काठमाडौँ- नेपालमा दर्ता भएका चिकित्सकको संख्या ५४ हजार दुई सय २३ पुगेको छ भने नर्सिङ पेसाकर्मीको संख्या करिब एक लाख २९ हजार पुगेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको नेपाल तथ्यांक वार्षिक पुस्तिका अनुसार २०८१ माघसम्म नेपाल मेडिकल काउन्सिल (एनएमसी) मा १२ हजार नौ सय ५३ विशेषज्ञ चिकित्सक, ३५ हजार एक सय ८७ मेडिकल चिकित्सक र ६ हजार ८३ जना दन्त चिकित्सक दर्ता भएका छन्।
दुई वर्षअघि विशेषज्ञ चिकित्सकको संख्या १० हजार पाँच सय ९०, मेडिकल चिकित्सकको ३० हजार २७ र दन्त चिकित्सकको चार हजार आठ सय ८३ थियो।
दर्ता भएका चिकित्सकको संख्या र नेपालको दुई करोड ९६ लाख २० हजार जनसंख्यालाई आधार मान्दा नेपालमा प्रति एक हजार जनसंख्यामा करिब १.६३ जना चिकित्सक उपलब्ध छन्। औसतमा ६ सय १५ जनाका लागि एक चिकित्सक छन्। चिकित्सकको घनत्वसम्बन्धी अन्तर्राष्ट्रिय गणनामा दन्त चिकित्सकलाई समावेश गरिँदैन।
तुलनात्मक रूपमा भारतमा प्रति एक हजार जनसंख्यामा १.२३ देखि १.३४ जना, बंगलादेशमा ०.७२ जना, श्रीलंकामा १.११ देखि १.१४ जना, पाकिस्तानमा १.२ जना र भुटानमा ०.४३ देखि ०.५९ जना चिकित्सक छन्। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रमध्ये नेपालभन्दा बढी चिकित्सकको घनत्व माल्दिभ्समा मात्रै छ। त्यहाँ प्रतिएक हजार जनसंख्यामा २.२ जना चिकित्सक छन्।
तथ्यांकअनुसार २०८१ एनएमसीमा दर्ता भएका मेडिकल चिकित्सकको संख्या दुई हजार नौ सय ४० ले बढेको छ। २०८० मा यस्तो वृद्धि दुई हजार दुई सय २० थियो। त्यसैगरी दर्ता भएका दन्त चिकित्सकको संख्या २०८१ सालमा सात सय ३६ ले बढेको छ।
दुई वर्षको अवधिमा विशेषज्ञ चिकित्सकको संख्या पनि दुई हजार ३६३ ले बढेको छ।
यसैबीच नेपाल नर्सिङ परिषद्मा दर्ता भएका नर्सिङ पेसाकर्मीको संख्या २०८१ माघसम्म एक लाख २८ हजार आठ सय ३५ पुगेको छ। २०८१ मा यो संख्या एक लाख २२ हजार तीन सय १३ थियो।
दर्ता भएका नर्सिङ पेसाकर्मीमध्ये एक हजार नौ सय ५६ विशेषज्ञ नर्स, ८८ हजार दुई सय ३२ नर्स, ३७ हजार पाँच सय ९५ अनमी, आठ सय ५६ विदेशी नर्स र एक सय ९५ मिडवाइफ छन्।
तथ्यांकले चिकित्सा पेसाका विभिन्न विधामा लैङ्गिक असमानता पनि देखाएको छ। मेडिकल चिकित्सकमा महिलाको तुलनामा पुरुषको संख्या झन्डै दोब्बर छ। नेपालमा २३ हजार चार हजार एक पुरुष र ११ हजार सात सय ८६ महिला मेडिकल चिकित्सक दर्ता छन्।
दन्त चिकित्सकमा भने पुरुषको तुलनामा महिलाको संख्या उल्लेख्य रूपमा बढी छ। दर्ता भएका दन्त चिकित्सकमध्ये चार हजार ८० महिला र दुई हजार तीन पुरुष छन्।



