काठमाडौँ- चालु आर्थिक वर्ष २०८३/२०८४ को पहिलो त्रैमासमा नेपालका २० वाणिज्य बैंकको खुद नाफा ४५.५९ प्रतिशतले बढेको छ।
बैंकहरूको पहिलो त्रैमासिक वित्तीय विवरणको अध्ययनअनुसार ‘क’ वर्गका बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १९ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। गत आर्थिक वर्ष २०८२/२०८३ को सोही अवधिमा ती बैंकको खुद नाफा १३ अर्ब १५ करोड रुपैयाँ थियो।
२० मध्ये १६ बैंकको खुद नाफा बढेको छ भने एउटा बैंक घाटाबाट नाफामा फर्किएको छ। तीन बैंकको भने खुद नाफा घटेको छ।
बैंकहरूको नाफामा उल्लेख्य वृद्धि भए पनि ब्याज आम्दानी भने ०.९७ प्रतिशतले मात्रै बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ४९ अर्ब २० करोड रुपैयाँ रहेको वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी समीक्षा अवधिमा बढेर ४९ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।
ब्याज आम्दानीको वृद्धि सुस्त रहे पनि बैंकहरूको खुद नाफामा भएको सुधारले बैंकहरूको नाफा वृद्धिको मुख्य आधार कर्जा नोक्सानी व्यवस्थाबापतको रकम घट्नु रहेको देखाउँछ। गत आर्थिक वर्षमा सम्भावित कर्जा नोक्सानीको जोखिम व्यवस्थापनका लागि ठूलो रकम छुट्याएका बैंकहरूले खराब कर्जा असुलीमा सुधार भएपछि समीक्षा अवधिमा यस्तो व्यवस्थाबापतको रकम घटाएका हुन्।
तथ्यांकअनुसार समीक्षा अवधिमा बैंकहरूको कर्जा नोक्सानी व्यवस्थाबापतको खर्च ४४.९ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस प्रयोजनका लागि २० अर्ब १४ करोड रुपैयाँ छुट्याएका बैंकहरूले चालु आर्थिक वर्षको समीक्षा अवधिमा ११ अर्ब नौ करोड रुपैयाँ मात्रै छुट्याएका छन्।
पहिलो त्रैमासमा नबिल बैंकले सबैभन्दा बढी दुई अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको सोही अवधिको एक अर्ब ७६ करोड रुपैयाँको तुलनामा ४५.४२ प्रतिशत बढी हो।
ग्लोबल आईएमई बैंकले दुई अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाउँदै दोस्रो स्थान हासिल गरेको छ। गत वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा एक अर्ब ८६ करोड रुपैयाँ थियो। यस वर्ष नाफा २४.४८ प्रतिशतले बढेको हो।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा १७५.५३ प्रतिशतले बढेर एक अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। त्यसपछि एभरेस्ट बैंकले एक अर्ब २५ करोड र प्राइम कमर्सियल बैंकले एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।
प्रतिशतका आधारमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) र कृषि विकास बैंकको नाफा सबैभन्दा धेरै बढेको छ। एनआईएमबीको खुद नाफा दुई हजार ५१९.५१ प्रतिशतले बढेर एक अर्ब १८ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकले चार करोड ५१ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो।
कृषि विकास बैंकको खुद नाफा ५७ लाख रुपैयाँबाट बढेर १० करोड ९२ लाख रुपैयाँ पुगेको छ। यो १ हजार ८१५.७९ प्रतिशतको वृद्धि हो।
सिद्धार्थ बैंकको खुद नाफा १६२.७६ प्रतिशतले बढेर ८५ करोड १६ लाख रुपैयाँ पुगेको छ। सानिमा बैंकको नाफा १३१.१५ प्रतिशतले बढेर एक अर्ब पाँच करोड रुपैयाँ पुगेको छ भने लक्ष्मी सनराइज बैंकको नाफा ९६.६३ प्रतिशतले बढेर ६५ करोड ३४ लाख रुपैयाँ पुगेको छ।
नेपाल बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक र एनआईसी एसिया बैंकले पनि खुद नाफा बढाएका छन्।
तीन बैंकको नाफा भने घटेको छ। प्राइम कमर्सियल बैंकको खुद नाफा ५.६२ प्रतिशत, हिमालयन बैंकको ६.८४ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको तीन प्रतिशतले घटेको छ।
सिटिजन्स बैंक इन्टरनेसनल भने घाटाबाट नाफामा फर्किएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड चार लाख रुपैयाँ घाटा व्यहोरेको बैंकले चालु आर्थिक वर्षको समीक्षा अवधिमा १० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।



