यी हुन् लुम्बिनी भ्रमण गर्ने राष्ट्रसंघका महासचिवहरू

विनोद परियार १२ कार्तिक २०८० १७:०२
30
SHARES
यी हुन् लुम्बिनी भ्रमण गर्ने राष्ट्रसंघका महासचिवहरू माथि (दायाँ) बाट क्रमशः ड्याग ह्यामरसोल्ड, ऊ थान्त, कर्ट वाल्डहाइम, ह्याभियर पेरिज द कोयर, बान की मुन र एन्टोनियो गुटेरेस।

लुम्बिनी– एन्टोनियो गुटेरेससमेत संयुक्त राष्ट्रसंघका ६ जना महासचिवले लुम्बिनी भ्रमण गर्ने भएका छन्। आइतबार काठमाडौँ आएका महासचिव गुटेरेसले मंगलबार लुम्बिनी भ्रमण गर्ने कार्यक्रम छ। उनी लुम्बिनी भ्रमण गर्ने संयुक्त राष्ट्रसंघका छैटौँ महासचिव बन्नेछन्।

नेपालले सन् १९५५ संयुक्त राष्ट्रसंघको सदस्यता पाएको हो। त्यति बेला ड्याग ह्यामरसोल्ड महासचिव थिए। उनी राष्ट्रसंघका दोस्रा महासचिव हुन्।  हालसम्म संयुक्त राष्ट्रसंघको महासचिव पदमा नौ जनाले जिम्मेवारी सम्हालेका छन्। तीमध्ये पाँच जनाले लुम्बिनी भ्रमण गरेका छन्।

दोेस्रा महासचिव ड्यागले सन् १९५९ मा पहिलोपटक लुम्बिनी भ्रमण गरेका थिए। लुम्बिनी भ्रमण गर्ने दोस्रा महासचिव हुन् ऊ थान्त। उनी सन् १९६७ मा लुम्बिनी आएका थिए। अन्य महासचिवको भन्दा ऊ थान्तको भ्रमण विशेष महत्त्वको रहेको लुम्बिनी विकास कोषका अधिकारीहरू बताउँछन्। उनीहरूका अनुसार राष्ट्रसंघका महासचिवका रूपमा ऊ थान्तको भ्रमणपछि लुम्बिनीको विश्वव्यापी प्रचार भएको थियो।

सन् १९८१ मा कर्ट वाल्डहाइमले लुम्बिनी भ्रमण गरेका थिए। उनी लुम्बिनी भ्रमण गर्ने तेस्रा महासचिव हुन्। यसैगरी संयुक्त राष्ट्रसंघको महासचिवका रूपमा लुम्बिनी भ्रमण गर्ने अर्का व्यक्तित्व हुन् ह्याभियर पेरिज द कोयर। उनले सन् १९८९ मा लुम्बिनीको भ्रमण गरेका थिए। यसपछि सन् २००८ मा महासचिव बान की मुनले लुम्बिनी भ्रमण गरे।
ट्रिग्वे ली, बुद्रोस बुद्रोस घाली र कोफी अन्नान भने लुम्बिनीको भ्रमण नगर्ने संयुक्त राष्ट्रसंघका महासचिव हुन्।

विगतमा पनि यस्ता भ्रमणले लुम्बिनीको प्रचारमा सहयोग पुगेको कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) बताउँछन्। उनी भन्छन्, ‘महासचिव आउनु हाम्रा लागि गौरवको विषय हो। गुटेरेसको भ्रमणले विश्वव्यापी रूपमा बुद्ध र लुम्बिनीको प्रचार हुन्छ।’ उनले लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्रसंघको भूमिका निकै महत्त्वपूर्ण रहेकाले पनि यस्ता भ्रमणले थप टेवा पुग्ने बताए।

लुम्बिनीमा गुटेरेसको भ्रमण : विश्वशान्तिको सन्देश प्रवाह हुने अपेक्षा

प्रकाशित: १२ कार्तिक २०८० १७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =