सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

हिमाल प्रेस २७ असोज २०८३ २१:२३ | Tuesday, October 13, 2026
12
SHARES
सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ।

प्रदेशसभाको मंगलबारको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष २०८३र८४ को बजेट बहुमतले पारित भएसँगै करिब तीन महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो।

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए।

त्यही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो। बजेटमाथिको छलफल सुरु हुनुअघि नै विवाद चर्किएपछि त्यसयता प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो।

बजेट विवाद समाधान गर्न सत्ताको नेतृत्वकर्ता दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बजेट संशोधन तथा विवादित विषयको छानबिन गर्न र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमत भएपछि प्रक्रिया अगाडि बढेको थियो।

यहाँ बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भइ प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रहेको छ।

संघीय रोयल्टी बाँडफाँटवापत प्राप्त हुने सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान नौ अर्ब छ करोड ३३ लाख, आर्थिक वर्ष २०८२र८३ को विनियोजनबाट बचत हुने नौ अर्ब ६५ करोड, ससर्त अनुदानबाट प्राप्त हुने छ अर्ब तीन करोड ५८ लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने ३८ करोड ८० लाख र विशेष अनुदानबाट ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान रहेको छ।

यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार १ गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलिएपछि बजेट पारित हुनसकेको थिएन।

सोही असार २९ गते नेपाल कम्युनिस्ट पार्टी (एमाले) को समर्थनमा नेपाली कम्युनिस्ट पार्टीका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो।

प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको सभामुख भण्डारीले सभालाई जानकारी गराए।

प्रकाशित: २७ असोज २०८३ २१:२३ | Tuesday, October 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast