सुदूरपश्‍चिममा लम्पी स्किनबाट २६ हजार पशु चौपाया मरे

हिमाल प्रेस ५ साउन २०८० १०:२९
6
SHARES
सुदूरपश्‍चिममा लम्पी स्किनबाट २६ हजार पशु चौपाया मरे फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ– ‘लम्पी स्किन’ रोगको संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार ९ सय ९१ पशुचौपाया मरेका छन्।

प्रदेशका ९ वटै जिल्लामा ६ लाख ३४ हजार ७ सय ९९ पशुचौपायामा लम्पी स्किनको संक्रमण पुष्टि भएको छ।

३ वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीका अनुसार लम्पी स्किनबाट सबैभन्दा बढी बैतडीमा ११ हजार १८ पशुचौपाया मरेका छन्।

पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलले पशु सेवा विभागलाई उपलब्ध गराएको तथ्यांकअनुसार प्रदेशमा छ सय ३० पशुचौपायालाई सो रोगविरुद्धको खोप लगाइएको छ।

‘३ वर्षदेखि लम्पी स्किनबाट पशुचौपाया संक्रमित हुँदै आएका छन्,’ डा. अवस्थीले भने, ‘यस वर्ष पहाडी जिल्लामा कडा खालको संक्रमण देखियो।’

‘पोक्स’ भाइरसको संक्रमणबाट हुने लम्पी स्किनबाट सबैभन्दा बढी कैलालीमा २ लाख ३३ हजार ५ सय पशुचौपाया संक्रमित भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय डोटीका अधिकृत पुष्करराज नाथले जानकारी दिए।

कैलालीमा १५ हजार बाच्छाबाच्छी, ८३ हजार ३ सय ९३ गाई, २१ हजार ३ सय ५१ गोरु र एक लाख १३ हजार ३ सय २७ भैँसी यसबाट संक्रमित भएका छन्। कैलालीमा लम्पी स्किनबाट हालसम्म छ सय ५७ पशुचौपाया मरेको तथ्यांक छ।

यसैगरी लम्पी स्किनबाट बझाङमा ४ हजार छ सय २३ पशुचौपाया मरेका छन्। सबैभन्दा कम कञ्चनपुरमा १८ पशुचौपाया सो रोगबाट मरेको तथ्यांक छ।

यस्तै अछाममा एक हजार ६ सय ७८, डोटीमा ३ हजार छ सय ७९, बाजुरामा ७ सय ५३ र दार्चुलामा एक हजार छ सय ६९ र डडेल्धुरामा २ हजार ३ सय ९६ पशुचौपाया लम्पी स्किनबाट मरेको तथ्यांक छ।

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीमा प्रमुख गुमानीदत्त पन्तले रोगको नियन्त्रणका लागि पहल भइरहेको जानकारी दिए।

‘मन्त्रालय र स्थानीय तहको पहलमा औषधि वितरण गर्ने काम भइरहेको छ।

पालिकामार्फत पशुपालक किसानलाई औषधि वितरण गरिँदै छ,’ उनले भने। औषधि र खोप अभाव भएको पन्तले बताए।

प्रकाशित: ५ साउन २०८० १०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =