टेस्ट च्याम्पियनसिप फाइनलअघि भारतलाई ‘आईपीएल चिन्ता’

हिमाल प्रेस ३० फागुन २०७९ १३:२९
6
SHARES
टेस्ट च्याम्पियनसिप फाइनलअघि भारतलाई ‘आईपीएल चिन्ता’ अस्ट्रेलियािवरुद्धकाे टेस्ट शृंखला जितेपछि ट्रफीका साथ भारतीय टिम।

काठमाडौँ- बोर्डर–गावस्कर ट्रफी अन्तगर्तको अन्तिम टेस्ट पाँचौँ दिनसम्म चल्यो। अस्ट्रेलिया आफ्नो दोस्रो इनिङ्स खेल्दै थियो। ब्याटिङको रफ्तार घटिरहेका बेला निर्धारित समय पनि धेरै थिएन। यस्तोमा दुवै टिमका कप्तानले खेल सकिएको घोषणा गरे। फलतः भारत र अस्ट्रेलियाबीचको निर्णायक टेस्ट बराबरीमा सकियो।

अस्ट्रेलियाको दोस्रो इनिङ्स १७५/२ को स्थितिमा थियो। ओपनरद्वय ट्राभिस हेड र म्याथ्यु कुनमन क्रमशः ९० र ६ रन बनाएर आउट भएका थिए। कुनमनलाई अक्सर पटेलले आउट गर्दा कुनमन रविचन्द्रन आश्विनको सिकार बने।

मार्नस लाबुुसाने र स्टिभ स्मिथ नटआउट रहे। शृंखलामा पहिलो पटक अर्धशतक बनाउने क्रममा लाबुसानेले ६३ र स्मिथले १० रन जोडे।

यो शृंखला नसकिँदै भारतले विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्ने पक्का भएको खबर आएको थियो। न्युजिल्यान्डले श्रीलंकालाई क्राइस्टचर्चमा दुई विकेटले पराजित गरेपछि भारत च्याम्पियन्सिप फाइनलका लागि स्वतः छानिएको हो।

यो खबर पाउन साथ भारतका लागि अस्ट्रेलियासँगको अन्तिम टेस्टको महत्त्व घट्यो। श्रीलंका विजयी भएको स्थितिमा भारतलाई अस्ट्रेलियामाथिको जित आवश्यक पथ्र्यो। अब भारत र अस्ट्रेलिया लन्डनको द ओभलमा जुन ७-११ मा हुने टेस्ट च्याम्पियनसिपको फाइनलमा आमनेसामने हुनेछन्।

अन्तिम टेस्ट बराबरी भएसँगै भारतले यो शृंखला २-१ ले आफ्नो पक्षमा पा¥यो। यो शृंखलाका केही सम्झनलायकका पक्षमध्येको एक रह्यो, विराट कोहलीको शतक। उनले नोभेम्बर, २०१९ यता पहिलो पटक टेस्टमा शतक बनाएका हुन्। पछिल्लो शतक र यो शतकका बीचमा ४१ इनिङ्स रहे।

सन् २०२३ को सुरुवातमा श्रीलंकाविरुद्धको पहिलो एकदिवसीयमा ११३ र तेस्रोमा १६६ रन बनाएका कोहली अब शतक लयमा फर्किएको भनिँदैछ। इंग्लिस भूमिमा टेस्ट च्याम्पियनसिप र घरमा एकदिवसीयमा विश्वकप जित्ने लक्ष्यमा रहेको भारतका लागि कोहलीको यो लय निर्णायक साबित हुने अनुमान छ।

टेस्टमा कोहलीको शतक अभावलाई लिएर आफू कहिल्यै चिन्तित नभएको कप्तान रोहित शर्माको भनाइ छ। ‘उनी कस्ता खेलाडी हुन् भन्ने थाहा भए पछि धेरै चिन्ता लिइरहनै पर्दैन। मलाई लाग्छ उनलाई पनि यो विषयले पिरोलेको थिएन,’ रोहितले भने।

‘उनले एक सयभन्दा बढी टेस्ट खेलिसके। उनले धेरै रन बनाइसकेका छन्, शतक पनि त्यत्तिका छन्। उनी जत्तिको खेलाडीका लागि उतारचढाव सामान्य हो। ह्वाइटबल क्रिकेटमा पनि उनी केही समय लयबाहिर थिए। एसिया कपमा अफगानिस्तानविरुद्ध प्रहार गरेको त्यो शतकपछि उनी पछडि फर्किएका छैनन्। आशा छ, टेस्टमा पनि त्यही हुनेछ,’ कप्तान रोहितले भनेका छन्।

कोहलीबाहेक भारतका लागि प्रभावशाली प्रदर्शन गर्ने अर्का खेलाडी शुभनम गिल रहे। २३ वर्षीय गिलले अन्तिम टेस्टमा १२८ रन बटुले। ‘चार वा पाँच महिना भयो, शुभनमले यो स्तरको खेल देखाइरहेको। टि२० टिममा पर्नु अनि यहाँ शतक प्रहार गर्नुले उनको स्तर प्रमाणित गरेको छ। एक दिवसीयमा पनि उनको प्रदर्शन चित्तबुझ्दो छ,’ भारतका प्रशिक्षक राहुल द्रविडले आफ्ना युवा ब्याट्सम्यानको प्रशंसा गर्दै भनेका छन्।

टेस्ट च्याम्पियन्सिपको फाइनलमा स्थान बनाउनु अत्यन्तै सुखद भए पनि खेल मितिलाई लिएर भने भारतीय टिम चिन्तित छ। किनभने इन्डियन प्रिमियर लिग (आईपीएल) फाइनल सकिएकाे एक सातापछि नै च्याम्पियन्सिप फाइनल हुनेछ। कप्तान रोहित आईपीएल सकिनसाथ हुने च्याम्पियन्सिप फाइनलका लागि खेलाडीहरूलाई तयार पार्न केही तरिका अपनाइने बताउँछन्।

‘टेस्ट च्याम्पियन्सिप फाइनल हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण छ। हामी त्यस फाइनल खेल्ने खेलाडीसँग आईपीएल चरिहँदा पनि सम्पर्कमा रहनेछौँ। आईपीएलमा उनीहरूमाथि खेलभार कत्तिको हुन्छ, त्यो पनि विचार गर्नेछौँ,’ रोहितले भने।

इंग्ल्यान्ड जाने खेलाडीका लागि आईपीएल भइरहेकै बेला पनि अभ्यासका लागि ड्युक बल पठाइने रोहितको भनाइ छ। ‘फास्ट बलरका लागि हामी ड्युक बल पठाउनेछौँ। तर उनीहरूले समय निकालेर अभ्यास गर्न सक्छन् कि सक्दैनन्, थाहा छैन। यो उनीहरूमै निर्भर हुनेछ,’ रोहितको भनाइ थियो।

टिममा एक वा दुई जना खेलाडी मात्र परिवर्तन हुने र लगभग सबै खेलाडीसँग इंग्ल्यान्डमा यसअघि खेलेको अनुभव हुने भएकाले आईपीएलले तयारीमा गहिरो असर नपार्ने रोहितको विश्वास छ। ‘तर तयारीका मामलामा हामी गम्भीर छौँ। सम्भव भएसम्मका पक्षलाई तयारीमा समेट्नेछौँ,’ रोहितले भने।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले खेलाडीको एक समूहलाई चाँडै इंग्ल्यान्ड पठाउनेछ। मे २१ सम्ममा ६ टिम आईपीएल प्लेअफ दौडबाट बाहिर भइसक्ने भएकाले ती टिममा रहेका राष्ट्रिय खेलाडीलाई इंग्ल्यान्ड पठाउने बीसीसीआईको योजना छ।

प्रशिक्षक द्रविड पनि आईपीएल सकिन साथ च्याम्पियनसिप फाइनल खेल्नु परेकाले आफ्नो टिमलाई केही अप्ठ्यारो पर्ने बताउँछन्। ‘च्याम्पियन्सिप फाइनल चुनौतीपूर्ण हुनुका विविध कारण छन्। खेलाडीलाई एकैपटकमा इंग्ल्यान्ड पुर्‍याउन सकिने अवस्था नहुनु एउटा कारण हो,’ द्रविडले भने।

इंग्ल्यान्डको द ओभल भारत र अस्ट्रेलियाका लागि नयाँ ठाउँ नहुने भए पनि तटस्थ भूमिमा भिड्दा दुवै टिमले पूर्ण रुपमा सामान्य महसुस भने नगर्ने रोहितको भनाइ छ। ‘त्यो मैदान र समग्र रुपमा इंग्ल्यान्ड नै, भारत र अस्ट्रेलियाका लागि नौलो होइन। तर भारतमा खेल्नु वा अस्ट्रेलियामा गएर भिड्नुभन्दा चाहिँ केही फरक महसुस पक्कै हुनेछ। दुवै टिमले अवश्य पनि फरक किसिमकले तयारी गर्नेछन्,’ रोहितले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eighteen =