आईसीसी क्रिकेट विश्वकप

‘कमजोर’ टिमसँग सचेत भारत

हिमाल प्रेस २ कार्तिक २०८० ७:५६
4
SHARES
‘कमजोर’ टिमसँग सचेत भारत

काठमाडौँ- आफैँले आयोजना गरिरहेको विश्वकपमा भारतले सुरुवाती तीन खेल जितिसकेको छ। अस्ट्रेलिया, अफगानिस्तान र पाकिस्तानमाथिको जितबाट ६ अंक बटुलेको भारत हाल दोस्रो स्थानमा छ। चौथो खेलमा बंगलादेशको सामना गर्न भारतीय टिम बिहीबार पुने रंगशालामा ओर्लिदैछ।

यस्तोमा भारतको रणनीति हुनेछ, सनसनीपूर्ण हारको सिकार नबन्ने। अफगानिस्तानले इंग्ल्यान्डलाई हराएको देखेको भारत बंगलादेशलाई कम आँक्ने पक्षमा छैन। मंगलबार राति नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई स्तब्ध बनाएपछि त भारत झनै सचेत छ।

फलतः भारतले बलिङ विभागमा कुनै परिवर्तन गर्नेछैन। पछिल्ला खेलमा बलिङ गरेकै बलर बंगलादेशविरुद्ध भिड्नेछन्।

‘विश्वकपका हरेक खेल अप्ठ्यारा हुन्छन्। जसले जसलाई पनि चुनौती दिनसक्छ। यसकारण हामी कुनै टिमलाई कमजोर ठान्ने पक्षमा छैनौँ,’ भारतका बलिङ प्रशिक्षक पारस महाम्ब्रेले भनेका छन्, ‘बंगलादेश होस् वा नेदरल्यान्डस्, जोसँग खेल्दा पनि भारत गम्भीर भएर खेल्छ। हरेक खेलमा हाम्रा लागि महत्त्वपूर्ण छन्। हरेक विपक्षी कठिन छन्।’

दुई पटकको विश्वकप विजेता भारत उपाधि घरमै राख्ने दाउमा छ। लक्ष्यअनुसारको सुरुवात पनि भएको छ। ब्याटिङमा मात्र होइन भारतीय टिम सन्तुलित देखिन्छ। सन्तुलन कायम गर्न मोहम्मद सामी र रविचन्द्रन आश्विनजस्ता बलरलाई समेत बाहिर राख्न भारत तयार छ।

‘खासमा बलर छान्ने निर्णय लिन सजिलो हुँदैन। सामीसँग कुरा भइरहेको छ। टिममा हुने हरेक निर्णयबारे उनी जानकार हुन्छन्। त्यसमा उनको आपत्ति हुँदैन। किनभने उनलाई थाहा छ, हामी जुन टिम छान्छौँ जितका लागि छान्छौँ,’ भारतीय राष्ट्रिय टिमका पूर्वबलर महाम्ब्रेको भनाइ छ।

जितको लयलाई निरन्तरता दिने लक्ष्यमा रहेको भारतीय टिममा सीमी र आश्विनले सीमित मौका पाइरहेका छन्। भनेजति खेल्न उनीहरूले अझै पर्खनुपर्ने हुन सक्छ। ‘हामीले जुन किसिमको सुरुवात गरेका छौँ, यसलाई जारी राख्न आवश्यक छ,’ बंगलादेशसँगको खेलमा बलर परिवर्तनबारे सोधिएको प्रश्नमा उनले भने, ‘परिवर्तनबारे कुनै छलफल भएको छैन। परिवर्तनले टिमको बिगार्छ कि बिगार्दैन भन्ने विचार गर्नुपर्छ।’

बलिङ प्रशिक्षक महाम्ब्रेले जसप्रित बुमराहले गरिरहेको प्रदर्शनको तारिफ गरेका छन्। चोटका कारण लामो समय मैदानबाहिर रहेका उनले यही वर्षको सुरुवातबाट पुनरागमन गरेका हुन्। ‘बुमराह के हुन् भन्ने कुरा उनले गएका तीन खेलमा देखाएका छन्। उनी यस्ता बलर हुन् जसले विपक्षीको पकड भत्काउन सक्छन्। मिडल ओभरहरूमा उनको बलिङ निर्णायक बन्ने गरेको छ। उनी मैदानबाहिर हुँदा टिमले उनको अभाव महसुस गरेको थियो।’

उता बंगलादेशका प्रशिक्षक चन्दिका हाथुरुसिंगाले कप्तान सकिब अल हसनले खेल गुमाउन सक्ने संकेत गरेका छन्। सन् २०१५ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको बंगलादेशी टिमले कप्तान भारतविरुद्ध तयार हुन्छन् वा हुँदैनन् भन्नेबारे अन्तिममा मात्र निर्णय लिनेछ।

सकिब गत न्युजिल्यान्डसँगको खेलमा घाइते भएका थिए। उनको तिघ्रामा चोट लागेको बताइएको छ।

‘हिजो उनले अभ्यास गरे। ब्याटिङ अभ्यासमा राम्रै देखिए। हलुका दौडिए पनि। हामी उनको जाँच फेरि गरेका छौँ। नतिजा आइसकेको छैन। हाल त उनी ठिकठाक देखिन्छन्,’ प्रशिक्षक हाथुरुसिंगाले भने, ‘हामीले उनलाई अभ्यासमा बलिङचाहिँ गर्न लगाएका छैनौँ। एकपटक फेरि अभ्यास नगरी उनीबारे निर्णय लिइनेछैन। उनी शारीरिक रुपमा पूर्ण तयार हुँदैनन् भने उनलाई खेलाइने छैन। तयार भएमात्र खेल्नेछन्। हामी खतरा मोल्ने पक्षमा छैनौँ,’

सकिबले यो विश्वकपमा प्रभावकारी प्रदर्शन गर्न सकेका भने छैनन्। पछिल्लो खेलमा न्युजिल्यान्डसँगको हारमा ४० रन बनाएका उनले त्यसअघि इंग्ल्यान्ड र अफगानिस्तानविरुद्ध क्रमशः एक र १४ रन जोडेका थिए। अफगानिस्तानलाई हराएर विश्वकपको सुरुवात गरेको बंगलादेश त्यसपछिका दुवै खेल हारेको छ र हाल छैटौँ स्थानमा छ। अंक तालिकामा बंगलादेशभन्दा तल अस्ट्रेलिया, नेदरल्यान्ड्स, अफगानिस्तान र श्रीलंका छन्।

प्रकाशित: २ कार्तिक २०८० ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + sixteen =