१०औँ राष्ट्रिय खेलकुद

महिला क्रिकेटतर्फ पुलिसको फराकिलो जित

हिमाल प्रेस ८ मंसिर २०८३ १६:४९ | Tuesday, November 24, 2026
महिला क्रिकेटतर्फ पुलिसको फराकिलो जित

सुर्खेत- १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटतर्फ मंगलबार भएको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सानदार जित निकालेको छ। वीरेन्द्रनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले एक विकेटको क्षतिमा १९७ रनको विशाल स्कोर बनाएको थियो।

पुलिसका लागि ओपनर रेवती धामी र सीता रानामगरले सानदार सुरुवात गरे। कप्तान रानामगरले सर्वाधिक ६६ रन बनाइन्। ४२ बल खेलेकी उनले एक छक्का र नौ चौका प्रहार गरिन्।

अर्की ओपनर रेवतीले नटआउट ५५ रनको योगदान दिइन्। ५३ बलको सामना गरेकी उनले सात चौका प्रहार गरिन्। तेस्रो क्रममा ब्याटिङ गर्न आएकी इन्दु बर्माले विस्फोटक ब्याटिङ गरिन्। २७ बलमा १२ चौकाको मद्दतमा सानदार ५८ रनको नटआउट पारी खेलेकी बर्मा प्लेयर अफ द म्याच भइन्। पुलिसको एक मात्रै विकेट लुम्बिनीकी आयुषा भुषालले लिएकी थिइन्।

जबाफी ब्याटिङ गरेको लुम्बिनीले १५.४ ओभरमा अलआउट हुँदै ३९ रन मात्रै बनाउन सक्यो। लुम्बिनीका लागि ओपनर श्रुति बुढाथोकीले सर्वाधिक १५ रन बनाइन्। यस्तै अनिता चौधरीले आठ, सरस्वती पुनले सात र कप्तान आश्मा पुनमगरले पाँच रन बनाए। बाँकी ब्याटरहरूले एक रन पनि जोड्न सकेनन्।

लुम्बिनीलाई फराकिलो अन्तरले हराउन पुलिसकी करुणा भण्डारीले सर्वाधिक तीन विकेट लिइन्। यस्तै रेखा रावल, राजमती ऐरी, विनु बुढामगरले समान दुई–दुई विकेट लिए भने सुमन विष्टले एक बिकेट लिइन्। यसअघिको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो।

प्रकाशित: ८ मंसिर २०८३ १६:४९ | Tuesday, November 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast