सशस्त्र प्रहरीमाथि तस्कर समूहको आक्रमण, ६ राउण्ड हवाई फायर

हिमाल प्रेस १३ मंसिर २०८३ १९:२७ | Sunday, November 29, 2026
20
SHARES
सशस्त्र प्रहरीमाथि तस्कर समूहको आक्रमण, ६ राउण्ड हवाई फायर हवाई फायर तस्बिर एआई निर्मित ।

काठमाडौँ- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-५ गेरमा अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको खरबुजाको बीउ नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीमाथि तस्कर समूहले आक्रमण गरेको छ। स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ।

नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएको खरबुजाको बीउ रोक्ने क्रममा उक्त घटना भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार सीमा सुरक्षा गुल्म हरपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको सात सदस्यीय टोलीमाथि करिब १०० देखि १५० जनाको समूहले ढुंगामुढा प्रहार गरेको थियो। आक्रमणबाट ड्युटीमा खटिएका चार जना सशस्त्र प्रहरी कर्मचारी सामान्य घाइते भएका छन्।

तस्करीका लागि लैजाँदै गरिएको खरबुजाको बीउ नियन्त्रणमा लिने क्रममा ठूलो संख्यामा आएका व्यक्तिहरूले सुरक्षाकर्मीमाथि आक्रमण गर्नुका साथै नियन्त्रणमा लिइएको सामानसमेत खोसेर लगेपछि अवस्था तनावपूर्ण बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको सहप्रवक्ता थापाले बताए।

सशस्त्र प्रहरीले सुरुमा २० देखि २५ बोरा खरबुजाको बीउ नियन्त्रणमा लिएको भए पनि आक्रमणकारी समूहले खोसेर लगेपछि हाल दुई बोरा मात्र नियन्त्रणमा रहेको उनले जानकारी दिए। घटनामा मानवीय क्षति भने नभएको बताइएको छ।

घटनापछि थप सुरक्षा व्यवस्थाका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीबाट थप टोली परिचालन गरिएको थियो।

पछिल्लो समय सीमा क्षेत्रमा तस्करी नियन्त्रणका क्रममा सशस्त्र प्रहरीमाथि आक्रमणका घटना बढ्दै गएको जनाइएको छ।

प्रकाशित: १३ मंसिर २०८३ १९:२७ | Sunday, November 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast