उपरथी पाण्डेको उमेर विवाद : छानबिन नै नगरी बढुवा सिफारिस गर्दै सेनापति शर्मा

हिमाल प्रेस २० कार्तिक २०८० ७:०९
148
SHARES
उपरथी पाण्डेको उमेर विवाद : छानबिन नै नगरी बढुवा सिफारिस गर्दै सेनापति शर्मा

काठमाडौँ- नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले किर्ते गरी उमेर सच्याएको आरोप लागेका उपरथी ताराध्वज पाण्डेलाई रथीमा बढुवा सिफारिस गर्ने पक्कापक्कीजस्तै भएको छ। पाण्डेले शैक्षिक प्रमाणपत्र र नागरिकता प्रमाणपत्रमा नाम सच्याएको विषयमा जंगीअड्डा र संसदीय समितिमा उजुरी परेको छ।

जंगीअड्डा पाण्डेको शैक्षिक र नागरिकता प्रमाणपत्रमा किर्ते गरेको विषय छानबिन नगरी बढुवा सिफारिस गर्ने निष्कर्षमा पुगेको एक उच्च सैन्य अधिकारीले जानकारी दिए। रथीमा बढुवा हुने व्यक्ति आगामी प्रधानसेनापति बन्ने भएकाले त्यसमा सबैको चासो देखिएको हो।

ती सैन्य अधिकारीका अनुसार प्रधानसेनापति शर्माले पाण्डेका विषयमा त्रिभुवन विश्वविद्यालयको एक पत्रलाई आधार बनाएर बढुवा प्रक्रिया अघि बढाउन लागेका छन्। पाण्डेको उमेरबारे सञ्चारमाध्यममा आएका विवरण झुटा भएको दाबी शर्माको छ।

जंगीअड्डाले पाण्डेको उमेर र शैक्षिक प्रमाणपत्रबारे त्रिविसँग जानकारी मागेको थियो। उमेरबारे जानकारी उपलब्ध गराउन भनिएकाले त्रिवि परीक्षा नियन्त्रण कार्यालयले सोही विवरण दिएको थियो। ‘त्रिविलाई पाण्डेको उमेरबारे जानकारी लिन भनी पठाइएको पत्रमा सच्चाएको उमेर आएको छ। कसरी सच्याएको वा केरमेट भएको भनेर लेखिएको छैन। यसमा छानबिन गर्नुपर्ने हुन्छ तर प्रधानसेनापति शर्मा त्यसतर्फ लागेको देखिएन’, ती सैन्य अधिकारीले भने। पाण्डेले उमेर सच्याएको विवाद २०७६ मै समाधान भइसकेकाले अहिले फेरि छानबिन गर्न नपर्ने पक्षमा प्रधानसेनापति शर्मा पुगेका हुन्।

जंगीअड्डाका उच्च अधिकारीहरूले बढुवाको सिफारिस गर्नुअघि केरमेट भएको शैक्षिक प्रमाणपत्र छानबिन गर्नुपर्ने सुझाव प्रधानसेनापति शर्मालाई दिँदै आएका छन्। मुलुकको सुरक्षाको मियो मानिएको र इतिहास बोकेको जंगी अड्डाले ख्यालठट्टाको शैलीमा निर्णय लिन नहुने उनीहरूको अडान छ।

सिफारिस गर्नुअघि प्रधानसेनापति शर्माको निजी सचिवालयले समेत पाण्डेले किर्ते गरेको विषयमा छानबिन गर्न आग्रह गरेको छ। ती सैन्य अधिकारीले भने, ‘परिवारभित्रका एकदुईबाहेक राम्ररी सोचेर निर्णय लिन भनिरहँदा पनि प्रधानसेनापति शर्मा  पहिल्यै छानबिन भएकोमा अडिग हुनुहुन्छ।’

शर्माले आफ्नो क्षेत्राधिकार भन्दै निर्णय लिने भएपछि जंगीअड्डामा केही अधिकारीहरू उनीसँग चिढिएका छन्। ती सैन्य अधिकारीले भने, ‘प्रधानसेनापतिलाई मातहतका निकायले गुमराहमा राखेको हुन सक्छ। यसमा हामी सजग छौँ।’ उनका अनुसार शर्माले त्रिविको पत्रसहित पाण्डेको बढुवा सिफारिस रक्षा मन्त्रालय पठाउन लागेका छन्।

प्रधानसेनापति शर्मा अध्यक्ष रहेको बढुवा समितिले सेनाको युद्धकार्य निर्देशनालयका महानिर्देशक पाण्डेलाई रथीमा बढुवाका लागि सिफारिस गर्न सूचना जारी गरेको थियो। त्यसमा उजुरी नपरेपछि अब प्रक्रियागत ढंगले अघि बढ्न लागेको जानकारी सेनापति शर्माले आफ्ना निकटस्थलाई सुनाएका छन्।

पाण्डे सेनाको वरीयतामा सबैभन्दा वरिष्ठतम् उपरथी हुन्। सिफारिस भएमा उनी रथीमा बढुवा हुने निश्चित छ। शर्माको योजना भाबी प्रधानसेनापतिका रूपमा पाण्डेलाई अघि बढाउने भएकाले यस विषयमा राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने कुरा सेनाभित्र उठ्न थालेको ती सैन्य अधिकारीले बताए।

पाण्डेको शैक्षिक प्रमाणपत्रमा केरमेट हुनु र उमेर सच्याएर जागिर खाएको आरोप लाग्दै आएको विषयमा उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्काले विशेष चासो लिएको उनको सचिवालयका एक सदस्यले बताए। मन्त्री खड्काले किर्ते आरोप लागेका व्यक्तिलाई आगामी प्रधानसेनापतिका लागि बाटो खुलाएमा आफू बदनाम बन्न सक्ने बताउँदै आएका छन्।

मन्त्री खड्का पाण्डेको उमेरका विषयमा स्पष्ट नभई प्रक्रिया अगाडि बढाउने पक्षमा छैनन्। शैक्षिक प्रमाणपत्रको प्रतिलिपि नभई सक्कल माग गरेर प्रहरीको रोहबरमा छानबिन गर्ने तयारी उनको छ।

पाण्डेको प्रमाणपत्रका विषयमा संसदीय समितिमा पनि छानबिन हुनेछ। त्यसमा स्पष्ट भएपछि मात्र मन्त्रिपरिषद्‌मा लैजाने योजना रक्षा मन्त्रालयको छ। धेरै विवादित भएकाले पाण्डेका विषयमा मन्त्रिपरिषद्ले छानबिन गर्न सक्ने एक मन्त्रीले बताए। ती मन्त्रीले भने, ‘पाण्डेको सर्टिफिकेट र नागरिकता परीक्षण हुनेछ। मन्त्रिपरिषद्‌मा पनि उनको नागरिकता छानबिनमा राख्ने गरी प्रक्रिया बढ्नेछ।’ ती मन्त्रीका अनुसार वरीयता नमिच्नु प्रधानसेनापतिको सकारात्मक पक्ष हो। उनको प्रश्न छ, ‘वरीयतामा बसेका व्यक्तिको छानबिन गरेर कतै दाग नलागेको मानिसलाई नेतृत्व सुम्पने गरी सिफारिस गर्छु भन्न सेनापति शर्मालाई केले रोकेको छ?’

पाण्डेपछि बढुवा हुने सूचीमा उपरथी अशोक सिग्देल छन्। दुवै सैन्य अधिकारी एकै ब्याजी हुन्। रथी सरोजप्रताप राणाको सेवाअवधि केही दिनअघि सकिएको छ। सोही कारण पाण्डे सिफारिस हुन लागेका हुन्। अर्का तीनतारे जर्नेल रथी सीताराम खड्काले पुस ३ गते अवकाश पाउनेछन्।

पाण्डे सेनाको सम्भाररथी, सैनिक गुप्तचर विभाग सम्हाल्दै अहिले सबैभन्दा शक्तिशाली मानिने अपरेसन विभाग प्रमुख छन्। सैनिक ऐनले रथी बढुवाका लागि सिफारिस गर्ने अधिकार प्रधानसेनापतिलाई दिएको छ। प्रधानसेनापतिले सिफारिस गरेपछि रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषद्ले बढुवाको अन्तिम निर्णय लिनेछ।

प्रधानसेनापति शर्मा आगामी भदौ २४ मा अवकाश जानेछन्। त्यसपछि अहिले बढुवा भएका रथीलाई प्रधानसेनापति बन्ने बाटो खुल्नेछ। सच्चाइएको नागरिकताअनुसार उपरथीको पाण्डेको पदावधि मंसिर २३ सम्म छ। सेनाको अर्को रथी पद पुस ३ मा मात्र रिक्त हुनेछ। उक्त पदमा उपरथी सिग्देल बढुवा हुनेछन्। तर अहिले छानबिन भएमा रोलक्रम परिवर्तन हुनेछ।

किर्ते गर्नेलाई सेनापति होइन, जेल पठाऊ

प्रकाशित: २० कार्तिक २०८० ७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =