चाडपर्वपछि भारत फर्किने नेपालीको लर्को, दैनिक ६ हजार सीमापार

हिमाल प्रेस १३ मंसिर २०८३ २०:५१ | Sunday, November 29, 2026
चाडपर्वपछि भारत फर्किने नेपालीको लर्को, दैनिक ६ हजार सीमापार फाइल तस्बिर

धनगढी- महान् चाड बडादसैँ, दीपावली तथा छठ पर्व मनाएर घर फर्किएका सुदूरपश्चिमका नेपाली पुन: रोजगारीका लागि छिमेकी मुलुक भारत जान थालेका छन्।

कैलालीको त्रिनगर भन्सार नाकाबाट दैनिक करिब ६ हजार नेपाली रोजगारीका लागि भारत गइरहेको सीमास्थित सशस्त्र प्रहरी बलको सीमा हेल्प डेस्कले जनाएको छ। उनीहरू चाडपर्व मनाउन भारतका विभिन्न सहरबाट केही समयअघि घर फर्किएका थिए।

लामो समयदेखि भारतको मुम्बईमा रोजगारी गर्दै आएका डोटीको आदर्श गाउँपालिकाका रमेशबहादुर साउद केही समयअघि चाडपर्व मनाउन घर आएका थिए।

अहिले उनी पुनःरोजगारीका लागि भारत फर्कन लागेका छन्। उनी मुम्बईस्थित एक होटलमा भान्सेको काम गर्छन्।

नेपालमा रोजगारी पाउन कठिन हुनुका साथै काम पाए पनि त्यसबाट हुने आम्दानीले परिवारको खर्च धान्न मुस्किल पर्ने भएकाले भारत जानु परेको साउदले बताए।

सोही नाकाबाट भारत जाँदै गरेका कैलालीको गोदावरीका हरि नेपाली बडादसैँमा टीका लगाउन र परिवारसँग भेटघाट गर्न घर आएको बताए।

उनी अहिले रोजगारीका लागि भारतको सुरत जाँदै छन्। बाजुराका नरेश बुढा पनि रोजगारीका लागि भारतको पञ्जाव् जाँदै छन्।

सुदूरपश्चिमका नेपाली छोटो तथा लामो समयका लागि रोजगारी गर्न भारत जाने गरेका छन्।

खेतीपाती हुनेहरू कृषि काम सकेर अन्नबाली भित्र्याउने समयसम्म भारतमा काम गर्छन् भने खेतीपाती नहुनेहरू लामो समयसम्म भारतमा बसेर चाडपर्वका बेला घर फर्कने र त्यसपछि पुनः काममा जाने गरेका छन्।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाबाट रोजगारीका लागि भारतका मुम्बई, दिल्ली, पिथौरागढ, नासिक र पञ्जाव्लगायत सहरमा जाने गरेका छन्।

भिसा नलिई भारत जान र त्यहाँ रोजगारी पाउन सहज भएकाले पनि नेपालीहरू रोजगारीका लागि भारत जाने गरेको पाइन्छ।

प्रकाशित: १३ मंसिर २०८३ २०:५१ | Sunday, November 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast