पीसीबी अध्यक्ष सेठीको प्रश्न : भारत एसिया कप खेल्न पाकिस्तान नआउने भए पाकिस्तान विश्वकप खेल्न किन भारत जाने?

हिमाल प्रेस ३० वैशाख २०८० १०:३९
16
SHARES
पीसीबी अध्यक्ष सेठीको प्रश्न : भारत एसिया कप खेल्न पाकिस्तान नआउने भए पाकिस्तान विश्वकप खेल्न किन भारत जाने?

काठमाडौँ- पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष नाजम सेठीले भारत एसिया कप खेल्न पाकिस्तान पुगे मात्र आफ्नो टिम एकदिवसीय विश्वकपका लागि भारत जाने स्पष्ट पारेका छन्। एसियाली क्रिकेट काउन्सिलले (एसीसी) ले पाकिस्तानको ‘हाइब्रिड मोडल’ को प्रस्तावबारे औपचारिक रुपमा केही नभनिसकेकाे बेला सेठीको ताजा अभिव्यक्ति आएको हो।

एसिया कप आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने तालिका छ। तर भारतले पाकिस्तान नजाने अडान लिएपछि एसिया कप आयोजना अन्योलमा परेको छ। उसो त भारतीय सञ्चारमाध्यममा एसिया कप पाकिस्तानबाट अन्य देशमा सर्ने दाबी पनि गरिरहेका छन्। तर एसीसीले हालसम्म यसबारे मुख खोलेको छैन।

यहीबीच पीसीबी अध्यक्ष सेठी आफू अझै पनि ‘हाइब्रिड मोडल’ का पक्षमा रहेको बताएका हुन्। ‘हाइब्रिड मोडल’ अन्तर्गत पाकिस्तानले एसिया कप समूह चरणका आफ्ना खेल पाकिस्तानमै खेल्ने प्रस्ताव पीसीबीले एसीसी बैठकमा राखिसकेको छ। पीसबीको प्रस्तावमा भारतले आफ्ना खेल तटस्थ भूमिमा खेल्नसक्ने उल्लेख छ। पाकिस्तान र भारत एकअर्काको भूमिमा खेल्न तयार नहुन्जेल ‘हाइब्रिड मोडल’ को विकल्प नभएको सेठीको भनाइ छ।

यदि भारतीय टिम पाकिस्तानमा खेल्न तयार हुन्छ भने आफूहरुलाई भारतको जुनसुकै सहरमा गएर खेल्न आपत्ति नहुने सेठीले स्पष्ट पारेका छन्। ‘आफ्नो समूहको खेल पाकिस्तानले घरेलुु मैदानमा खेल्न पाउनुपर्छ। कम्तीमा चार खेल पाकिस्तानमा होस्। त्यसपछिका खेल तटस्थ भूमिमा खेल्न पाकिस्तान तयार छ। एसीसीसामु अब दुई विकल्प छ। कि त हाइब्रिड मोडल स्वीकार गर्ने, नत्र सबै खेल तटस्थ भूमिमा खेलाउने। एसीसी यदि दोस्रो विकल्पमा गए पाकिस्तान एसिया कपमा सहभागी हुनसक्ने छैन,’ सेठीले भारतीय समाचार एजेन्सी पीटीआईसँग भनेका छन्।

पीसीबीले आफ्नो धारणा प्रस्टसँग राखिसकेको भए पनि एसीसीबाट प्रतिक्रिया प्राप्त नभइसकेको सेठीको भनाइ छ। एसीसीले गर्ने कमाइमा ८० प्रतिशत योगदान भारत र पाकिस्तानको हुने र पाकिस्तानले नखेल्ने एसिया कपले प्रशारण अधिकारमार्फत राम्रो आम्दानी गर्न नसक्ने जिकिर सेठीले गरेका छन्।

‘एसिया कपले करिब ४ करोड ६० लाख अमेरिकी डलर कमाउने अनुमान छ। यो कमाइको धेरैजसो हिस्सा भारत र पाकिस्तानबीचको खेलबाट आउने हो। यसकारण यी दुई देश एसीसीका सबैभन्दा महत्त्वपूर्ण सदस्य हुन्,’ सेठीले भनेका छन्,‘ तर भारत पाकिस्तानमा खेल्दिनँ भन्छ। त्यहीभएर मैले हाइब्रिड मोडल प्रस्ताव गरेको हो। भारतका लागि म आफैँ तटस्थ भूमि व्यवस्था गर्नेछु। तर बाँकी देशले समूह चरणका खेल पाकिस्तानमै खेल्नपर्छ।’

सेठीले पाकिस्तानले विश्वकप २०२३ भारतमा गएर र भारतले एसिया कप तथा च्याम्पियन्स ट्रफी २०२५ मा पाकिस्तानमा नखेल्ने भए समस्या उत्पन्न हुने बताए। एसिया कप खेल्न भारतीय टिम पाकिस्तान उत्रिए पाकिस्तानी नागरिकले न्यानो स्वागत गर्ने सेठीको भनाइ छ। ‘विश्वका हरेक टिम पाकिस्तान आइरहेका छन्। भारत आए, उसको स्वागत हुनेछ। तर यदि आउन चाहँदैन, नआउनुको चित्तबुझ्दो कारण प्रस्तुत गर्न सक्दैन भने हामीसँग हाइब्रिड मोडलमा जानुको विकल्प छैन,’ सेठीले अन्तरवार्तामा भनेका छन्।

पाकिस्तानको पछिल्लो राजनीतिक अवस्था ठिक नरहेकोले भारतीय टिम त्यहाँ गएर खेल्दा असुरक्षति हुनसक्ने दाबी भारतमा छ। पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी हाल आन्दोलित छ। तर पीसीबी अध्यक्ष सेठीले भारतीय टिमले पर्याप्त सुरक्षा नपाउने दाबीको खण्डन गरेका छन्।

‘आन्दोलन ६ महिनादेखि जारी छ। आन्दोलन चलिरहकै बेला न्युजिल्यान्ड पाकिस्तानका तीन सहरमा खेलेर फर्कियो। राजधानी इस्लामाबादमा आन्दोलन हुँदा अन्य सहरमा क्रिकेट हुनसक्दैन भन्न खोजिएको हो भने त्यो गलत हो,’ सेठीको भनाइ छ, ‘फेरि अहिले हामी मे महिनामा छौँ। एसिया कप सेप्टेम्बरमा हुने हो। त्यसबेला पाकिस्तानमा आगो बल्नेछ भनेर अहिल्यै अनुमान गर्नु ठिक होइन। यदि त्यसबेला पाकिस्तानमा साँच्चै सुरक्षा चुनौती भए, म आफैँ एसिया कप अन्त सारौँ भन्नेछु।’

भारतले आउँदो अक्टोबर र नोभेम्बरमा विश्वकप आयोजना गर्दैछ। विश्वकपका खेल आयोजना गर्ने सहरको निक्र्योल भइसकेको छैन। आउँदो मनसुनको पूर्वअनुमान भइनसकेकाले भारतीय क्रिकेट बोर्ड बीसीसीआई ले विश्वकपका खेल हुने सहर निश्चित गर्न नसकेको हो। यद्यपि भारतीय सञ्चारमाध्यमले विश्वकपका कुल ४८ खेल दिल्ली, मुम्बई, कोलकाता, अहमदाबाद लगायतका १२ सहरमा हुनसक्ने अनुमान गरिरहेका छन्।

भारत र पाकिस्तान एकै समूहमा पर्ने र यी दुई बीचको खेल अहमदाबादमा हुने अनुमान पनि भइरहेको छ। अहदाबादको नरेन्द्र मोदी रंगशाला भारतको सबैभन्दा ठूलो रंगशाला भएकाले ‘हाई प्रोफाइल’ खेल त्यहाँ खेलाउने भारतको योजना भएको बताइँदैछ। फेरि अहमदाबाद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको राजधानी पनि हो। जहाँ पाकिस्तानविरोधी भावना चरम छ। यस्तोमा पाकिस्तान अहदाबादमा खेल्न तयार हुन्छ कि हुँदैन भनेर सेठीलाई सोधिएको थियो।

‘बीसीसीआईले हामीलाई विश्वकप कुन कुन सहरमा हुने, हाम्राे खेल कहाँ कहाँ हुने भन्नेबारे केही जानकारी दिएको छैन। तर म के भन्न चाहन्छु भने प्रश्न कुन भारतीय सहरमा खेल्ने भन्ने होइन, भारत नै जाने कि नजाने भन्ने हो। मैले अघि नै भनिसकेँ, भारत पाकिस्तान आए मात्र हामी भारत जाने हो। त्यसो भएमा हामी जुन सहरमा पनि खेल्न तयार छौँ। तर सुरक्षा प्रबन्ध बलियो हुनुपर्‍यो,’ सेठीले भने।

सेठीले आईसीसीले राखेको नयाँ ‘रेभेन्यु मोडल’ बारे पनि प्रश्न उठाएका छन्। हालै राखिएको प्रस्ताव अनुसार आईसीसीले आगामी चार वर्षमा गर्ने कमाइको ३८.५ प्रतिशत भारतको पोल्टामा जानेछ। ‘यसबारे हामीले विस्तृत जानकारी पाएका छैनौँ, त्यसकारण आईसीसीलाई पत्र लेखेका छौँ। यस्तो निर्णय गर्न लागिएको भए किन र के आधारम ागर्न लागिएको भन्ने थाहा पाउनु आईसीसीका सबै सदस्यको अधिकार हो।’

गत बुधबार इएसपीएन क्रिक इन्फोमा छापिएको खबर अनुसार आईसीसीले आगामी चार वर्षमा गर्ने कमाइ क–कसलाई कति कति बाँड्ने भन्ने योजना बनाएको छ। यस अनुसार भारतले सन् २०२४ देखि २०२७ को बीचमा करिब २३ करोड अमेरिकी डलर प्राप्त गर्नेछ। जुन आईसीसीका कुनै पनि सदस्यले पाउने सर्वाधिक धेरै रकम हुनेछ। त्यसैगरी इंग्ल्यान्डले चार करोड १० लाख अमेरिकी डलर र अस्टे«लियाले तीन करोड ७० लाख अमेरिकी डलर पाउनेछन्।

बाँकी नौ पूर्णसदस्यमध्ये पाकिस्तानले सबैभन्दा धेरै रकम पाउनेछ। पाकिस्तानको भागमा तीन करोड ४५ लाख पर्ने इएसपीएन क्रिक इन्फोले लेखेको छ। आईसीसीले कसल ६० करोड अमेरिकी डलर आम्दानी गर्ने अनुमान छ। जसमध्ये पूर्णसदस्यले ८८.८१ प्रतिशत र बाँकी ११.१९ प्रतिशत एसोसिएट सदस्यले प्राप्त गर्नेछन्।

प्रकाशित: ३० वैशाख २०८० १०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =