२५६८ औं बुद्धजयन्ती मनाउन लुम्बिनी विकास कोषलाई बजेट अभाव, एक सातासम्म मनाउन सुझाव

हिमाल प्रेस १७ वैशाख २०८१ १६:०२
138
SHARES
२५६८ औं बुद्धजयन्ती मनाउन लुम्बिनी विकास कोषलाई बजेट अभाव, एक सातासम्म मनाउन सुझाव

लुम्बिनी- प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमा दिन बुद्धजयन्ती एवं लुम्बिनी दिवस मनाउने गरिन्छ। संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा यसलाई भव्यताका साथ मनाउँदै आएको छ।

तर, आगामि जेठ १० गते परेको २५६८ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस बजेट अभावका कारण औपचारिकतामा मात्रै सिमित हुने देखिएको छ। संघीय सरकारले बुद्धजयन्तीका लागि प्रत्येक वर्ष छुट्याउँदै आएको बजेट कटौती भएपछि यो वर्ष बुद्धजयन्ती औपचारीकतामा सिमित हुने देखिएको हो।

संघीय सरकारले बार्षिक रुपमा १ देखि ४ करोडसम्म बुद्धजयन्तीका लागि बजेट छुट्याउने गरेकोमा आर्थिक वर्ष २०८१/८२ मा भने एक रुपैयाँ पनि बजेट छुट्याएको छैन। कोभिड महामारीपछि २०७९ सालमा २५६६ औं बुद्धजयन्ती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितीमा भव्यताका साथ मनाएको थियो। त्यतिखेर संघीय सरकारले ३ करोड बढि बजेट छुट्याएको थियो। तर यो वर्ष बजेट कटौती गरेपछि कोषले बुद्धजयन्ती सामान्य कार्यक्रम गरेर मात्रै मनाउनुपर्ने अवस्थामा पुगेको छ।

भगवान बुद्धको सबैभन्दा महत्वपूर्ण दिनका रुपमा बैशाख पूर्णिमालाई लिने गरिएको र विगतदेखि नै बुद्धजयन्तीलाई उत्सवका रुपमा मनाउने गरिएकोमा यो वर्ष संघीय सरकारले बजेट कटौती गर्दा त्यसले बुद्धजयन्ती मनाउन कठिन देखिएको लुम्बिनी विकास कोषका योजना प्रमुख स्मिता भट्टले बताइन्।

उनले कोषका तर्फबाट व्यवस्थापन गर्ने तयारी भएपनि संघीय सरकारले बजेट नदिदा भव्य बनाउन कठिन हुने बताइन्। लुम्बिनी विकास कोषले प्रशासनिक र अन्य विकासका कामहरू समेत पर्यटकहरूको दान एंव प्रवेश शुल्कको टिकटबाट प्राप्त हुने आम्दानीबाट हुँदै आएको छ। कोषको आन्तरीक आम्दानीले कर्मचारीको तलब र कार्यालय व्यवस्थापनमा खर्च हुने भएकाले सरकारले बजेट नदिए २५६८ औं बुद्धजयन्ती पूर्ण रुपमा प्रभावित हुन सक्ने कोषले जनाएको छ।

कोभिड अगाडि संघीय सरकारको बिशेष चासो र प्राथमिकतामा बुद्धजयन्ती र लुम्बिनी दिवस पर्ने गरेकोमा पछिल्ला दिनहरूमा त्यस्तो नदेखिएको स्थानीय व्यवसायीहरूको भनाई छ। लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बुद्धजयन्तीलाई सरकारले राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने बताए। संघीय सरकार अन्तर्गत रहेको संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुद्धजयन्तीका बेलामा ५० लाख १ करोड नभई पर्याप्त बजेट छुट्याएर मनाउनुपर्ने उनको सुझाव छ।

बुद्धजयन्ती एक दिनका लागि मात्रै नभई कम्तीमा एक हप्तासम्म मनाउनुपर्ने उनले बताए। ‘बुद्धिष्ट देशका राजदूत, कुटनितिक नियोगका प्रमुख, विदेशी पाहुनाहरू ल्याएर मनाउनुपर्छ’ उनले भने –‘झारा टार्ने गरी मनाउनु हुँदैन।’ उनले साँच्चिकै लुम्बिनीमा बुद्ध जन्मेको हो भनेर छाप छोड्ने गरी बुद्धजयन्ती मनाउनुपर्नेमा त्यसो हुन नसकेको बताए।

विश्वभरका बौद्धधर्माम्बलम्बीहरूलाई बुद्धजयन्तीमा लुम्बिनी आउने वातावरणका लागि सरकारले पर्याप्त बजेट छुट्याएर भव्य कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ। बुद्धजयन्तीमा विदेशी पाहुनाहरू आउँदा त्यसले स्थानीय होटल व्यवसायीहरूलाई पनि चलायमान बनाउने बताए। बुद्धजयन्तीमा स्थानीयहरूलाई जोडेर, प्रदेश स्थानीय र संघस्य सरकारले संयुक्त रुपमा मनाउन सके त्यसले राम्रो सन्देश दिने अध्यक्ष ज्ञवालीले बताए।

जेठ १० गतेको बुद्धजयन्तीका लागि लुम्बिनी विकास कोषले बजेट अभावकै कारण मूल आयोजक समिति गठन गर्ने वाहेक अन्य तयारी गरेको छैन। कोषले २५६८ औं बुद्धजयन्तीका लागि ५६८ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। बुद्धजन्मस्थल लुम्बिनी आएका तीर्थालुहरूले समेत बुद्धजयन्ती तथा लुम्बिनी दिवसको कुनै तयारी नदेख्दा आश्चर्य प्रकट गरेका छन्।

पक्लिहवा कृषि क्याम्पस भैरहवामा अध्ययनरत दाङका नरेश उपाध्यायले तीन सातापछि हुने बुद्धजयन्तीको कुनै पनि तयारी नदेखिदा अचम्म लागेको बताए। उनले बुद्धको जन्मजयन्तीमा विश्वभरका बौद्धमार्गीहरूलाई लुम्बिनी आउने वातावरण बनाउनुपर्ने सुझाव दिए। ‘केही वर्षअघि छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत आएर बुद्धजयन्ती मनाईएको थियो। अब पनि त्यस्तै अन्र्तराष्ट्रिय उच्च ओहोदाका व्यक्ति, विदेशी कुटनितिक निकायका प्रतिनिधि एंव विश्वभारका बौद्धिष्टहरूलाई ल्याउन सके त्यसले लुम्बिनीलाई थप उचाइमा पुर्‍याउन सहयोग गर्थ्यो’ उनले भने।

बुद्धजन्मस्थल लुम्बिनी आफैमा नेपालको सम्पत्ति भएकाले यसको विश्वव्यापी प्रचारका लागि बुद्धजयन्तीलाई अवसरका रुपमा लिनुपर्नेमा त्यसो नभएकोमा अर्घाखाँचीकी बसन्ता विश्वकर्माले चिन्ता व्यक्त गरिन। विश्भर नेपाल चिनाउने बुद्ध भएकाले आउँदै गरेको बुद्धजयन्तीलाई सरकारले औपचारीक रुपमा सार्वजनिक विदा दिएर मात्रै मनाउन नहुने बताइन्।

२ बर्षअघि भारतीय प्रधानमन्त्रीको उपस्थितीमा भव्यताका साथ मनाउँदा त्यसले लुम्बिनीको प्रचार-प्रसारलाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग गरेको थियो। बुद्धपूर्णिमालाई नेपाल सहित बौद्ध राष्ट्रहरू भुटान, थाइल्याण्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलङका, लाओसमा राजकीय सम्मानका साथ मनाउँछन्। यस्तै नेपालसहित चीन भारत युरोप लगायतका देशहरूमा सम्मानको साथ मनाउने गरिएको छ।

गौतम बुद्धको जन्मभूमि नेपाल रहेकाले यहाँ बुद्धजयन्तीलाई विशेष उत्सव र नेपालको पर्वका रुपमा मनाउनुपर्ने सारोकारवालाहरूको माग छ। लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न. ३ का वडाअध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले सरकारले बुद्धजयन्तीमा स्थानीयहरूलाई समेत जोडेर राष्ट्रिय उत्सवका रुपमा मनाउनुपर्ने बताउँछन्। उनले बुद्धजयन्तीलाई बुद्धका सन्देशहरू र दर्शन बुझ्ने र लुम्बिनीको प्रचार विश्वव्यापी बनाउने गरी मनाउनुपर्ने बताए।

नेपामा तत्कालिन राजा त्रिभुवनले वि.स.२००६ साल जेठ ८ गतेदेखि सरकारी तवरबाट मान्याता दिए पछि नेपालमा रहेको लाखौ बौद्धमार्गी नेपालीले बुद्धजयन्ती मनाउन थालेका हुन्। लुम्बिनीमा वि.स. २०५५ मा ऐतिहासिक प्रथम विश्व बौद्ध शिखर सम्मेलन भएपछि बुद्धजयन्तीकै दिन सरकारले लुम्बिनी दिवश पनि मानाउन थालेको हो।

विभिन्न बौद्ध मुलुकहरूको विशेष पहलमा १९९९ देखि संयुक्त राष्ट्रसंघसमेत अन्तराष्ट्रिय रुपमै बुद्धजयन्तीलाई मान्यता प्रदान गरी सो दिनमा विश्वभर रहेका आफ्ना सबै कार्यालयहरूमा बुद्धजयन्ती मनाउन बिदा दिँदै आएको छ।

प्रकाशित: १७ वैशाख २०८१ १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twenty =