अमेरिकामा मध्यावधि निर्वाचन : नतिजा कहिलेसम्म आउँछ र मतगणना कसरी हुन्छ?

हिमाल प्रेस १८ कार्तिक २०८३ ९:३४ | Wednesday, November 4, 2026
8
SHARES
अमेरिकामा मध्यावधि निर्वाचन : नतिजा कहिलेसम्म आउँछ र मतगणना कसरी हुन्छ? अमेरिकाको फ्लोरिडा राज्यको वेस्ट पाम बिचस्थित मतदान स्थलमा मंगलबार मतदान गर्न लामबद्ध मतदाता। तस्बिर: एपी/रासस

काठमाडौँ- अमेरिकामा भइरहेको मध्यावधि निर्वाचनको नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी समय कस्तो रहनेछ भन्ने निर्धारण गर्नेछ।

निर्वाचनको नतिजाले अमेरिकी संसद् (कंग्रेस) मा कुन दलको नियन्त्रण रहने भन्ने पनि तय गर्नेछ- ट्रम्पको रिपब्लिकन पार्टी वा विपक्षी डेमोक्रेटिक पार्टी।

निर्वाचनको अन्तिम नतिजा आउन केही घण्टा, केही दिन वा कहिलेकाहीँ हप्तौँ पनि लाग्न सक्छ।

अमेरिकी कंग्रेसका दुई सदन छन्। तल्लो सदनलाई प्रतिनिधिसभा (हाउस अफ रिप्रिजेन्टेटिभ्स) र माथिल्लो सदनलाई सिनेट भनिन्छ।

प्रतिनिधिसभामा बहुमत हासिल गर्न कुनै दलले २१८ सिट जित्नुपर्छ। सिनेटमा स्पष्ट बहुमतका लागि ५१ सिट आवश्यक हुन्छ।

सिनेटमा दुवै दलका ५०–५० सिट भएमा उपराष्ट्रपतिले बराबरीको अवस्थामा निर्णायक मत दिन पाउँछन्। यसबाट उपराष्ट्रपति आबद्ध दलले सिनेटमाथि नियन्त्रण कायम गर्न सक्छ।

सुरुवाती नतिजाले समग्र निर्वाचनको चित्र स्पष्ट पार्ने छैन। कडा प्रतिस्पर्धा भइरहेका निर्वाचन क्षेत्रहरूको नतिजाले ट्रम्पका लागि निर्वाचनको दिशा कता मोडिँदै छ भन्ने संकेत गर्नेछ।

सिनेटका केही सिटमा कडा प्रतिस्पर्धा छ। ती सिटको नतिजाले मतदाताको रुझान कुन दलतर्फ छ भन्ने प्रारम्भिक संकेत दिन सक्छ।

अमेरिकी सञ्चारमाध्यमहरूले केही महत्त्वपूर्ण निर्वाचन क्षेत्रमा जितको अनुमान सार्वजनिक गरेका छन्। त्यसका लागि उनीहरूले मतगणना पूरा हुनुअघि नै कुनै राज्यमा कुन दल वा उम्मेदवार निर्वाचित हुन्छ भन्ने अनुमान गर्न सकिने नमुना प्रयोग गर्छन्।

कुनै दल वा उम्मेदवारले यस्तो अग्रता हासिल गरेको छ, जसलाई अर्को उम्मेदवारले उछिन्न सम्भव छैन भन्ने लागेपछि सञ्चारमाध्यमले जितको अनुमान सार्वजनिक गर्छन्।

प्रतिस्पर्धा निकै कडा भएका राज्यमा सञ्चारमाध्यमलाई नतिजाको अनुमान सार्वजनिक गर्न धेरै समय लाग्न सक्छ।

निर्वाचनको पूर्ण नतिजा आउन कति समय लाग्छ भन्ने कुरा प्रतिस्पर्धा कति कडा छ र कुन निर्वाचन क्षेत्रको नतिजा निर्णायक हुन्छ भन्नेमा निर्भर रहन्छ।

मतगणना कसरी हुन्छ?

अमेरिकाका प्रत्येक राज्यमा निर्वाचन गराउने जिम्मेवारी त्यहाँको प्रशासनको हुन्छ। प्रत्येक राज्यमा मतगणना गर्ने र त्यसलाई अभिलेख राख्ने आआफ्नै नियम छन्।

फ्लोरिडाजस्ता केही राज्यमा निर्वाचनको दिनभन्दा अगाडि नै प्रारम्भिक र हुलाकमार्फत प्राप्त मतपत्रको प्रक्रिया सुरु गरिन्छ। केही राज्यमा नोभेम्बर ३ कै दिन मतगणना सुरु हुन्छ।

स्थानीय निर्वाचन अधिकारीहरूले प्रत्येक मतको जाँच गर्छन्, त्यसलाई प्रक्रियामा लैजान्छन् र गणना गर्छन्। यो सम्पूर्ण प्रक्रियालाई ‘क्यानभासिङ’ भनिन्छ।

धेरैजसो राज्यमा निर्वाचनपछि लेखापरीक्षण गर्नुपर्ने व्यवस्था छ। यस क्रममा मेसिनबाट गरिएको मतगणनालाई मतपत्रको हातैले गरिएको गणनासँग भिडाइन्छ।

यद्यपि यसको नियम राज्यअनुसार भिन्न हुन्छ। सामान्यतया पुनः मतगणना गर्नुपर्ने अवस्था आएमा मात्रै सबै मत हातैले गनिन्छ।

प्रत्येक राज्य र स्थानीय प्रशासनका आफ्नै नियम छन्। ती नियमले मतपत्र जाँच्ने र गणना गर्ने प्रक्रियामा को सहभागी हुन पाउने, कुन क्रममा मतगणना हुने र प्रक्रियाका कुन–कुन पक्ष सर्वसाधारणका लागि खुला रहने भन्ने निर्धारण गर्छन्।

राजनीतिक दलका प्रतिनिधिले मतगणनाको निगरानी कसरी गर्न सक्छन् र केही राज्यमा औपचारिक उजुरी कसरी दर्ता गर्न सक्छन् भन्ने व्यवस्था पनि यिनै नियममा समेटिएको हुन्छ।

नतिजा आउन ढिलाइ हुनुका कारण के हुन्?

प्रतिस्पर्धा कडा भएका निर्वाचन क्षेत्रमा नतिजा आउन बढी समय लाग्छ। त्यस्ता क्षेत्रमा पुनः मतगणना गर्नुपर्ने अवस्था आउन सक्छ र कानुनी चुनौती पनि देखिन सक्छन्।

हुलाकमार्फत पठाइएका मतपत्र गणना गर्न बढी समय लाग्छ। किनभने निर्वाचन अधिकारीहरूले मतपत्र राखिएका खाम जाँच्नुपर्छ र त्यसमा भएका हस्ताक्षर भिडाउनुपर्छ।

अमेरिकाका ३० भन्दा बढी राज्यमा निर्वाचनको दिनभन्दा अगाडि नै मतपत्रको प्रक्रिया सुरु गर्न अनुमति छ। केही राज्यमा यस्तो व्यवस्था छैन।

क्यालिफोर्नियामा सबै मतपत्र निर्वाचनको दिनभन्दा अगाडि वा सोही दिनसम्म हुलाकमार्फत पठाइसक्नुपर्छ। यद्यपि निर्वाचन भएको सात दिनभित्र प्राप्त हुने मतपत्र पनि गणना गरिन्छ।

अलास्कामा ‘र्‍याङ्क्ड च्वाइस भोटिङ’ प्रणालीका कारण अन्य राज्यको तुलनामा मतगणना गर्न निकै बढी समय लाग्न सक्छ। मतपत्रसम्बन्धी विवाद भएमा कानुनी चुनौती पनि आउन सक्छन्, जसले प्रक्रिया थप जटिल बनाउँछ।

निर्वाचनको नतिजालाई चुनौती दिइए के हुन्छ?

सबै मतलाई अन्तिम नतिजामा समावेश गरिसकेपछि र पुनः मतगणनाजस्ता प्रक्रिया पूरा भएपछि निर्वाचनको नतिजा औपचारिक रूपमा प्रमाणित गरिन्छ। यो प्रक्रिया सुरुमा स्थानीय र काउन्टी तहमा हुन्छ र त्यसपछि राज्यभर पूरा गरिन्छ।

त्यसपछि सामान्यतया राज्यका गभर्नरले प्रतिनिधिसभा र सिनेटमा निर्वाचित उम्मेदवारको प्रमाणपत्रमा हस्ताक्षर गर्छन्। ती प्रमाणपत्र कंग्रेसमा पठाइन्छन्।

निर्वाचनको नतिजालाई चुनौती दिन सकिन्छ। कडा प्रतिस्पर्धा भएका क्षेत्रमा उम्मेदवारले पुनः मतगणनाको माग गर्न सक्छन्। केही राज्यमा जितको अन्तर तोकिएको सीमाभित्र भए स्वतः पुनः मतगणना सुरु हुन्छ।

उम्मेदवारले निर्वाचनमा अनियमितता भएको आरोप लगाउँदै कानुनी चुनौती पनि दिन सक्छन्।

यस्तो अवस्थामा अन्तिम निर्णय कंग्रेसले गर्छ। प्रतिनिधिसभा र सिनेट दुवैको निर्वाचनमा पराजित उम्मेदवारले नतिजालाई चुनौती दिन सक्छन्। यद्यपि दुवै सदनमा त्यसको प्रक्रिया केही फरक छ।

सैद्धान्तिक रूपमा दुवै सदनले कुनै व्यक्तिलाई सदस्यका रूपमा स्वीकार गर्न अस्वीकार गर्न वा अनुसन्धानको आदेश दिन सक्छन्।

सन् २०२२ मा निर्वाचनको नतिजा कहिले आएको थियो?

सन् २०२२ को मध्यावधि निर्वाचनको भोलिपल्ट नोभेम्बर ९ मा पनि अमेरिकी कंग्रेसमाथि नियन्त्रण कायम गर्ने विषयमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीच कडा प्रतिस्पर्धा जारी थियो।

त्यस वर्ष प्रतिनिधिसभामा रिपब्लिकन पार्टीले जित्ने सम्भावना बढी देखिएको थियो तर सिनेटमाथि नियन्त्रण कायम गर्ने विषयमा प्रतिस्पर्धा निकै कडा थियो।

त्यतिबेला निर्वाचनको समग्र तस्बिर स्पष्ट हुन केही दिन लागेको थियो। सीबीएस न्युजले नोभेम्बर १७ मा रिपब्लिकन पार्टीले प्रतिनिधिसभामा बहुमतका लागि आवश्यक २१८ सिट जितेको अनुमान सार्वजनिक गरेको थियो।

सिनेटको महत्त्वपूर्ण सिट रहेको नेभाडामा मतगणना पूरा हुन चार दिन लागेको थियो। त्यहाँ डेमोक्रेटिक पार्टीले झिनो मतान्तरले जितेपछि सिनेटमा उसको सिट सङ्ख्या ५० पुगेको थियो।

त्यतिबेला उपराष्ट्रपति कमला ह्यारिसलाई बराबरीको अवस्थामा निर्णायक मत दिने अधिकार थियो। यही कारण डेमोक्रेटिक पार्टी सिनेटमाथि आफ्नो नियन्त्रण कायम राख्न सफल भएको थियो।

जर्जियामा सिनेटको एउटा सिटका लागि पुनः निर्वाचन गराउनुपरेको थियो। नोभेम्बरमा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन सकेका थिएनन्।

उक्त सिटको नतिजा डिसेम्बर ७ मा आएको थियो, जसमा डेमोक्रेटिक पार्टी निर्वाचित भएको थियो।

सन् २०२६ मा कुन सिटमा हुनेछ निगरानी?

स्वतन्त्र निर्वाचन विश्लेषक संस्था कुक पोलिटिकल रिपोर्टले सिनेटका ६ सिटमा कडा प्रतिस्पर्धा हुने अनुमान गरेको छ।

ती सिट अलास्का, कन्सास, आयोवा, मेन, ओहायो र टेक्ससमा छन्। यी सबै सिटमा अहिले रिपब्लिकन पार्टीको नियन्त्रण छ। सिनेटमा ५१ सिटसहित नियन्त्रण कायम गर्न डेमोक्रेटिक पार्टीले यीमध्ये तीन सिट जित्नुपर्नेछ।

त्यसका अतिरिक्त डेमोक्रेटिक पार्टीले आफ्नो जितको सम्भावना बढी रहेको वा आफ्नो पक्षमा नतिजा आउने अनुमान गरिएका पाँच सिटमा पनि जित हासिल गर्नुपर्नेछ।

मत सर्वेक्षणअनुसार टेक्ससमा डेमोक्रेटिक पार्टीले जित्ने सम्भावना छ। त्यहाँ पूर्वशिक्षक जेम्स तालारिकोले केन प्याक्सटनलाई हराउन सक्ने अनुमान गरिएको छ। प्याक्सटन राज्यका वर्तमान महान्यायाधिवक्ता तथा ट्रम्पका निकट सहयोगी हुन्। तालारिको निर्वाचित भए सन् १९८८ पछि टेक्ससबाट सिनेटको सिट जित्ने उनी पहिलो डेमोक्रेटिक उम्मेदवार बन्नेछन्।

डेमोक्रेटिक पार्टीले मिसिगनमा पनि आफ्नो सिट जोगाउनुपर्नेछ। त्यहाँ वामपन्थी धारका नयाँ राजनीतिक अनुहार अब्दुल अल–सयदको प्रतिस्पर्धा रिपब्लिकन उम्मेदवार माइक रोजर्ससँग हुँदै छ। रोजर्स ट्रम्पका सहयोगी तथा संघीय अनुसन्धान ब्युरो (एफबीआई) का पूर्वएजेन्ट हुन्। यो सिटमा विशेष निगरानी गरिएको छ।

कुक पोलिटिकल रिपोर्टले सुरुमा मिसिगनको यो सिटमा कडा प्रतिस्पर्धा हुने अनुमान गरेको थियो। मतदान हुनुभन्दा एक दिनअघि उसले आफ्नो अनुमान परिवर्तन गर्दै डेमोक्रेटिक पार्टीको पक्षमा नतिजा आउने सम्भावना बढी रहेको जनाएको थियो।

कंग्रेसको तल्लो सदन प्रतिनिधिसभामा अहिले रिपब्लिकन पार्टीको बहुमत निकै साँघुरो छ। उसका २१८ प्रतिनिधि छन्। यसबाहेक एक स्वतन्त्र सदस्य पनि छन्, जसले रिपब्लिकन पार्टीकै पक्षमा मतदान गर्छन्।

कुक पोलिटिकल रिपोर्टका अनुसार प्रतिनिधिसभामा सबैभन्दा कडा प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्रमध्ये धेरै पूर्वी तटीय राज्यमा छन्। तीमध्ये न्युयोर्कको १७औँ, पेन्सिलभेनियाको आठौँ र भर्जिनियाको पहिलो निर्वाचन क्षेत्र प्रमुख छन्। बीबीसीको सहयोगमा

प्रकाशित: १८ कार्तिक २०८३ ९:३४ | Wednesday, November 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast