अहिलेको राजनीतिक गठबन्धन ठगबन्धन हो : डा. बाबुराम भट्टराई

हिमाल प्रेस ९ वैशाख २०८१ २०:५८
82
SHARES
अहिलेको राजनीतिक गठबन्धन ठगबन्धन हो : डा. बाबुराम भट्टराई

बुटवल- नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालको राजनीति देश लुट्ने अस्त्र बनेको बताएका छन्। आइतबार रिपोटर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा गरेको साक्षात्कारमा बोल्दै डा.भट्टराईले राजनीतिक दलहरूकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको बताए।

डा.भट्टराईले भने, ‘राजनीति भनेको देश लुट्ने अस्त्र बन्यो। चुनावलाई महँगो बनाउने र नागरिकले दिएको भोटले जितेर त्यसको फाइदा विभिन्न नाममा भ्रष्टाचार गर्ने प्रवृत्तिले देश ठूलो भड्कालोमा जाँदैछ।’

उनले ठूलो त्याग र बलिदानले ल्याएको गणतन्त्र र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको बताए। देशमा अहिले चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसायहरू धरासायी बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले वर्तमान सरकारले त्यसतर्फ ध्यान नदिएको बताए।

सरकारले खोल्न लागेका भ्रष्टाचारका ठूला फाइलहरूको हालसम्म कुनै टुंगोमा पुर्‍याउन नसकेको जनाउँदै सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलेको उनको दाबी छ।

देशमा उदाएका नयाँ शक्तिहरूको उपयुक्तता नहुने ठोकुवा गर्दै डा.भट्टराईले अब देशको विकासका लागि विभिन्न दिशामुखी दलहरू भन्दा देशलाई नेपालमुखी दल चाहिएकाले आफ्नो पार्टीलाई नयाँ वैकल्पिक पार्टी बनाउने दृढताका साथ अगाडि बढेको बताए।

‘आफ्नो पार्टीलाई केही शक्तिहरूले धमिलो बनाउन खोजेका थिए। मैले ती तत्त्वहरूलाई प्रदूषित गराउनबाट बचाउन अलग गरिसकेँ। म अब आफ्नो पार्टीलाई नेपालमुखी बनाउनेमा कस्सिएको छु,’ उनले भने ‘अहिलेको राजनीतिक गठबन्धन ठगबन्धन हो। यो गठबन्धन पहिले नै असफल भएकाले पटकपटक डोर्‍याए पनि सही मार्ग लिँदैन।’

डा.भट्टराईले सत्ताको लालाची आफू कहिल्यै नभएको स्पष्ट पारे। ‘पदको निम्ति कहिल्यै पनि कसैसँग सम्झौता गरेको छैन, न त मैले कुनै भ्रष्टाचार गरेको कुनै प्रमाण छ,’ उनले भने, ‘केही भुक्ने कुकुर छन्। ती भुक्ने कुकुरहरूलाई ढुंगा हान्ने भन्दा मेरो ध्यान आफ्नै बाटोमा छ। हामीहरूको एउटा माग छ त्यो हो प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको निर्वाचन प्रणाली। त्यसमा गयो भने मात्रै देशमा स्थायित्व सरकार आउने र विकास हुने विश्वास छ।’

प्रकाशित: ९ वैशाख २०८१ २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =