गुटेरेसको लुम्बिनी भ्रमण प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा

विनोद परियार १३ कार्तिक २०८० ९:४८
10
SHARES
गुटेरेसको लुम्बिनी भ्रमण प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा लुम्बिनीमा महासचिव गुटेरेसो हेलिकप्टर अवतरण स्थलमा संकेत बनाइँदै। तस्बिर : विनोद परियार

लुम्बिनी- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरेसको लुम्बिनीमा हुने भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा हुने भएको छ। आइतबार नेपाल आएका गुटेरेस मंगलबार बिहान लुम्बिनी आउने भएका हुन्।

गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसंघका छैटौँ महासचिव हुन्। यसअघि लुम्बिनी आएका ५ जना महासचिवसँग प्रधानमन्त्री आएका थिएनन्। गुटेरेसको लुम्बिनी  भ्रमण प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा हुने भएकाले यसको महत्त्व बढ्ने कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बताए।

संयुक्त राष्ट्रसंघका महासचिवहरु ड्याग ह्यामसोल्डले सन् १९५९ मार्चमा, ऊ थान्तले सन् १९६७ अप्रिलमा, कर्ट वाल्डहिमले सन् १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कोयरले सन् १९८९ मार्चमा र सन् २००८ नोभेम्बरमा बान की मुनले लुम्बिनीको भ्रमण गरेका थिए। संयुक्त राष्ट्रसंघका महासचिवका रूपमा ऊ थान्तको लुम्बिनी भ्रमणलाई सबैभन्दा महत्त्वपूर्ण रूपमा लिइन्छ।

लामाले प्रधानमन्त्रीको उपस्थितिमा हुने महासचिवको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारमा सहयोग पुग्ने बताए। उनले लुम्बिनीको विकास र संवर्धनमा संयुक्त राष्ट्रसंघको भूमिकालाई आगामी दिनमा थप प्रगाढ बनाउनसमेत भ्रमण फलदायी हुने अपेक्षा गरेको बताए। उनले भने, ‘प्रधानमन्त्री प्रचण्डसँगै हुने महासचिव गुटेरेसको भ्रमणले बुद्धजन्मस्थल लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश पुग्नेछ।’

कोषले भ्रमणलाई व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी पूरा गरेको छ। कोषका तर्फबाट सम्पूर्ण तयारी गरिएको कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए। उनले नेपालले ऊ थान्तको समयमा संयुक्त राष्ट्र संंघको पहलमा सुरु भएको लुम्बिनी अन्तर्राष्ट्रिय सहयोग समितिमा संलग्न राष्ट्रहको बैठक वा सम्मेलनको आयोजनाका लागि समेत पुन: स्मरण गराइने बताए।

भ्रमणको तयारीबारे अनुगमन गर्दै लुम्बिनी विकास कोषका पदाधिकारी।

महासचिव गुटेरेस मंगलबार बिहान ८:३५ मा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने र त्यहाँबाट हेलिकप्टरमा ८:५० बजे लुम्बिनीमा आइपुग्ने कार्यक्रम रहेको सदस्य सचिव सानुराजा शाक्यले बताए। प्रधानमन्त्री प्रचण्ड काठमाडौँबाट लुम्बिनी आउने र महासचिव पोखराबाट गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी आउने गरी कार्यक्रम तय भएको छ। कोषका अनुसार गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षुभिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारू लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन्।

महासचिव गुटेरेसलाई लुम्बिनी विकास कोषका अध्यक्ष एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी, उपाध्यक्ष डा. ल्हारक्याल लामासहित उच्च सरकारी अधिकारीहरूले स्वागत गर्नेछन्।

गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्मस्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भको निरीक्षण र भ्रमण गर्ने कार्यसूची छ। उनलाई मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पुष्पकरणी पोखरीको छेउमा रहेको पीपलको रुखमुनि स्वागत गर्ने कार्यक्रम राखिएको छ। लुम्बिनीमा डेढ घन्टा बिताएपछि १०:३० बजे काठमाडौँ फर्कने गरी कार्यक्रम तालिका बनेको छ। कोषका तर्फबाट गुटेरेसलाई मायाको चिनो र अतिथि पुस्तकमा हस्ताक्षरपछि मिडियासँग महासचिव गुटेरेसले आफ्नो धारणा राख्ने कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए।

गुटेरेसको भ्रमण हुने भएपछि लुम्बिनीको चार नम्बर गेटबाट शान्तिदीप जाने बाटो कालोपत्रे गरिएको छ। लुम्बिनीभित्र सरसफाइ गरेर चिटिक्क पारिएको छ।
भ्रमणलाई लिएर सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुरक्षा समितिको बैठक बसेर आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताए।

शनिबार राति काठमाडौँ अवतरण भएका महासचिव गुटेरेसले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गरेका छन्। उनको सम्मानमा प्रधानमन्त्री प्रचण्डले आइतबार रात्रिभोज आयोजना गरेका थिए। आइतबार नै गुटेरेसले पाटन दरबार क्षेत्रको भ्रमण गरे। उनी सोमबार सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जाने कार्यक्रम छ।

यी हुन् लुम्बिनी भ्रमण गर्ने राष्ट्रसंघका महासचिवहरू

लुम्बिनीमा गुटेरेसको भ्रमण : विश्वशान्तिको सन्देश प्रवाह हुने अपेक्षा

प्रकाशित: १३ कार्तिक २०८० ९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 5 =