बाढी बिमामा कैलाली र बर्दियाका ४ हजार किसान आबद्ध

हिमाल प्रेस १७ असोज २०८० १४:१५
बाढी बिमामा कैलाली र बर्दियाका ४ हजार किसान आबद्ध फाइल तस्बिर : रासस

टीकापुर- कैलाली र बर्दियाका ४ हजार २७८ किसान बाढी बिमामा आबद्ध भएका छन्। कर्णाली नदीका कारण जोखिममा रहेका किसान बाढी सूचकांकमा आधारित बाढी बिमामा आबद्ध भएका हुन्।

यो कार्यक्रम कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका, बर्दियाको गेरुवा गाउँपालिका, राजापुर र मधुवन नगरपालिकामा लागू भएको छ। सूचकांकमा आधारित बाढी बिमामा गत वर्ष ९३५ घरधुरी आबद्ध भएका थिए। गत वर्ष दुईपटक बाढी आएपछि किसानले ३५ लाख ६५ हजार क्षतिपूर्ति पाएका थिए।

गत वर्ष परीक्षणका रूपमा सञ्चालन भएको बिमामा आबद्ध किसानले २५ प्रतिशत बिमा क्षतिपूर्ति पाएपछि यस वर्ष किसान थपिएका प्राक्टिकल एक्सनका वरिष्ठ कार्यक्रम अधिकृत चक्रबहादुर बमले जानकारी दिए। उनले भने, ‘गत वर्ष आबद्ध किसानले ९ लाख प्रिमियम बुझाएका थिए।’ प्राक्टिकल एक्सनले शिखर बीमा कम्पनीमार्फत बाढी बीमा कार्यक्रमका लागि कैलाली र बर्दियामा सघाइरहेको छ।

कर्णाली नदीमा पानी सतह बढ्दै जाँदा १० देखि शत प्रतिशतसम्म क्षतिपूर्ति पाउने मापदण्ड छ । गत वर्ष कर्णाली नदीमा १२ मिटरमाथि पानीको सतह पुगेकाले किसानले २५ प्रतिशत क्षतिपूर्ति पाएका हुन्। बिमा भुक्तानीको प्रक्रिया एक हप्ता तोकिएको छ।

कर्णाली नदीमा १०.८० मिटरसम्म पानीको सतह पुग्दा किसानले १० प्रतिशत बिमावापतको रकम प्राप्त गर्दछन्। त्यस्तै ११.८१ देखि १२.८० मिटर पानीको मापन भएपछि २५ प्रतिशत, १३.८० मिटरदेखि १४.८१ पानीको मापन भएमा ७५ प्रतिशत र १४.८० भन्दा बढी पानीको सतह मापन भएमा किसानले शतप्रतिशत बिमावापतको रकम प्राप्त गर्नेछन्।

-रासस

प्रकाशित: १७ असोज २०८० १४:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =