सडक दुर्घटना : ५ वर्षमा १३ हजारको मृत्यु, ८० हजार घाइते

हिमाल प्रेस १४ असोज २०८० १४:४३
14
SHARES
सडक दुर्घटना : ५ वर्षमा १३ हजारको मृत्यु, ८० हजार घाइते

काठमाडौँ– देशभरि ६३ लाख सवारी साधन दर्ता छन्। काठमाडौँ उपत्यकामा मात्रै करिब १८ लाख सवारी साधन दर्ता भएको र करिब १४ लाख सवारी दैनिक सडकमा गुड्ने गर्छन्।

पछिल्लो ५ वर्षमा देशभर १२ हजार ८०० जनाको सडक दुर्घटनामा मृत्यु भएको छ। उपत्यकामा मात्रै हजारभन्दा बढीको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांक छ। यो अवधिमा सडक दुर्घटनामा परी करिब ८० हजार घाइते भएका छन्।

गत आव २०७९/८० मा सवारी दुर्घटनाबाट मुलुकभर २ हजार ८८३ जनाको ज्यान गएको थियो। आव २०७८/७९ मा २ हजार ३७६, आव २०७७/७८ मा २ हजार ५००, आव २०७६/७७ मा २ हजार २५१ र आव २०७५/७६ मा २ हजार ७८९ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेललेले सडक संरचना व्यवस्थित हुन नसक्नु, सवारी साधन अत्यधिक वृद्धिलगायत कारणबाट सडक दुर्घटना बढेको बताए। उपत्यकामा बर्सेनि साना ठूला १० हजार बढी सडक दुर्घटना हुने गरेको छ।

ट्राफिक प्रहरी प्रमुख पोखरेल विशेषगरी दुई पांग्रे सवारी साधनका चालकको असावधानी तथा लापरबाहीपूर्ण व्यवहार, मादक पदार्थ सेवन, लेन अनुशासन पालना नगर्ने, तीव्र गतिलगायत कारणबाट दुर्घटना बढेको बताउँछन्। ‘समयानुकूल भौतिक पूर्वाधारमा सुधार नहुनु, सडकको अवस्था र प्रविधिको अभावसमेत दुर्घटनाको कारक बनेको छ,’ उनले भने।

प्रकाशित: १४ असोज २०८० १४:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =