मणिपुरमा महिलामाथि यौनहिंसा

हिमाल प्रेस ४ साउन २०८० १६:३९
30
SHARES
मणिपुरमा महिलामाथि यौनहिंसा

काठमाडौँ– भारत, मणिपुर साढे दुई महिनायता अशान्त छ। मे महिनादेखि त्यहाँ मैतई र कुकी समुदायबीच हिंस्रक गतिविधि चलिरहेको छ। यसै क्रममा पछिल्ला दिनमा हिंसाको डरलाग्दो एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। जसमा भीडले कुकी समुदायका दुई महिलालाई निर्वस्त्र बनाई लखेटिएको छ। भारतीय अनलाइन समाचार पोर्टल  ‘द वायर’ का अनुसार उक्त भिडियो मे ४ को हो, जातीय हिंसा सुरु भएको भोलिपल्टको।

मणिपुरको कांगपोकपी जिल्लाको बी फैनोम गाउँमा यौनहिंसाको यो घटना भएको हो। घटनासँग सम्बन्धित उजुरीमा एक युवतीसँग सामूहिक बलात्कारसमेत भएको बताइएको छ।  भिडियोमा आठ सयदेखि एक हजारसम्म मैतई समुदायका पुरुष दुई महिलालाई खेदिरहेका छन्। भिडियोमा केही पुरुषले नग्न महिलालाई छोएको पनि देख्न सकिन्छ।

मे १८ मा कांगपोकपी जिल्लाको सैकुल प्रहरीद्वारा यसबारे जिरो एफआईआर दर्ता गरिएको थियो। त्यसपछि उजुरी नोंगोक सेकमाई प्रहरी थानामा पठाइएको थियो। उजुरीअनुसार भीडले बी फैनोम गाउँका घरमा आगो लगायो। भागिरहेका पाँच जनालाई पछ्याइयो। समूहमाथि आक्रमण गरियो। जसमा दुई पुरुष र तीन महिला थिए। प्रहरीले उनीहरूलाई बचायो पनि। तर अनियन्त्रित भीडले उनीहरूलाई प्रहरीबाट खोसेर फेरि आक्रमण गरेको थियो।

महिलालाई निर्वस्त्र गरियो। २० वर्षीया एक युवती सामूहिक बलात्कारमा परिन्। युवतीका भाइले बचाउन खोज्दा उनको हत्या गरियो। अन्य दुई महिला लखेटिए। मणिपुर प्रहरीका अनुसार घटनामा संलग्न दोषीलाई पक्राउ गर्ने प्रयास जारी छ। प्रहरीले घटनालाई अपहरण, सामूहिक बलात्कार र हत्याअन्तर्गत दर्ता गरेको छ।

यौन उत्पीडनको भयावह भिडियो बाहिरिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसबारे मुख खोलका छन्। मणिपुर घटनालाई उनले हृदयविदारक भनेका छन्। ‘यो राष्ट्रकै अपमान हो, दोषीलाई कडा कारबाही गर्नुपर्छ,’ उनले भनेका छन्।

घटना भएको दुई महिनाभन्दा बढी भइसक्दा पनि मोदी अहिलेसम्म मौन थिए। विपक्षी दलले उनीसँग यसबारे पटकपटक प्रश्न गरिरहँदा पनि मोदी चुइँक्क बोलेका थिएनन्।

आदिवासी समूहहरूको एकीकृत संस्था ‘इन्डिजिनस ट्राइबल लिडर्स फोरम’ले सामाजिक सञ्जालमा घटनाको भिडियो सेयर भएपछि पीडितमाथि यातना थप बढेको बताएको छ। संस्थाले भनेको छ, ‘ती निर्दोष महिलाले सहनुपरेको भयावह यातना अपराधीद्वारा घटना सम्बन्धित भिडियो साझा गर्ने निर्णयले झन् थपिएको छ। जसले पीडितको पहिचानलाई खुलाउँछ।’

संगठनले घटनाको कडा निन्दा गरेको छ। राष्ट्रिय महिला आयोगलगायत विभिन्न संघसंस्थासँग यस अपराधबारे अनुसन्धान गरी दोषीलाई सजाय र पीडितलाई न्याय दिलाउन आग्रह गरेका छन्।

मे ३ मा कुकी र मैतई समुदायबीच जातीय हिंसा भड्किएको थियो। हिंसामा परी अहिलेसम्म १४० भन्दा बढीले ज्यान गुमाइसकेका छन्। हजारौँ घाइते र ५० हजारभन्दा बढी विस्थापित भएका छन्।

मणिपुरमा आफूलाई अनुसूचित जनजातिको दर्जा दिन मैतई समुदायको मागको विरोध गर्दै त्यहाँ ‘आदिवासी एकजुटता मार्च’ आयोजना गरिएको थियो। दुई समुदायबीचको आपसी झगडाले पछि हिंसाको रूप लिएको हो।

मणिपुरमा ५३ प्रतिशत जनसंख्या मैतई समुदायको छ। उनीहरू मुख्य रूपले इम्फालमा बस्छन्। नगा र कुकी समुदायको जनसंख्या ४० प्रतिशत छ। उनीहरू पर्वतीय जिल्लामा बस्छन्।

मणिपुरमा भारतीय जनता पार्टी (बीजेपी) को सरकार छ। एन. बीरेन सिंह मुख्यमन्त्री हुन्। भारतका अन्य राजनीतिक दलले बीजेपी र प्रधानमन्त्री मोदीको आलोचना गरेका छन्। विपक्षले ‘केन्द्र सरकारको निष्क्रियता र यतिका दिनसम्म प्रधानमन्त्री मोदी मौन रहनुलाई मणिपुर हिंसाको जिम्मेवार बताएका छन्।

यसैबीच मणिपुर घटनाबारे भारतको सर्वोच्च अदालतको ध्यानाकर्षण भएको छ। भारतका मुख्य न्यायाधीश डीवाई चन्द्रचूणले यस्तो घटनालाई अस्वीकार्य बताएका छन्। उनले मणिपुर सरकारलाई दोषीमाथि कानुनी कारबाही गर्ने र सर्वोच्चलाई जानकारी गराउने आदेश दिएका छन्।

‘मणिपुरमा महिलामाथि भएको यौन हिंसा अस्वीकार्य छ,’ उनले भनेका छन्, ‘अपराधीलाई जवाफदेही बनाउन मणिपुर सरकारले उचित पहल गरोस् र सर्वोच्चलाई त्यसबारे जानकारी दिओस्। यस्ता घटना दोहोरिनु हुँदैन।’

प्रकाशित: ४ साउन २०८० १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 7 =