बोर्डर–गावस्कर ट्रफीमाथि भारतको कब्जा, विराटले तोडे तेन्दुलकरको कीर्तिमान

हिमाल प्रेस ७ फागुन २०७९ १६:२६
12
SHARES
बोर्डर–गावस्कर ट्रफीमाथि भारतको कब्जा, विराटले तोडे तेन्दुलकरको कीर्तिमान

काठमाडौँ- रविन्द्र जेडेजाले टेस्ट करियरकै उत्कृष्ट बलिङ गरेपछि भारतले दोस्रो टेस्टमा अस्ट्रेलियामाथि ६ विकेटको जित दर्ता गरेको छ। आइतबार दोस्रो टेस्ट जितेसँगै भारतले बोर्डर–गावस्कर ट्रफी घरमै राख्ने भएको छ।

चार टेस्टसम्मिलित यो शृंखला गत वर्ष पनि भारतले जितेको थियो। अबका बाँकी दुवै टेस्ट अस्ट्रेलियाले जित्दै शृंखला बराबरीमा टुंगिए पनि पूर्वविजेताको हैसियतले ट्रफी भारतले नै राख्नेछ।

तीन दिनभित्रै पाहुना टिम अस्ट्रेलियालाई पराजित गर्न जडेजाले ४२ रन खर्चिएर सात विकेट लिए। त्यसैगरी रविचन्द्रन आश्विनको नाममा तीन विकेट रह्यो।

नयाँदिल्लीस्थिन अरुण जेट्ली रंगशालामा ११५ रनको विजयी लक्ष्य पछ्याएको भारतले अपेक्षाकृत सुरुवात गर्न सकेको थिएन। यद्यपि तेस्रो दिनको दोस्रो सेसनमा भारतले जित पक्का गर्‍यो।

भारतका ओपनर केएल राहुल एक रनमा आउट भए पनि अर्का ओपनर तथा कप्तान रोहित शर्माले ३१ रन जोडेका थिए। त्यसैगरी विराट कोहली र श्रेयस ऐयर क्रमशः २० र १२ रन बनाएर बाहिरिएका थिए। चेतेश्वर पुजारा र श्रिकर भारत ३१ र २३ रनमा अविजित रहे।

चेतेश्वरले टोड मर्फीको बलमा चौका प्रहार गरेसँगै दोस्रो टेस्ट भारतको पक्षमा गएको थियो। ‘यो टेस्टमा हामीले साँच्चै राम्रो प्रदर्शन गर्‍यौँ। चौका प्रहार गर्दै इनिङ्स सक्न पाउँदा खुसी छु। अब बाँकी दुई टेस्ट पनि जित्ने प्रयास रहनेछ,’ पुजाराले भने।

नागपुरमा भएको पहिलो टेस्ट पनि भारतले तीन दिनभित्रै जितेको थियो। दोस्रो टेस्टमा पनि जित हासिल गरेपछि भारत विश्व टेस्ट च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। टेस्ट च्याम्पियनसिपको शीर्ष दुईमा रहे टिम जुन ७ देखि ११ सम्म हुने च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्नेछन्।

हाल अस्ट्रेलिया १७ खेलबाट १३६ अंक बटुलेर पहिलो स्थानमा छ भने दोस्रो स्थानमा भारत छ। भारतले १६ खेलबाट १२३ अंक जम्मा गरेको छ। तेस्रो स्थानमा रहेको श्रीलंकासँग १० खेलबाट ६४ अंक मात्र छ।

भारतीय कप्तान रोहित शर्माले सुरुवाती कठिन भए पनि आखिरमा जित हासिल गरेको प्रतिक्रिया दिए। ‘हिजोसम्म पनि खेल हाम्रो नियन्त्रणमा थिएन। तर बलियो पुनरागमन गरेर विजेता बनेका छौँ। विशेषगरी बलरहरूको प्रदर्शन निर्णायक रह्यो,’ कप्तान रोहितले भने।

अस्ट्रेलिया को दोस्रो इनिङ्स ११३ रनमा सकिएको थियो। ६१–१ को स्थितिबाट खेल सुरु गरेको अस्ट्रेलिया ले ५२ रन थपेको थियो। डेभिड वारनरको स्थानमा ओपनिङ गरेका ट्राभिस हेडले आश्विनको बलमा आउट हुनुअघि ४३ रन जोडे। त्यसैगरी जडेजाले मार्नस लाबुछानेलाई ३५ रनमा पभेलियन फर्काइदिए। हेड र लाबुछानेबाहेक बाँकी कुनै पनि अस्टे«लियन ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन्।

‘भारतीय विकेटमा पहिलो दिन २६० भन्दा बढी रन जोड्नु नराम्रो होइन। तर त्यसपछि भारतले पनि बलियो ब्याटिङ गर्‍यो। हारले हामी निराश छौँ। किनभने एक बिन्दुसम्म हामीले यो टेस्टलाई नियन्त्रणमा राखेका थियौँ। तर दुर्भाग्यवश दोस्रो इनिङ्समा पुगेर यो टेस्ट हामीबाट फुत्कियो,’ अस्ट्रेलिया का कप्तान पाट कुमिन्सले भनेका छन्।

अस्ट्रेलिया माथिको जितबाहेक भारतीय समर्थकका लागि अर्को पनि खुसीको खबर छ। त्यो हो, विराट कोहलीको ब्याटिङ कीर्तिमान। उनी अन्तराष्ट्रिय क्रिकेटमा सबैभन्दा चाँडो २५ हजार रन बनाउने खेलाडी बनेका छन्। उनले सबै ढाँचाका पाँच सय ४९ इनिङ्समा यो आँकडा छोएका हुन्।

यसअघि यो कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो। उनले पाँच सय ७७ इनिङ्समा २५ हजार रन पुर्‍याएका थिए। रिक्की पोन्टिङ र ज्याक कालिसले यत्तिको रन बनाउन क्रमशः पाँच सय ८८ र पाँच सय ९४ इनिङ्स खेल्नु परेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + ten =