सांकेतिक तस्बिर
काठमाडौँ- सन् २०२५ मा विश्वभर ४७ हजारभन्दा बढी महिला तथा किशोरीको हत्या उनीहरूका परिवारका सदस्य वा नजिकका व्यक्तिले गरेका छन्। संयुक्त राष्ट्रसंघ (यूएन) ले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा प्रत्येक घण्टा करिब पाँच महिला तथा किशोरीले ज्यान गुमाएको उल्लेख छ।
प्रतिवेदनअनुसार सन् २०२५ मा जानाजानी हत्या गरिएका ७८ हजार महिला तथा किशोरीमध्ये करिब ६० प्रतिशत अर्थात् ४७ हजारको हत्या उनीहरूका जीवनसाथी (पार्टनर) वा परिवारका सदस्यले गरेका थिए।
यो तथ्यांक एक सय २२ देश तथा क्षेत्रका तथ्यांक विश्लेषण गरेर तयार पारिएको हो। प्रतिवेदनमा सन् २०२५ मा विश्वभर हत्या भएका कुल व्यक्तिमध्ये १९ प्रतिशत महिला रहेको उल्लेख छ।
ती महिलामध्ये ६० प्रतिशतको हत्या घर वा पारिवारिक परिवेशमा भएको थियो। पुरुषको हत्याका घटनामध्ये ११ प्रतिशत हत्या घर वा निजी पारिवारिक परिवेशमा भएका थिए।
प्रतिवेदनअनुसार कुनै पनि क्षेत्र महिला तथा किशोरीका लागि पूर्ण रूपमा सुरक्षित छैन। अफ्रिकामा सबैभन्दा बढी २२ हजार एक सय महिला तथा किशोरीको हत्या उनीहरूका पार्टनर वा परिवारका सदस्यले गरेका थिए। एसियामा १५ हजार एक सय, अमेरिकामा सात हजार चार सय र युरोपमा दुई हजार एक सय यस्ता घटना दर्ता भएका थिए।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर हत्याका घटनाको समग्र दर घटेको भए पनि महिलाको हत्याका घटनामा त्यति तीव्र गतिमा कमी आएको छैन। प्रतिवेदनमा महिलाको हत्याका पछाडि समाजमा जरा गाडेका पुराना सोच, लैङ्गिक विभेद र महिलाबारे स्थापित रूढिवादी धारणासमेत प्रमुख कारण रहेको उल्लेख छ। साथै, न्याय प्राप्तिका लागि महिलाले विभिन्न बाधा सामना गर्नुपर्ने अवस्थाले पनि समस्या थप जटिल बनाएको प्रतिवेदनमा औँल्याइएको छ।



