लुम्बिनीमा गुटेरेसको भ्रमण : विश्वशान्तिको सन्देश प्रवाह हुने अपेक्षा

विनोद परियार १२ कार्तिक २०८० ११:५५
14
SHARES
लुम्बिनीमा गुटेरेसको भ्रमण : विश्वशान्तिको सन्देश प्रवाह हुने अपेक्षा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको तयारीका लागि लुम्बिनीमा सरोकारवालासँग गरिएको छलफल। तस्बिर : हिमाल प्रेस

लुम्बिनी- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई मंगलबार लुम्बिनीमा स्वागतका लागि तयारी गरिएको छ। लुम्बिनी विकास कोषले महासचिव गुटेरेसको लुम्बिनी भ्रमणलाई अवसरका रूपमा लिँदै ऐतिहासिक बनाउने गरी तयारी थालेको हो।

कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले महासचिवको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारको अवसर हुने र आगामी दिनमा लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघको योगदानको खोजी गर्न सकिने बताए।

‘महासचिव आउनु नै हाम्रा लागि गौरवको विषय हो, गुटेरेसको भ्रमणले विश्वव्यापी रूपमा बुद्ध र लुम्बिनीको प्रचार हुन्छ’, उनले भने। महासचिवलाई बुद्धजन्मस्थलमा भव्यताका साथ स्वागत गर्दै विश्वशान्तिको सन्देश दिने सक्ने गरी तयारी गरेको उपाध्यक्ष डा. लामाले बताए।

लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्रसंघको भूमिका निकै महत्त्वपूर्ण रहेको बताउँदै लामाले भ्रमणले लुम्बिनीको विकास र सम्बद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

‘प्रधानमन्त्रीज्यूको निमन्त्रणामा नेपाल आउनुभएका महासचिवको लुम्बिनी भ्रमण हाम्रा लागि मात्रै नभई नेपालकै लागि गौरव हो। उहाँले यहाँबाट विश्वशान्तिका लागि सन्देश पनि दिनुहुनेछ’ उपाध्यक्ष डा. लामाले भने। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत विशेष अनुरोध गरेकाले महासचिव गुटेरेससँगै लुम्बिनी आउने गरी कार्यक्रम तय भएको जानकारी दिए।

गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनीको विश्वव्यापी प्रचारका साथै लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्रसंघसँगको सहकार्य थप मजबुत हुने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताए। उनले नेपालले राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तको समयमा संयुक्त राष्ट्रसंंघको पहलमा सुरु भएको लुम्बिनी अन्तर्राष्ट्रिय सहयोग समितिमा संलग्न राष्ट्रहरूको बैठक वा सम्मेलनको आयोजनाका लागि समेत पुनःस्मरण गराइने बताए।

बृहत्तर लुम्बिनीको विकासमा कोरियाली प्रोफेसर क्वाक योंग हुमले तयार गरेको विश्वशान्ति सहरको परिकल्पनामा आधारित गुरुयोजनासमेतलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसंघको सहयोग र सद्भावका लागि महासचिवको भ्रमण फलदायी हुने उनले बताए।

मन्त्रीले स्वागत गर्ने

कोषले परराष्ट्र मन्त्रालयले पठाएको कार्यतालिकाअनुसार मंगलबार (१४ गते) महासचिव गुटेरेसको भ्रमण गराउने गरी तयारी थालेको हो। महासचिव गुटेरेसलाई लुम्बिनी विकास कोषका अध्यक्ष एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, मुख्यमन्त्री डिल्ली चौधरी, उपाध्यक्ष डा. ल्हारक्याल लामासहित सरकारी उच्च अधिकारीहरूले स्वागत गर्नेछन्।  बिहान ९ देखि १०ः३० सम्म गुटेरेसले लुम्बिनीमा बिताउने कार्यक्रम तालिका छ। गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सँगै लिएर आउनेछन्।

महासचिव गुटेरेस मंगलबार विहान ८ः३५ मा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने र त्यहाँबाट हेलिकप्टरमा बिहान ८:५० बजे लुम्बिनीमा आइपुग्नेछन्। गुटेरेसलाई हेलिप्याडबाट गाडीमा चार नम्बर गेट हुँदै शान्तिदीपमा लगिनेछ ।

लामाका अनुसार गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन्।

गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भ निरीक्षणपछि पीपलको रूखमुनि स्वागत गर्ने कार्यक्रम राखिएको छ। लुम्बिनीमा डेढ घन्टा बिताएपछि महासचिव गुटेरेस १०ः ३० बजे काठमाडौँ फर्कने गरी कार्यक्रम तालिका बनेको छ।

सुरक्षाको प्रबन्ध नेपाली सेनाले गरेको छ। महासचिवको भ्रमणलाई लिएर कोषले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको योजना प्रमुुख सरोज भट्टराईले बताए। उनले सरसफाइ, स्वागत सत्कार र अन्य आवश्यक कामहरू तयारी अवस्थामा रहेको बताए।

कोषका तर्फबाट गुटेरेसलाई मायाको चिनो र अतिथि पुस्तकमा हस्ताक्षरपछि मिडियासँग महासचिव गुटेरेसले बिफ्रिङ गर्ने कार्यक्रम तय गरिएको कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए। उनले भ्रमण लुम्बिनीका लागि अवसर र गौरव भएकाले सबैको सहयोग आवश्यक रहेको बताए। कोषले शनिबार स्थानीय नगरपालिकासहित सरोकारवालासँग तयारी बैठक गरेको थियो। बैठकमा महासचिव गुटेरेसको भ्रमणलाई कसरी ऐतिहासिक बनाउन सकिन्छ भन्नेबारे छलफल भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =