बढ्दो चिसोले मर्न थाले महोत्तरी गौशालाका गाई

हिमाल प्रेस २९ मंसिर २०७९ १६:५४
4
SHARES
बढ्दो चिसोले मर्न थाले महोत्तरी गौशालाका गाई फाइल तस्बिर।

महोत्तरी– संरक्षण अभावमा गौशालामा रहेका गाईको अहिले बिजोग भएको छ। खानपान, उपचार अभाव र पछिल्लो समय बढेको चिसोका कारण गौशाला नगरपालिका ३ नवराजपुरस्थित गौशालाका गाई धमाधम मर्न थालेका हुन्।

बढ्दो चिसोमा ब्याएका गाई कुपोषणका कारण एकपछि अर्को मर्न थालेका छन्। ‘३ दिन अघिमात्रै १ महिनाअघि ब्याएको गाई खानै नपाएर मर्‍यो,’ गौशालाको प्रशासन शाखाका खरिदार सुरेश सिंह भन्छन् ‘गौशालामै गाई खान नपाएर भकाभक मर्दैछन्, यस्तो बिजोग देख्दा कस्तो ठाउँमा काम गर्नुपरेछ भन्ने लागेको छ।’

गत साउनयतामात्रै ठूला र साना बाच्छाबाच्छीसहित ३८ वटा गाई मरिसकेका खरिदार सिंहले जानकारी दिए। राष्ट्रिय सहकारी विकास बोर्डअन्तर्गत रहेको यो गौशालाका गाई उचित रेखदेख, पौष्टिक आहार र उपचारसमेत नपाएर दुब्लो र ख्याउटे अवस्थामा पुगेका छन्।

‘न गाईलाई पर्याप्त आहार छ, न खानपानको व्यवस्थित तालिका नै, गोठ पनि के भनौँ? खोरमा थुनिएका छन्। खुवाउनका लागि सुक्खा परालबाहेक केही छैन,’ उनले भने।

‘सबैजसो गाईका हाडछालामात्र देखिन्छ। पाल्नै नसकिने गरी सरकारले किन गौशालामा राखेर गाईको बिजोग देखाएको होला?,’ भंगाहा नगरपालिका ४ रामनगरका रामईश्वर ठाकुरले भने, ‘यिनले हरियो घाँस नदेखेको महिनौँ भयो होला, कर्मचारी त जागिर खानमात्रै यहाँ देखिने हुन्, गाईको बिजोग देख्दा मन थाम्न गाह्रो पर्‍यो।’

गौशाला सञ्चालनका लागि १ सय ४८ बिघा जग्गा छ। उक्त जग्गामा घाँस र अन्य बाली व्यवस्थित रूपले लगाउन नसक्दा गाईलाई आहाराको अभाव भएको गौशालाबासी बताउँछन्। ‘गाईकै खानपान प्रबन्धका लागि जग्गा हो नि, तर त्यो जग्गा खनजोत गर्ने, घाँस र अन्यबाली लगाउने गरेको देखिँदैन, अधिकांश जग्गा बाँझै छ,’ रजखोर बस्तीका मनोज थापामगरले भने।

यो गौशालामा हाल ३० कर्मचारी कार्यरत रहेका र तीमध्ये २६ जना त गोठालाकै दरबन्दीमा रहेका छन्। गौशालामा गतवर्ष १८ वटा दूध दिने गाई थिए। पोहोर साल दूध बेचेर करिब २२ लाख रुपैयाँ आम्दानी भएको खरिदार सिंहले बताए।

यसपाली दुहुना र नयाँ ब्याउने गाई नै धमाधम मर्न थालेपछि दूधको अनिकाल परेको उनको भनाइ छ।

प्रकाशित: २९ मंसिर २०७९ १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =