गौशाला बनेपछि कैलालीका किसानलाई राहत, पशुलाई छैन आहारा

हिमाल प्रेस २० असार २०८० ७:४५
10
SHARES
गौशाला बनेपछि कैलालीका किसानलाई राहत, पशुलाई छैन आहारा फाइल तस्बिर।

कैलाली– कैलालीको भजनी नगरपालिका-१ मा सामुदायिक चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको छ। गौशाला बनेपछि चौपायाको सास्ती खेप्दै आएका किसानलाई राहत मिलेको छ।

किसानलाई खेती जोगिँदा राहत भए पनि व्यवस्थापन गरिएका चौपायालाई खाने आहारा अभाव छ। भजनीकी मनसरा बोहरा चौपाया व्यवस्थापन भएदेखि त्यहाँ काम गर्दै आएकी छन्।

उनी गौशालामा चौपायाको मलमूत्र व्यवस्थापन गर्ने काम गर्छिन्। ६ वर्षदेखि यही काममा लागेकी बोहराका अनुसार चौपायालाई पर्याप्त आहारा नहुँदा समस्या भएको छ। ‘गौशालाको अवस्था दयनीय छ, खानलाई आहारा छैन,’ उनले भनिन्।

बिर्मादेवी बोहरा पनि त्यहीँ गौशालामा मलमूत्र व्यवस्थापनको काम गर्छिन्। गर्मीको समयमा मलमूत्र व्यवस्थापन गर्न सहज भए पनि बर्सातमा भने कठिन हुने गरेको उनको भनाइ छ।

‘चौपायाका लागि ट्रस्ट निर्माणको आवश्यकता छ, यसोगरे मलमूत्रको व्यवस्थापन गर्न सहज हुन्छ,’ उनले भनिन्।

सामुदायिक चौपायाको व्यवस्थापन गर्न समिति बनाइएको छ। त्यो समितिले चौपाया चराउनका लागि गोठाला पनि राखेको छ। मलमूत्र व्यवस्थापन गर्न र गोठाला गरी सात जना गौशालामा कार्यरत छन्।

उनीहरूको पारिश्रमिक भजनी नगरपालिकाले बेहोर्दै आएको छ। प्रतिव्यक्ति ९ हजारका दरले मासिक पारिश्रमिक त्यहाँ काम गर्ने कामदारले पाउने गरेका छन्।

फुलराम चौधरी त्यो चौपायाको गोठालोका रूपमा एक वर्षदेखि काम गर्दै आएका छन्। चरनको भरमा बाँचेका चौपायालाई जंगलमा थेग्न मुस्किल हुने गरेको उनी बताउँछन्।

‘खानेकुरा केही छैन। भोका चौपाया चरन खोज्दै भौँतारिँदा तिनलाई सम्हाल्न गाह्रो हुन्छ,’ चौधरीले भने,’ ‘चौपाया खान नपाएर मर्ने अवस्था छ।’

आफूहरू पाँचजना गोठाला भए पनि चौपायाको चापले समस्या हुने गरेको उनले बताए।

चौपायाको आहाराका लागि नगरपालिकाले दुई लाख ६८ हजारको पराल खरिद गरेको थियो। त्यो पराल केही महिनामै सकियो। त्यसपछि चौपाया चरनको भरमा बाँचिरहेका छन्।

गौशाला व्यवस्थापन समितिका अध्यक्ष देशराम चौधरी बजेट नभएका कारण चौपायाका लागि आहारा खरिद गर्न नसकिएको बताउँछन्।

नगरपालिकाले दिएको पैसाले खरिद गरेको पराल सकिएपछि चौपाया चरनको भरमा बाँचेको उनी स्वीकार्छन्।

‘गौशालामा २ सय ५० भन्दा बढी चौपाया छन्। ती चौपायामा लगानी मात्रै छ, आम्दानी भनेको तिनको गोबर मात्रै हो,’ उनले भने, ‘समितिसित पर्याप्त पैसा छैन। थोरैले पुग्ने अवस्था छैन। त्यहीँ चरनको विकल्पमा चौपाया बाँचेका छन्।’

गौशाला व्यवस्थापन समितिले गौशालामा उत्पादन भएको गोबर बिक्री गर्दै आएको छ। समितिले यसपटक गोबरबाट एक लाख २५ हजार आम्दानी गरेको छ।

अझै केही गोबर बिक्री गर्न बाँकी छ। प्रतिट्र्याक्टरको ५ हजारका दरले गोबर बिक्री हुन्छ। त्यसबाट भएको आम्दानी त्यसैमा खर्च हुने गरेको अध्यक्ष चौधरीको भनाइ छ।

व्यावसायिक रूपमा काम गर्ने भन्दै भजनीका स्थानीय केही युवाले सुरु गरेको गौशाला पछि उनहरूले नसकेर छोडेपछि नगरपालिकाको मातहतमा सञ्चालन गर्नुपरेको हो। नगरपालिकाले वर्षमा १५ लाखभन्दा बढी रकम चौपाया व्यवस्थापनका नाममा खर्च गर्दै आएको छ।

भजनी नगरपालिकाको मात्रै होइन, कैलालीका अधिकांश स्थानीय तहमा गौशाला बनाइएका छन्। त्यहाँको समस्या पनि भजनीको भन्दा फरक छैन।

निर्वाचनका समयमा चौपाया व्यवस्थापनलाई चुनावी एजेन्डा बनाएका जनप्रतिनिधिले केही हदसम्म व्यवस्थापनको काम त गरेको देखिन्छ।

तर आहाराको व्यवस्था नहुँदा पशु चौपाया दैनिक मरिरहेका छन्। चौपाया व्यवस्थापन राम्रो नभएको स्थानीय राम शर्मा बताउँछन्।

‘चौपाया व्यवस्थापनलाई उत्पादनसँग जोडेर स्थानीय क्षेत्रमा रोजगारीको अवसरका रूपमा रूपान्तरण गर्न सक्नुपर्छ। अनि मात्रै भएको लगानीले पनि सार्थकता पाउँछ,’ उनले भने।

टीकापुर नगरपालिकामा भने स्थानीय युवाले गौशाला व्यवस्थापनको काम अगाडि बढाएका छन्। व्यावसायिक रूपमा काम गर्ने उद्देश्यका साथ लागेका युवाले चौपायाको आहाराका लागि घाँस खेती सुरु गरेका छन्।

प्रकाशित: २० असार २०८० ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =