पर्वतमा दलित परिवारका पशु चौपायाको निःशुल्क बिमा

हिमाल प्रेस १७ असार २०८० १३:०१
4
SHARES
पर्वतमा दलित परिवारका पशु चौपायाको निःशुल्क बिमा फाइल तस्बिर।

पर्वत– पर्वतको महाशिला गाउँपालिकाले सबै दलित परिवारले पालेका पशुपक्षीको निःशुल्क बिमा गरिदिने भएको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको हो। दलित परिवारको अर्थावस्था सुधार गर्न तथा उनीहरूलाई व्यावसायिक कृषिमा आकर्षित गर्ने उद्देश्यले दलित परिवारले पालेका सबै पशुको बिमाको लागि ८ लाख रुपैयाँ विनियोजन गरिएको पालिकाका अध्यक्ष ईश्वरी भुसालले जनाए।

दलित परिवारलाई व्यावसायिक रूपमा पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले पनि यो कार्यक्रम गरिएको हो। यहाँका ६ वटै वडामा दलित समुदायको बाहुल्यता छ।

तर उनीहरूले अहिलेसम्म निर्वाहमुखी रूपमा गाई भैंसी पाल्दै आएका छन्। यो कार्यक्रमले उनीहरूलाई व्यावासयिक रूपमा पशु पाल्न प्रेरित गर्ने गाउँपालिकाका अध्यक्ष भुसालको विश्वास छ।

त्यसैगरी पशुपालनको क्षेत्रमा कृषकलाई थप प्रोत्साहन गर्न, पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्न र लिमे पारकोटे पाडापाडी संरक्षण होस् भनेर प्रत्येक सुत्केरी भैंसीका लागि ५ सयका दरमा भैंसी सुत्केरी कार्यक्रम सञ्चालन गर्नका लागि पनि बजेट विनियोजन गरेको छ।

गाउँपालिकाले विगतका वर्षमा सञ्चालन गर्दै आएका धेरै कार्यक्रमलाई निरन्तरता दिएको छ। महाशिलाको सरोकार : १ घर १ रोजगार भन्ने मूल नाराका साथ सुरु भएको महाशिला विकास स्वयंसेवक कार्यक्रमलाई अझै प्रभावकारी रूपमा सञ्चालन २ करोड २६ लाख ३८ हजार ७ सय रुपैयाँ विनियोजन भएको छ।

विदेशमा रहेका र सहरमा रहेका युवालाई गाउँ फर्केर उद्यमी बन्न प्रोत्साहन गर्ने उद्देश्यले गाउँमा उद्यम घरमै रोजगारी : घर फर्क प्यारा प्यारी कार्यक्रमअन्तर्गत ब्याज अनुदानका लागि आवश्यक रकम विनियोजन गरेको गाउँपालिकाले बताएको छ।

घर फर्क प्यारा-प्यारी अभियान र बसाइँ फर्क अभियान अन्तर्गत बैंक ब्याज र खाद्यान्न अनुदान साझेदारीका लागि ५ लाख छुट्याइएको छ।

यस्तै गाउँपालिकाका सबै विद्यालयमा अंग्रेजी पाठ्यपुस्तक अनुदान, विद्यालय सुशासन प्रवर्द्धन, अभिभावक शिक्षा, होमवर्क डायरी, पढ्दै कमाउँदै अभियान, प्रधानाध्यापकलाई प्रोत्साहन, अध्यक्ष असहाय बालबालिका छात्रवृत्ति कल्याणकारी कोष, आवासीय विद्यालय सञ्चालनका लागि पनि बजेट दिइने भनिएको छ।

यस्तै प्राविधिक धारमा स्नातक तह अध्ययनका लागि गाउँपालिकाका चार जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक १ लाख सहायता दिने कार्यक्रम पनि गाउँपालिकाले घोषणा गरेको छ।

गर्भवती तथा सुत्केरीलाई अस्पतालसम्म आउजाउ गर्नका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, गाउँपालिकालाई जिरो होम डेलिभरी कार्यक्रमलाई निरन्तरता दिन सुत्केरी महिलाको स्वास्थ्य अवस्थाको सुधारका लागि स्वास्थ्य संस्थामा सुत्केरी हुने सुत्केरी महिलालाई कुखुरा वा घिउसहित घरमा भेट्न जाने उद्देश्यले अध्यक्ष सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

गाउँपालिकाले सुत्केरी अवस्थामा रहेका तथा किरियामा रहेकाहरूलाई लक्षित गरेर कुनाबाट कोरासम्म कार्यक्रमका लागि पनि आवश्यक रकम विनियोजन गरेको बताएको छ।

बजेट वक्तव्यमा हरेक दुई महिनामा दीर्घरोगी र वृद्धहरूलाई घर-घरमै गएर निःशुल्क उपचार गर्ने तथा मधुमेह र उच्च रक्तचापको निःशुल्क परीक्षणका लागि आवश्यक बजेट विनियोजन गरेको पनि गाउँपालिकाले बताएको छ।

प्रकाशित: १७ असार २०८० १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eight =