डेभिड मिलर एनपीएल खेल्न नेपाल आइपुगे

हिमाल प्रेस १८ कार्तिक २०८३ १०:१३ | Wednesday, November 4, 2026
8
SHARES
डेभिड मिलर एनपीएल खेल्न नेपाल आइपुगे

काठमाडौँ- दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् ।

कर्णाली याक्सबाट खेल्न लागेका मिलर बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलमा उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिहरूले स्वागत गरेका थिए।

३७ वर्षीय बायाँहाते मध्यक्रमका ब्याटर मिलरले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीसँगै विश्वका विभिन्न चर्चित फ्रेन्चाइज लिगमा आफ्नो प्रभाव जमाएका छन्। उनले भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग बास लिग र पाकिस्तान प्रिमियर लिगलगायत प्रतियोगिता खेलिसकेका छन्।

आईपीएलमा उनले दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किङ्स इलेभेन पञ्जाब र गुजरात टाइटन्सबाट खेलेका थिए। सन् २०२२ मा गुजरात टाइटन्सले पहिलो पटक आईपीएल उपाधि जित्दा मिलर टोलीका महत्त्वपूर्ण खेलाडी थिए।

दक्षिण अफ्रिकाका लागि १४० टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका मिलरले २ हजार ८०४ रन बनाएका छन्। यस क्रममा उनले दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन्। भारत र बंगलादेशविरुद्ध उनले टी-२० अन्तर्राष्ट्रिय करियरका शतक बनाएका थिए।

समग्र टी-२० करियरमा भने मिलरले ५८४ खेलबाट १२ हजार ४३५ रन बनाएका छन्। उनले चार शतक र ५३ अर्धशतक प्रहार गरेका छन्।

मिलरले सन् २०१७ मा बंगलादेशविरुद्ध मात्र ३५ बलमा शतक प्रहार गर्दै कीर्तिमान बनाएका थिए। त्यस्तै, आईपीएलमा पञ्जाबबाट खेल्दै रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ३८ बलमा शतक प्रहार गरेका थिए।

जारी एनपीएलमा कर्णाली याक्सले अहिलेसम्म तीन खेल खेलेको छ। दुई खेलमा जित निकालेको कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रन र दोस्रो खेलमा विराटनगरलाई चार विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने काठमाडौँ गोर्खाजसँग चार विकेटले हारेको थियो।

कर्णालीले अब शुक्रबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित: १८ कार्तिक २०८३ १०:१३ | Wednesday, November 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast