असावधानीले निम्त्याएको विपत्ति

विवेक विवश रेग्मी २१ वैशाख २०८१ १९:५२
56
SHARES
असावधानीले निम्त्याएको विपत्ति

इटहरी- यस वर्ष देशैभर आगलागी र वनजंगलमा डढेलो लाग्दा मानवीयसहित भौतिक रूपमा ठूलो क्षति भयो। यसैबीच कोशी प्रदेश पनि आगलागीबाट अछुतो रहन सकेन।

खास गरी फागुन, चैत र वैशाखमा वन, जंगलमा डढेलोका कारण वन्यजन्तुसहित जंगलै सखाप भइरहेका घटनाहरू बाहिरिरहेका छन्। हिउँदको समयमा मानिसका घर, गोठमा समेत आगलागीका घटना बढिरहँदा कोशी प्रदेशमा मानवीय रूपमा ठूलो क्षति भएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउन १ गतेदेखि २०८१ वैशाख २० गतेसम्म प्रदेशका १४ वटै जिल्लाका विभिन्न स्थानमा भएको आगलागी र डढेलोबाट १७ जना मानिसको निधन भएको छ।

एक हजार ४९७ स्थानमा भएका आगलागीका घटनामा सो संख्यामा मानिसको निधन भएको तथ्यांकमा उल्लेख छ। तीमध्ये सबैभन्दा बढी मोरङ, झापा, ओखलढुंगा र भोजपुरका रहेका छन्। ती जिल्लाहरूमा ३–३ जनाको निधन भएको छ भने सुनसरी, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु र खोटाङमा १–१ जनाको निधन भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

यसै गरी ११२ जना घाइते भएका छन्। तीमध्ये केही अंगभंग भएका छन् भने केहीको उपचार अहिले पनि जारी छ। घाइते हुनेमा सबैभन्दा बढी मोरङमा ५५ जना छन्। त्यसै गरी सुनसरीमा २४, झापामा २०, खोटाङमा ५, इलाममा ४, भोजपुरमा ४, उदयपुरमा ३, सोलुखुम्बु र संखुवासभामा २, ओखलढुंगा,धनकुटा र पाँचथरमा १–१ जना घाइते भएका छन्।

आगलागीमा परी ७ हजार १२२ चौपाया तथा पक्षी मरेका छन् भने १७० चौपाया र पक्षी घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। यसै गरी ५८० घर, २७१ गोठ र ३२ वटा सवारी साधन पूर्ण रूपमा जलेर नष्ट भएको छ। यस्तै कोशी प्रदेशका २०८ वटा वन, जंगल डढेलोका कारण उजाडिएको छ। प्रहरीले ४१ जना मानिस र १५ वटा चौपायाको उद्धार गरेको छ।

यसै गरी एक लाख ६७ हजार बराबरको धनमाल आगलागीबाट जोगाइएको बताइएको छ। आगलागीबाट २४१ घर विस्थापित भएका छन् भने ५३८ घर संख्या प्रभावित भएका छन्।

यसै गरी प्रदेशभर आगलागीबाट ९३ करोड ५७ लाख ४७ हजार ३५० रुपैयाँ मूल्य बराबरको धनमाल क्षति भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। जसमध्ये सबैभन्दा बढी मोरङमा २४ करोड ६४ लाख २४ हजार एक सय रुपैयाँ बराबरको क्षति भएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाका अनुसार प्रदेशभरका एक हजार एक सय ९० स्थानमा ८ हजार १५३ जना प्रहरी परिचालन गरिएको छ।

‘आरक्ष र वन क्षेत्र डढेलोका कारण चुनौती बढिरहेको छ। कतिपयले डढेलो लगाएपछि बिरुवा राम्रो आउँछ र राम्रो घाँस पलाउँछ भन्ने पुरातन सोचका कारण सुनियोजित तरिकाबाट वन नाश भइरहेको छ,’ एसपी तिम्सिना भन्छन्, ‘केही अनुसन्धानअनुसार रमाइलोका लागि आगो बालेर छाडिदिने घटना पनि छन्। मान्छेबाटै हुने मानवीय गल्तीले मानवलाई नै क्षति भइरहेको छ।’

आगलागीबाट वृद्ध, वृद्धा र बालबालिका उच्च जोखिममा रहेको उनको भनाइ छ। ‘हामीले सम्बन्धित प्रकोपलाई भन्दा पनि सुख्खायामलाई टार्गेट गरेर प्रदेश प्रहरी,तालिम केन्द्र, र सम्बन्धित जिल्लाको उद्धार टोली जतिखेरै परिचालन गर्ने गरी तयारी राखेका छौँ,’ उनले भने।

उनका अनुसार तराईका जिल्लामा प्रदेश प्रहरी, तालिम केन्द्र र जिल्ला प्रहरीबाट २०–२० जनाको प्रहरी टोली उद्धारमा खटिनका लागि जतिखेरै तयारी अवस्थामा रहेका छन्। यसैगरी पहाडी जिल्लामा भने १५–१५ जनाको प्रहरी तयारीमा रहेको उनले जनाए। उनले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, तालिम केन्द्र र जिल्ला प्रहरी कार्यालयबाट प्रदेशका १४ वटै जिल्लामा प्रहरी टोली खटिइरहेकोसमेत बताए। जंगल क्षेत्रमा डढेलो लगाउने कार्य गर्ने मानिसको पहिचान गरी कारबाहीको दायरामा ल्याउनेसमेत उनको भनाइ छ।

‘आगोजन्य पदार्थका कारण मानवीय क्षति हुँदै आइरहेको घटना बाहिरिएपनि मानिसहरू सचेत बनेको पाइँदैन,’ तिम्सिनाले भने, ‘जंगलमा डढेलो लगाएर अपराध गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनेसम्मको प्रहरी टोलीको गस्ती परिचालन गरिएको छ।’

कोशी प्रदेशका विभिन्न क्षेत्रमा भएको आगलागीका घटनामा प्रहरीको तत्काल सावधानीले ठूलो क्षति हुन नदिएको उनको दाबी छ। ‘डढेलो लागेको क्षेत्र विकट हुन्छ। प्रहरीकै पहुँचभन्दा बाहिरका एरियामा चरम लापरबाही भएको गुनासोहरू आइरहेका छन्,’ उनले भने। वन, जंगलमा डढेलो लाग्दा त्यस क्षेत्र उजाड र उराठ मात्रै बन्ने होइन, पानीका मुहानसमेत सुक्दै जाने जानकारहरू बताउँछन्।

‘खास गरी पहाडी क्षेत्रमा हुने डढेलोले बोटबिरुवा मर्छन्। र, बोटबिरुवा मरेपछि स्वभाविक हिसाबमा पानीका मुहान सक्छन्,’ खोटेहाङ गाउँपालिका ७, खोटाङकी भीमा ढकाल भन्छिन्, ‘कतिपय ठाउँमा पानीका पाइप जमिनमाथिबाटै बिछ्याइँदा पानीको पाइप नै डढ्ने भएका कारण पनि पानीको समस्या हुँदै आएको छ।’

उनका अनुसार वन, जंगलमा डढेलो लाग्दा मानवलाई प्रत्यक्ष रूपमा क्षति हुँदै आएको छ। गाइवस्तुका लागि घाँस, चरन, मानवका लागि फलफूल खान नपाउनु, पाटी, पौवाको नाश हुँदा वर्षौँसम्म समस्या हुँदै आएको उनको भनाइ छ। पुनः संरचना निर्माण गर्न नसक्नु र गाउँमा मानव वस्तीसमेत घट्दै जाँदा जंगलमा लागेको आगो नियन्त्रणमा लिन कठीन हुने उनको बुझाइ रहेको छ।

खास गरी यस समयमा हावाको गति वेगले चल्ने र जंगलमा लागेको डढेलोबाट आगोको झिल्को वा ज्वाला घर, गोठसम्म आइपुग्दा आगलागीका घटना हुने उनले सुनाइन्। पहाडी क्षेत्रमा खर वा फुसको छानो हुने, टिनकै छानो भएपनि जोखिमरहित हुन नसक्ने उनले बताइन्।

नेपाल प्राविधिक संघका अध्यक्ष राकेश कर्णका अनुसार वन डढेलो नियन्त्रणका कार्यक्रम र वन व्यवस्थापनको क्रियाकलापलाई उच्च प्रथामिकता दिन जरुरी छ। ‘अधिकांश वन डढेलो मानिसले जानाजान लगाएका हुन्छन्, मानवीय गतिविधि नियन्त्रण गर्न जरुरी छ,’ उनले भने।

मानिसले जंगलमा आगो लगाएमा कारबाही हुने कानुनी व्यवस्था भए पनि त्यसलाई मानिसहरूले नै अवमूल्यन गर्दै आएका छन्। वन ऐन २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था उल्लेख छ। तर त्यस विपरीत बर्सेनि मानिसहरूको असावधानीका कारण आगलागीका घटना बढ्ने र त्यसबाट निम्तिने असर व्याप्त बन्दै गएको छ।

प्रकाशित: २१ वैशाख २०८१ १९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + thirteen =