बालविकास शिक्षा सुधारको माग गर्दै समाजवादी विद्यार्थी युनियनले लेख्यो शिक्षामन्त्रीलाई खुल्ला पत्र

हिमाल प्रेस २९ वैशाख २०८१ १६:२२
8.7k
SHARES
बालविकास शिक्षा सुधारको माग गर्दै समाजवादी विद्यार्थी युनियनले लेख्यो शिक्षामन्त्रीलाई खुल्ला पत्र

काठमाडाैँ- नेपाल समाजवादी विद्यार्थी युनियनले प्रारम्भिक बालविकास (ECD) सुधारसम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई खुल्ला पत्र लेखेकाे छ। युनियनका अध्यक्ष नेत्र चापागाँईले बिहीबार उक्त पत्र लेख्दै प्रारम्भिक बालविकास सुधार, केन्द्रमा कार्यरत सहजकर्ताहरूको पेसागत सेवासुविधालगायतका विषयमा  शिक्षामन्त्री श्रेष्ठकाे ध्यानाकर्षण गराएका हुन्।

पत्रमा भनिएकाे छ,‘नजिकिँदै गरेको बजेट अधिवेशनको पूर्वसन्ध्यामा शिक्षासँग सम्बन्धित विद्यालय शिक्षा ऐन यति बेला संघीय संसदमा छलफलमा छ। यो खुल्लापत्रमार्फत विशेष गरी प्रारम्भिक बालविकास (ECD) सम्बन्धी समस्या र समाधानसहित तपाईँको गम्भीर ध्यानाकर्षण गर्दछौँ।’

त्यसैगरी युनियनका अध्यक्ष चापागाँईले प्रारम्भिक बालविकास अत्यन्त संवेदनशील ठाउँ भएकाे पत्रमा उल्लेख गर्दै त्यहाँ अध्यापन गराउने शिक्षक अत्यन्त न्यूनपारिश्रमिकसहित न्यून योग्यताकाे भएकाे र  यसै आर्थिक वर्षबाट कम्तिमा स्नातक योग्यता कायम गरी योग्यतानुसारको तलब, सुविधा र बालमनोविज्ञान, केयर गिभर, मन्टेश्वरीसम्बन्धी तालिमको व्यवस्था गर्न  माग  गरेका छन्।

उनले  विद्यालयमा भएको कक्षाकोठा बालमैत्री नभएकाे, पर्याप्त सिकाई सामाग्री, खेल सामाग्री र उपयुक्त पाठ्यक्रम पनि नभएकाे उल्लेख गर्दै  चालु आर्थिक वर्षबाट बाल शिक्षालाई भौतिक संरचनादेखि सम्पूर्ण सामग्री र उपयुक्त पाठ्यक्रमको लागि बजेट विनियोजन तथा नीति र कार्यविधि निर्माण गर्न आग्रह गरेका छन्।

यस्तो छ खुल्ला पत्र

प्रारम्भिक बाल विकास (ECD) सुधार सम्बन्धी शिक्षामन्त्रीलाई खुल्ला पत्र ।
माननीय शिक्षामन्त्री ज्यु नमस्कार !
सर्वप्रथम यहाँको सफल कार्यकालको शुभकामना सहित नजिकिँदै गरेको बजेट अधिवेशनको पूर्वसन्ध्यामा शिक्षासँग सम्बन्धित विद्यालय शिक्षा ऐन यति बेला संघीय संसदमा छलफलमा छ । यो खुल्लापत्र मार्फत विशेष गरि प्रारम्भिक बाल विकास (ECD) सम्बन्धि समस्या र समाधान सहित तपाईको गम्भिर ध्यानाकर्षण गर्दछौँ ।
१. हाल सरकारले सञ्चालनमा ल्याएको प्रारम्भिक बाल विकास (ECD) जम्मा एक तहको छ । त्यसै गरी नेपाल सरकारले नै नीजि विद्यालयहरुलाई चार तहः Play group, Nursery, LKG, UKG लाई मान्यता दिएको छ। यो नितीगत गम्भिर कमजोरी भयो । यसलाई बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय कानुन, नजिर र देशको अवस्था हेरेर नीतिगत रुपमा नै सच्चाएर कम्तिमा तिन तहको प्रारम्भिक बाल विकास (ECD) व्यवस्था गर्न तपाईंको ध्यानाकर्षण गराउँदछौ ।
सेवा,
२. प्रारम्भिक बाल विकास (ECD) अत्यन्त संवेदनशिल ठाउँ हो तर त्यहाँ आज अध्यापन गराउने शिक्षक/ शिक्षिका अत्यन्त न्युन पारिश्रमिक सहित न्युन योग्यताका हुनुहुन्छ । यो आर्थिक वर्षबाट कम्तिमा स्नातक योग्यता कायम गरि योग्यतानुसारको तलब, सुविधा र बालमनोविज्ञान, केयर गिभर, मन्टेश्वरी सम्बन्धी तालिमको व्यवस्था गर्न हामी जोडदार माग गर्दछौं ।
३. बालबालिकाको सिकाई भनेको खेलाई पनि हो । आज हाम्रो विद्यालयमा भएको कक्षा कोठा बालमैत्री छैनन्। पर्याप्त सिकाई सामाग्री, खेल सामाग्री र उपयुक्त पाठ्यक्रम पनि छैन । त्यसैले यो आर्थिक वर्षबाट बाल शिक्षालाई भौतिक संरचना देखि सम्पूर्ण सामाग्री र उपयुक्त पाठ्यक्रमको लागि बजेट विनियोजन तथा नीति र कार्यविधि निर्माण गरियोस ।
४. विद्यार्थी खाजा कार्यक्रम अत्यन्त राम्रो कार्यक्रम हो तर आज बजारको महङ्गीले आकास हुँदा पनि जम्मा रु.१५ खाजा खर्च अत्यन्त न्युन भएको हुँदा यस बजेटमा एक विद्यार्थी बराबर न्युनतम रु.५० खाजा खर्चको व्यवस्था गर्न हामी जोडदार माग गर्दछौँ ।
५. यस्ता सामान्य समस्या लिएर सरकार सँग नागरिकहरु सम्बन्धित निकायमा जाँदा स्थानीय तहले प्रदेश देखाउने, प्रदेशले केन्द्र देखाउने र केन्द्रले स्थानीय तह देखाउने समस्या भएको हुँदा तिन तहको सरकारको क्षेत्रधिकार स्पष्ट पारियोस ।
६. सरकारले, विद्यालयमा खाना पकाउने/ खुवाउने सामाग्री देखी कर्मचारी / सहयोगी शिक्षकको व्यवस्था यही आर्थिक वर्षबाट गर्न जोडदार माग गर्दछौं ।
हामीलाई विश्वास छ यी अवोध बालबालिका बोल्न सक्दैनन् त्यसैले आजसम्म धुलोमा बसे, हात थापेर खाए, तपाई शिक्षा मन्त्री हुँदा पक्कै यो विषय सम्बोधन हुनेछ भन्ने हामीलाई विश्वास छ, तर वार्षिक बजेट तथा निति कार्यक्रमको छलफल हुँदै गरेको अवस्थामा यी माग सम्बोधन नभएसम्म हामी निरन्तर सडकमा उभिएर नागरिकको आवाज बुलन्द गर्नेछौं । हामीलाई विस्वास छ, हाम्रो संघर्षले तपाईको शिक्षा सुधार गर्ने हुटहुटीमा थप बल पुग्ने छ ।
धन्यवाद !
नेत्र चापागाँई
केन्द्रीय अध्यक्ष
नेपाल समाजवादी विद्यार्थी युनीयन
२८ वैशाख, २०८१


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =