प्रचण्ड-बाबुराम मिलन प्रयास : कुरै उठेन माओवादी बैठकमा

किरण पौडेल १९ साउन २०८० ११:५५
20
SHARES
प्रचण्ड-बाबुराम मिलन प्रयास : कुरै उठेन माओवादी बैठकमा फाइल तस्बिर

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अघि सारेको एकता प्रस्तावबारे नेकपा माओवादी केन्द्रको जारी बैठकमा छलफल नहुने लगभग निश्चित भएको छ। भट्टराईले दोस्रो वरीयता पाए नेकपा माओवादी केन्द्रमा समाहित हुने सर्त अघि सारेका थिए। माओवादीको जारी बैठकमा त्यस विषयले प्रवेश नै नपाएको नेताहरूले बताएका छन्।

भट्टराईले अधिकारसहितको दोस्रो नेता बनाउनुपर्ने माग गर्दै माओवादीलाई लेखेको पत्रका बारेमा बैठकमा छलफल हुने अपेक्षा गरिएको थियो। उनको पत्रमा उल्लेख छ, ‘अध्यक्षपछि दोस्रो वरीयतामा एक सहअध्यक्षको व्यवस्था गर्नुपर्छ। सहअध्यक्षको काम, कर्तव्य र अधिकार विधानमा व्यवस्था भएबमोजिम हुनुपर्नेछ।’

माओवादी नेताहरू पार्टीभित्रैको गन्जागोलका विषयमा छलफल जारी रहेकाले अन्य पार्टीसँगको एकताबारे कुरै नउठेको बताउँछन्। सचिव गणेश साहले भने, ‘पार्टीभित्रैका विभिन्न विषयमा छलफल जारी छ। अन्य पार्टीसँग एकीकरण गर्ने विषयमा छलफल भएको छैन।’

भट्टराईले आफ्नो पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) लाई पद दिनुपर्ने भनेर तोकिएको छैन। यसअघि माओवादी छाडेर जाँदा दोस्रो वरीयतामा रहेकाले स्वतः सोही दर्जा माग गरेको हुन सक्ने माओवादी केन्द्रका नेताहरू बताउँछन्।

भट्टराईले माओवादीमा समाहित हुँदा पार्टी नाम फेरेर समाजवादी राख्नुपर्ने अर्को सर्त राखेका छन्। भट्टराईले पद मागेकै कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई समाजवादी मोर्चामा नअटाएको माओवादीका नेताहरूको दाबी छ।

भट्टराई आफैँ समाजवादी मोर्चाको अवधारणाकर्ता भए पनि उनी उक्त मोर्चामा आबद्ध छैनन्। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र नेकपा विप्लव मिलेर असार ४ मा मोर्चा गठन भएको थियो।

भट्टराईले मंसिरमा सम्पन्न निर्वाचनअघि प्रचण्डसँग समाजवादी मोर्चा बनाउने प्रस्ताव गरेका थिए। ‘मेरै अवधारणा हो। तर यसमा सत्ता राजनीति हुनु हुँदैन भनेको थिएँ,’ भट्टराईले भनेका छन्, ‘अहिलेको जस्तो समाजवादी मोर्चा हाम्रो परिकल्पना होइन।’

भट्टराईले पार्टीको नाम, झण्डा र चुनाव चिह्नसमेत परिवर्तन हुनुपर्ने माग राखेका थिए। उनले व्यक्तिको वरिष्ठता, क्रियाशीलता, योग्यता, क्षमता र प्रभावकारिताका आधारमा कम्तीमा नेसपाबाट ७ जनालाई केन्द्रीय पदाधिकारीमा समायोजन गर्नुपर्ने माग राखेका थिए। ‘पार्टी एकीकरण गरेपछि हाम्रो पनि अस्तित्वको कुरा आउँछ। कार्यकर्तालाई सेटल गर्नुपर्छ,’ नेसपाका एक नेताले भने।

केन्द्रीय पदाधिकारीमा समायोजन हुन बाँकी नेसपाका केन्द्रीय पदाधिकारीलाई स्थायी समितिमा समायोजन गर्नुपर्ने, केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पोलिटब्युरो (राजनीतिक समिति) मा समायोजन गर्नुपर्ने सर्त भट्टराईको थियो।

राजनीतिक समिति सदस्यहरूलाई केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने, केन्द्रीय समितिमा समायोजन हुन बाँकी नेसपाका केन्द्रीय सदस्यहरुलाई वैकल्पिक केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने सर्त पनि भट्टराईले राखेका थिए।

संघीय परिषद् सदस्यहरूको संघीय (राष्ट्रिय) परिषद्मा समायोजन गर्नुपर्ने र केन्द्रीय सल्लाहकार समिति सदस्यहरूको केन्द्रीय सल्लाहकार परिषद्मा समायोजन गर्नुपर्ने माग भट्टराईको छ।

विज्ञ परिषद् सदस्यहरूको सोही परिषद्मा समायोजन गर्नुपर्ने र अनुशासन, निर्वाचन र लेखा आयोगको समायोजन सोही आयोगहरूसँग गर्नुपर्ने पनि बाबुरामको सर्त छ।
प्रदेश, राष्ट्रिय समिति, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडाको समायोजन, समायोजन निर्देशिका बनाई गरिनेछ।

निर्णय कुर्दै नेसपा

मोर्चा बनिसके पनि माओवादीसँग एकता गर्न सकिने तर्क नेसपाको छ। किनकि नेसपाका नेतासमेत माओवादीको चुनाव चिह्नबाट लडेकाले पार्टी एकता गर्नुपर्ने दबाब पार्टीमा छ। यस विषयमा जारी केन्द्रीय समिति बैठकमा छलफल हुनेमा नसपाका नेताहरू आशावादी छन्। ‘पार्टीभित्र छलफल गर्ने भनिएको छ। हामी यसैको पर्खाइमा छौँ,’ नेसपाका एक नेताले भने, ‘उहाँहरूको निर्णय के हुन्छ।’

पछिल्लो समय भट्टराई एकताप्रति सकारात्मक छैनन्। समाजवादी मोर्चा बन्दा ‘बाइपास’ गरेको भन्दै उनी रुष्ट छन्। ‘असार १ मा मैले प्रचण्डसँग कुरा गर्दा छलफल हुँदैछ भन्नुभएको थियो। ४ गते मोर्चा घोषणाको कुरा आयो,’ भट्टराईले भनेका छन्, ‘उहाँहरू एकाएक मोर्चा घोषणा गर्न कसरी पुग्नुभयो। थाहा भएन।’

नेसपाका अन्य नेता भने जसरी पनि माओवादीसँग एकता गर्नुपर्ने राय राख्दै आएका छन्। माओवादीसँग दूरी बढ्दा सांसद पद पनि जाने भय उनीहरूमा छ।

बागमतीका आर्थिक मामिला तथा कानुनमन्त्री सांसद गंगानारायण श्रेष्ठले भने, ‘एकता गरेर जाँदा राम्रो भन्ने हो। यसमा हामी सबै एक छौँ। हामी वैधानिक रूपले माओवादीकै सांसद हौँ। तर पार्टी फरक भयो।’ माओवादीले भने विचार मिल्नेसँग एकताका लागि केन्द्रीय समितिमा प्रस्ताव लगेको जनाएको छ।

‘अप्ठ्यारा’ बाबुराम भित्र्याउन सजिलो छैन प्रचण्डलाई

तीन दशकभन्दा बढी समय प्रचण्डसँग सहकार्य गरेका भट्टराईले ०७२ असोज ९ मा तत्कालीन एमाओवादी र सांसद पद त्यागेर वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लागेका थिए। भट्टराईले माओवादी पार्टी परित्याग गरेपछि अध्यक्ष पुष्पकमल दाहालले खरो टिप्पणी गरेका थिए। उनले भनेका थिए, ‘बाबुरामजी जस्तो अफ्ठ्यारो व्यक्तिलाई मैले २५ वर्ष झेलेको छु, कसैले एक वर्ष झेलेर देखाएदिए हुन्थ्यो।’

दुई नेताबीच राजनीतिक सहकार्य २०४८ सालदेखि भएको हो। २०५२ दुई नेताकै निर्णयअनुसार ‘जनयुद्ध’ भए पनि ‘युद्धकाल’ मा भट्टराई पटकपटक पार्टी कारबाहीमा परेका थिए।

भट्टराई पहिलो संविधानसभा निर्वाचनपछि प्रचण्ड नेतृत्वमा गठित सरकारमा अर्थमन्त्री बनेका थिए। त्यसपछि दाहालकै प्रस्तावमा २०६८ सालमा भट्टराई प्रधानमन्त्री भएका थिए। माओवादीबाट अलग भएका भट्टराईले नयाँ शक्ति दल गठन गरे। त्यसपछि उनी भट्टराई संघीय समाजवादीमा आबद्ध भए भने अहिले नेपाल समाजवादी पार्टीका अध्यक्ष छन्।

नेता साहका अनुसार पार्टीको बैठक अन्य विषयमा केन्द्रित रहेकाले भट्टराईको दलका सम्बन्धमा कुरै उठेको छैन। विगतमा भट्टराईलाई अप्ठ्यारा व्यक्ति भनेर टिप्पणी गरेका प्रचण्डलाई पनि तत्काल पार्टीमा भट्टराईको प्रवेश गराउन सहज नहुने माओवादी नेताहरू बताउँछन्।

प्रकाशित: १९ साउन २०८० ११:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =