्डेले २०२१ मघ १२ गतेको जन्ममितिलाई नागरिकता बनाउँदा २०२३ साल मंसिर १३ गतेको बनाएको खुलेको सैन्य स्रोतले बतायो। यसरी उमेर घटाएर जागिर खानेमध्ये पूणचन्द्र थापाको पालामा धेरै सैन्य अधिकृतले बिदा पाइसकेका थिए। तर पाण्डे बच्दै आएका छन्।

अघिल्ला प्रधानसेनापतिहरू गौरवशमजेर जबरा, राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापाको पालामा पनि यस्ता विवाद आउँदा जुन मिति जेठो छ सोही मितिमा अवकाशमा पठाइन्थ्यो।  कतिपय विवादचाहिँ मुद्दामा नगईकन राजीनामा दिएर बाहिरिएका घटना छन्। यस्तै कतिपयले मुद्दामा जाँदा सबै सेवासुविधा समेत गुमाएका उदाहरण छन्।

विगतमा दर्जन बढी उपरथि र सहायक रथिहरू शैक्षिक प्रमाणपत्र र नागरिकता मितिमा विवाद हुँदा जेठो मितिका अधारमा नै अवकाश भएका थिए। पाण्डेको हकमा पनि सोही नियम आकर्षित हुने सैन्य अधिकारीहरू बताउँछन्। प्रधानसेनापति शर्माले अध्ययन नगरी हतारमा सिफारिस गर्न सूचना निकालेको भनेर उनको आलोचना भएको छ। उनको सचिवालयले के हेर्‍यो भन्ने प्रश्न पनि उठेको छ।

सेनाका प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारी भने नागरिकता र शैक्षिक प्रमाणपत्रको उमेर फरक परेको भन्ने उजुरीबारे आफू जानकार नभएको र त्यो विषय समितिमा रहेको हुन सक्ने बताउँछन्। यद्यपि सेनाले चाहेमा त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयको गोप्य शाखाबाट अभिलेख मगाएर हेर्न सक्छ।

पाण्डेको विवादास्पद छवि

पाण्डे पटकपटक विवादमा पर्दै आएका छन्। उनीमाथि पछिल्लो पटक सोल्टी होटलमा आयोजित एक कार्यक्रममा काठमाडौँस्थित भारतीय दूतावासका सैनिक सहचारी अमित शर्मालाई अभद्र व्यवहार गरेको आरोप लागेको थियो। दूतावासले ज‌ंगी अड्डालाई आपत्ति पनि जनाएको थियो। तर शर्माले कारबाही नगरेकोमा दूतावास अझै रुष्ट छ।

एक कार्यक्रममा पाण्डेले शर्मालाई  ‘रेसिस्ट’ शब्दका साथ अपमानजनक व्यवहार गरेको सहभागी एक कूटनीतिज्ञले बताएका थिए। सेना सम्बद्ध कूटनीतिक कार्यक्रममा पाण्डेले अत्यधिक मदिरा सेवन गरेर जथाभाबी बोलेका थिए। त्यस क्रममा  हातपातसम्मको अवस्था आएको थियो। प्रधानसेनापति भारतमा जाँदा भारतीय समकक्षीले समेत त्यो  विषय उठाएका थिए भनेर शर्माले निकटस्थलाई सुनाएका थिए।

पाण्डे कमान्ड सञ्चालनमा पनि विवादमा परेर दुई पटक कारबाही भइसकेका व्यक्ति हुन्। यसरी कारबाहीमा परेको व्यक्तिलाई सेनाप्रमुख बनाउने चलन छैन। तर राजनीतिक हस्तक्षेपका कारण उनी सेनापति बन्ने नजिक पुगेका छन्। सेनाका एक अधिकारी भन्छन्, ‘सहकर्मी र जुनियर अधिकृतहरूलाई छाडा शब्दले गाली गर्नेमात्र होइन महिला अधिकृतहरूमाथि कुण्ठाग्रस्त व्यवहार गर्नु उहाँकाे बानी हो।’ पाण्डे युद्धकालमा बर्दियामा भएका सबैभन्दा बढी हत्या तथा सर्वसाधारण बेपत्ता पार्ने प्रकरणमा मुछिएका सैनिक हुन्।

प्रधानसेनापति शर्माको कमजोरीमा थप बल पुग्यो

प्रधानसेनापति कमजोर रहेको विषय चलिरहँदा अहिले पाण्डे प्रकरणले झन् त्यसलाई पुष्टि गरेको छ। राजनीतिक नेतृत्वसँग सिँगौरी नखेली विवादरहित बन्ने चाँजो मिलाएका भए पनि शर्मा विवादित भइसकेका छन्। बढुवा प्रकरण् होस् या अन्यमा उनी एक पछि अर्कोमा पर्दै आएका छन्। उमेरको विषय बाहिर नल्याउन रक्षामन्त्री खड्काले दबाब दिएको शर्मा निकट स्रोतले बतायो। म्याद थप भएको भए सरोजप्रताप राणाले थप चार महिना जागिर खान सक्थे जुन परम्परा पनि हो। रक्षामन्त्री खड्काको दबाबमा उनको म्याद थप भएन।

पाण्डेलाई बढुवा गर्न  रक्षामन्त्रीले ठूलै राजनीतिक खेलो फड्को गरेको सैन्य अधिकारीहरू बताउँछन्। ती अधिकारीले भने, ‘स्वाभाविक रूपमा छोडिदिएको भए शर्मापछि अशोक सिग्देल अबको प्रधानसेनापति हुने निश्चित थियो। तर उनी राजनीतिक नेतृत्वमा त्यति धाउँदैनन्। त्यसैले उनलाई गुमराहमा राखेर पाण्डेको टोली खेल्न खोजेको हो।’

प्रकाशित: ४ कार्तिक २०८० २३:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =