अरूका नाममा बैंक खाता खोलेर हुन्डी कारोबार, एफआईयूको प्रतिवेदनले देखायो जोखिम

हिमाल प्रेस १३ मंसिर २०८३ २०:२६ | Sunday, November 29, 2026
अरूका नाममा बैंक खाता खोलेर हुन्डी कारोबार, एफआईयूको प्रतिवेदनले देखायो जोखिम तस्बिर एआई निर्मित

काठमाडौँ- सन् २०२५ जनवरीदेखि २०२६ जुलाई (पुस-असार) सम्म दर्ता भएका शंकास्पद कारोबार तथा शंकास्पद गतिविधिसम्बन्धी सूचना मध्ये १०‍.६ प्रतिशत हुन्डी कारोबारसँग सम्बन्धित रहेको एक प्रतिवेदनले जनाएको छ।

नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू) ले तयार पारेको पछिल्लो प्रतिवेदनअनुसार करिब ९० प्रतिशत हुन्डीसम्बन्धी यस्ता सूचनाहरू वाणिज्य बैंकहरूले दर्ता गरेका हुन्।

हुन्डीको प्रवृत्ति, कारोबारका तरिका तथा यससँग सम्बन्धित जोखिमको विश्लेषण गरिएको प्रतिवेदनले सन् २०२५ जनवरी २ देखि २०२६ जुलाई १६ सम्म दर्ता भएका हुन्डीसम्बन्धी १ हजार ६७२ वटा शंकास्पद कारोबार प्रतिवेदन (एसटीआर) तथा शंकास्पद गतिविधि प्रतिवेदन (एसएआर) को विश्लेषण गरेको छ। यो संख्या यस अवधिमा प्राप्त कुल १५ हजार ८१५ वटा एसटीआर तथा एसएआरको १०.६ प्रतिशत हो।

परम्परागत रूपमा व्यापार तथा रेमिट्यान्स भुक्तानीमा प्रयोग हुँदै आएको हुन्डी पछिल्लो समय सीमापार अवैध रकम ओसारपसार गर्ने संगठित र डिजिटल माध्यमका रूपमा विकसित हुँदै गएको प्रतिवेदनमा उल्लेख छ। सामान्य बैंकिङ माध्यमबाट हुने रकम स्थानान्तरणभन्दा फरक, हुन्डीमा भौतिक रूपमा रकम सीमापार पठाइँदैन।

यसको सट्टा कसमा संलग्न व्यक्ति तथा संस्थाहरुले हिसाब मिलान, व्यापारिक कारोबारमा वास्तविकभन्दा कम मूल्य देखाउने, नगद ओसारपसार गर्ने, अरूका नाममा खोलिएका बैंक खाता प्रयोग गर्ने तथा भर्चुअल सम्पत्तिमार्फत कारोबार मिलाउने गरेको प्रतिवेदनमा उल्लेख छ।

वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स अन्यत्र मोडिनु, आयातमा वास्तविकभन्दा कम मूल्य देखाइनु, नेपाल र भारतबीचको लामो तथा खुला सीमा, नगदमा आधारित ठूलो अर्थतन्त्र र प्रतिबन्धित भर्चुअल सम्पत्तिप्रतिको आकर्षणलाई प्रतिवेदनले हुन्डी कारोबार बढाउने प्रमुख कारणका रूपमा औंल्याएको छ।

राष्ट्रिय फौजदारी संहिताको दफा १२५क अनुसार हुन्डी आपराधिक कसुर हो। विदेशी विनिमय (नियमित गर्ने) ऐनले पनि यसलाई निषेध गरेको छ। सम्पत्ति शुद्धीकरण निवारण ऐनमा २०२५ जनवरी २ देखि (पुस) हुन्डीलाई सम्पत्ति शुद्धीकरणको सम्बद्ध कसुर का रूपमा समावेश गरिएको छ।

प्रतिवेदनअनुसार हुन्डीसम्बन्धी सूचनामा मधेस प्रदेशको हिस्सा आधाभन्दा बढी अर्थात् ५३ प्रतिशत छ। यस्ता सूचनाहरूमा उल्लेख गरिएका व्यक्तिहरूको ठेगाना वा दर्ता विवरणका आधारमा उनीहरू यस प्रदेशमा रहेको पाइएको हो। उनीहरूमध्ये अधिकांश वैदेशिक रोजगारीमा जाने कामदारको प्रमुख स्रोत रहेका सीमावर्ती जिल्लाका छन्।

हुन्डीसम्बन्धी प्रतिवेदनमा जोडिएका व्यक्तिमध्ये ८४ प्रतिशत पुरुष छन् भने ६५.५ प्रतिशत २५ देखि ४४ वर्ष उमेर समूहका छन्। प्रतिवेदनमा विद्यार्थी र गृहिणीसमेतको संलग्नता देखिएको छ। यसले आपराधिक सञ्जालले औपचारिक बैंकिङ प्रणालीमार्फत रकम ओसारपसार गर्न अरू व्यक्तिका नाममा खोलिएका बैंक खाता प्रयोग गरिरहेको हुन सक्ने देखाउँछ।

हुण्डी सम्बन्धि सूचनामा मा समेटिएका व्यवसायमध्ये ४३ प्रतिशत खुद्रा व्यापारी छन् भने ४१.५ प्रतिशत रेमिट्यान्सका सबएजेन्ट छन्। यी दुई समूहको हिस्सा मात्रै शंकास्पद हुन्डी कारोबारसँग सम्बन्धित व्यवसायको ८४ प्रतिशत पुगेको छ।

विश्लेषणअनुसार करिब ४० प्रतिशत शंकास्पद कारोबार सूचनाहरुमा त्यस्ता बैंक खाताहरू संलग्न छन्।  जुन प्रतिवेदन दर्ता हुनुभन्दा एक वर्षभन्दा कम समयअघि खोलिएका थिए। यसले हुन्डी कारोबारका लागि नयाँ खोलिएका बैंक खातासमेत प्रयोग भइरहेको संकेत गर्छ।

नेपाल प्रहरीको तथ्यांकअनुसार हुन्डीसम्बन्धी अनुसन्धानका घटना आर्थिक वर्ष २०२१ र २२ मा १८ रहेकामा २०२४ र २५ मा बढेर ६० पुगेका छन्। पछिल्लो पाँच वर्षमा यस्ता मुद्दासँग सम्बन्धित २७३ करोड ६२ लाख रुपैयाँ जफत गरिएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले नेपालमा हुन्डी कारोबार सञ्चालन गर्न प्रयोग भइरहेका आठ प्रमुख तरिका पहिचान गरेको छ। तीमध्ये अरूका नाममा खोलिएका बैंक खाता प्रयोग गर्ने, विभिन्न बैंक खातामार्फत योजनाबद्ध रूपमा टुक्र्याएर नगद जम्मा तथा रकम स्थानान्तरण गर्ने, अस्तित्वमा नरहेका कम्पनीलगायत कानुनी संस्थाको प्रयोग गर्ने, क्रिप्टोकरेन्सी प्रयोग गर्ने, भौतिक रूपमा नगद ओसारपसार गर्ने, परम्परागत हिसाब मिलानका विधिसँगै डिजिटल माध्यमबाट समन्वय गर्ने, रेमिट्यान्स सबएजेन्ट प्रयोग गर्ने तथा सुन तस्करीसँग सम्बन्ध राख्ने विधि छन्।

हुन्डी नियन्त्रण गर्न एफआईयूले बैंक तथा अन्य सूचक संस्थाहरूको नियमित कारोबार अनुगमन प्रणाली बलियो बनाउने, योजनाबद्ध रूपमा टुक्र्याएर गरिने नगद जम्मा तथा अरूका नाममा खोलिएका बैंक खाताको पहिचान गर्ने, ग्राहकको विस्तृत पहिचान तथा जाँच प्रक्रिया लागू गर्ने र शंकास्पद गतिविधि पत्ता लगाउन उपकरण तथा भौगोलिक स्थान ट्र्याकिङ प्रयोग गर्ने सुझाव दिएको छ।

शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी सूचनाको गुणस्तर र समयबद्धता सुधार गर्ने, कर्मचारीलाई नियमित तालिम दिने, जनचेतना अभिवृद्धि गर्ने तथा आफ्नो कारोबार अनुगमन प्रणालीको आवधिक समीक्षा गर्ने सुझाव दिएको छ।

यसैगरी, वित्तीय क्षेत्रका नियामक तथा सुपरिवेक्षण निकायलाई डिजिटल वालेट, रेमिट्यान्स एजेन्ट र सहकारी संस्थाको निगरानी बलियो बनाउन, कृत्रिम बुद्धिमत्तामा आधारित कारोबार अनुगमन प्रणाली प्रवर्द्धन गर्न तथा उच्च जोखिमयुक्त गतिविधिका लागि थप अनुगमन मापदण्ड लागू गर्न प्रतिवेदनले सिफारिस गरेको छ।

प्रकाशित: १३ मंसिर २०८३ २०:२६ | Sunday, November 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast